+
+

माओवादी नेताले एमालेमा सिफारिस उम्मेदवारलाई बधाई दिएपछि…

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २१ गते १७:२४

२१ भदौ, विराटनगर । मोरङ क्षेत्र नम्बर ४ बाट माओवादी केन्द्र र नेकपा एमालेले एकै दिन उम्मेदवार सिफारिस गर्‍यो । माओवादी केन्द्रले वर्तमान सांसद अमनलाल मोदीको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गर्‍यो भने नेकपा एमालेले केन्द्रीय सदस्य विनोद ढकालको एकल नाम सिफारिस गर्‍यो ।

तर नेकपा माओवादी केन्द्रका नेता तथा राष्ट्रियसभा सदस्य गोपी अछामीले सामाजिक सञ्जालमा आफ्नो पार्टीले सिफारिस गरेकालाई बधाई नभनी एमालेमा सिफारिस भएकालाई शुभकामना दिएका छन् ।

ढकाललाई शुभकामना दिंदै अछामीले सामाजिक सञ्जालमा लेखेका छन् ‘तपाईको जितमा म कहिल्यैं दुःखी हुनेछैन हार्दिक बधाई छ कमरेड’

मोरङ क्षेत्र नम्बर ४ मा ढकालले उम्मेदवारी दिने तयारी गरेपछि अछामीले पछिल्लो समय ढकालसँगको फोटो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् ।

सामाजिक सञ्जालमा उनले मोदीका विषयमा भने केही लेखेका छैनन् ।

माओवादी नेताहरु अछामीले ढकालको फोटो सामाजिक सञ्जालमा सेयर गर्नुको कारण मोदी–अछामीबीचको व्यक्तिगत सम्बन्ध रहेको बताउँछन् । पछिल्लो समय मोदी र अछामीबीच बोलचाल बन्द छ । मोदी विरुद्ध अछामीले पार्टीको हेडक्वाटरमा उजुरी नै गरेका छन् ।

मोदीले आफूलाई हातपात गरेको भन्दै अछामीले पार्टी केन्द्रीय कार्यालयमा उजुरी गरेको स्रोतको दाबी छ । तर उजुरीको सनुवाइ भएको छैन ।

दुई नेताबीच विगतमा सम्बन्ध राम्रो थियो । तर गत जेठ १७ गते यता बोलचाल बन्द भएको हो । स्रोतका अनुसार जेठ १७ गते पार्टी अध्यक्ष प्रचण्ड निवासमा अछामी र मोदीबीच भनाभन र हात हालाहालको अवस्था सृजना भएको थियो ।

अध्यक्ष निवासमा प्रचण्डलाई भेट्न भन्दै कांग्रेस राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीसँग अछामी पुग्दा मोदी खुमलटारमै थिए ।

प्रचण्डलाई निवास फर्कन समय लाग्नेभएपछि उनीहरुबीच सिट बाँडफाँट र राजनीतिका विषयमा कुरा भयो । तर, रायमाझी र अछामी फर्कनेक्रममा दुई नेताबीच विवाद भएको थियो । सोेही विवादका कारण अछामी खुलेर मोदीका विरुद्ध लागेको मोदी निकट नेताहरु बताउँछन् ।

‘चुनाव अघि नै अछामीले अन्तरघातको संकेत दिनुभयो,’ माओवादी केन्द्र प्रदेश १ का एक नेताले भने,‘पार्टी नेतृत्व एमालेको विरुद्धमा छ, तर सिनियर नेताले एमाले उम्मेदवारलाई बधाई दिदा राम्रो सन्देश गएन ।’

अछामीले साथी भएका कारण विनोद ढकाललाई शुभकामना दिएको बताए । मोदीलाई आफूले शुभकामना नदिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?