+
+

जसपाले गर्‍यो पर्साका सबै क्षेत्रमा उम्मेदवार सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २० गते १८:४७

२० भदौ, वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल पर्सा जिल्ला समन्वय समितिले ४ वटै निर्वाचन क्षेत्रका लागि आकांक्षी उम्मेदवारको नाम प्रदेशमा सिफारिस गरेको छ । क्षेत्रीय भेला तथा बैठकहरुबाट सिफारिस भएर आएका तथा जिल्लामा निवेदन दिएकाहरुको समेत नाम प्रदेशमा सफारिस गरिएको जसपा पर्साले जनाएको छ ।

प्रतिनिधि सभा सदस्यमा भने पार्टी अध्यक्ष उपेन्द्र यादव समेतको नाम सिफारिस भएको छ । पर्सा क्षेत्र नं. ४ का लागि पार्टी अध्यक्ष यादव र जिल्ला सचिव तवरेज अहमदको नाम सिफारिस भएको छ ।

पर्सा क्षेत्र नं. १ का लागि वन तथा वातावरण मन्त्री प्रदीप यादवको नाम सिफारिस भएको छ । मन्त्री यादव २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । तत्कालीन सघीय समाजवादी फोरमबाट उम्मेदवार बनेका उनले २१ हजार १ सय ३२ मत पाएका थिए भने निकटम प्रतिद्वन्दी नेपाली काँग्रेसका अनिल रुंगटाले १६ हजार ४ सय ८१ मत ल्याएका थिए ।

क्षेत्र नं. २ का लागि ४ जना र क्षेत्र नं. ३ का लागि २ जनाको नाम सिफारिस भएको छ । क्षेत्र नं. २ मा प्रदेश सभा सदस्य करिमा वेगम, जनार्दन यादव, सुरेन्द्रप्रसाद कुर्मी र चन्दन यादवको नाम सिफारिस भएको छ भने क्षेत्र नं. ३ बाट डा. मधु गुप्ता र भरत गिरीको नाम सिफारिस भएको छ ।

डाक्टर गुप्ता निलम्बित सांसद हरि नारायण रौनियारकी छोरी हुन् । संघीय समाजवादी फोरम नेपालबाट ०७४ सालको निर्वाचनमा निर्वाचित भएका रौनियार विशेष अदालतले भ्रष्टाचारको मुद्दा दायर गरेपछि निलम्बनमा छन् ।

प्रदेस सभा सदस्यतर्फ क्षेत्र नं. १ (क) मा जन्नत अन्सारी, फिरोज मिया मन्सुरी, वृजमोहन तिवारीको नाम सिफारिस भएको छ । फिरोज र वृजमोहनले प्रदेश सभा सदस्यका लागि नाम सिफारिस गरिदिन आग्रह गर्दै जिल्ला समन्वय समितिमा निवेदन दिएका थिए ।

क्षेत्र नं‍. १ को (ख) मा मुख्यमन्त्री लालबाबु राउत गद्दीको एकल नाम सिफारिस भएको छ । राउत २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

क्षेत्र नं‍. २ को (क) मा राम नरेश यादव, विरेन्द्र यादव, विपिन यादव, (ख) मा कामेश पण्डित, प्रेमबाबु पटेल, मुकेश द्विवेदी रुपेशमान सिंह, सञ्जिव कुमार यादव र मन्टु गिरीको नाम सिफारिश भएको जिल्ला सचिव अहमदले जानकारी दिए ।

क्षेत्र नं‍. ३ को (क) का लागि शिव कुमार साह, प्रमोद जयसवाल, मञ्जुर अन्सारी, अनिल राउत कुर्मी र ख) का लागि गौरि शंकर साह, शिवजी सोनीको नाम सिफारिश भएको छ ।

क्षेत्र नं‍. ४ को (क)मा मोहनलाल चौधरी र ख मा सिंहासन साह कलवारको नाम सिफारिस भएको छ । साह ०७४ मा सोही क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?