+
+

भारतीय सेना प्रमुखले आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा पाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २० गते ८:२७
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सेना प्रमुख मनोज पाण्डेलाई स्वागत गर्दै नेपाली सेनाका अधिकारी । तस्वीर : नेपाली सेना

२० भदौ, काठमाडौं । पाँचदिने भ्रमणका लागि काठमाडौंमा रहेका भारतीय सेना प्रमुख मनोज पाण्डेले आज नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्ने भएका छन् ।

उनलाई आज अपराह्न ३ बजे शितल निवासमा आयोजना राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछिन् ।

नेपाल र भारतबीच सन् १९५१ देखि एकअर्का देशको सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ । तत्कालीन भारतीय सेनाध्यक्ष जनरल केएम करिअप्पाले नेपालमा आएर पहिलो पटक मानार्थ महारथीको सम्मान लिएका थिए । यस्तो सम्मान पाउने मनोज पाण्डे भारतका १९ औं सेना प्रमुख हुन् ।

पाण्डे नेपालको औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आएका थिए । उनले आज सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नेछन् । त्यसपछि उनलाई नेपाली सेनाको मुख्यालय जंगीअड्डामा गार्ड अफ अनर दिने कार्यक्रम छ । भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई हुने सहयोग पनि सोही अवसरमा घोषणा हुनेछ ।

साँझ जंगीअड्डामा पाण्डेको सम्मानमा रात्रिभोज कार्यक्रम छ । मंगलबार सेना प्रमुख पाण्डेले सगरमाथा आधार शिविरको भ्रमण गर्ने कार्यतालिका छ ।

उनले मंगलबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गर्ने कार्यक्रम छ । भेटका क्रममा भारतीय सेनाले अघि सारेको अग्निपथ योजनाबारे पनि कुरा हुनसक्ने अनुमान छ । अग्निपथबारे भारतले लिखित जवाफ नदिएसम्म नेपाली युवाको भर्तीलाई रोकिएको छ ।

मंगलबार नै उनले काठमाडौंस्थित पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम पनि छ । साँझ लैनचौरस्थित भारतीय दूतावासमा रात्रिभोजको कार्यक्रममा उनी सरिक हुनेछन् ।

बुधबार मौसम अनुकूल भए उनी मुक्तिनाथ मन्दिर दर्शनका लागि जाने छन् । त्यही क्रममा उनी नेपाली सेनाको मध्यकमाण्ड हेडक्वार्टर पोखरामा पुग्नेछन् । सोही दिन वसन्तपुरस्थित हनुमानढोका जाने कार्यक्रम पनि तय भएको छ । नेपाल भ्रमण सकेर उनी बिहीबार अपराह्न स्वदेश फर्किने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?