+
+

बलात्कारको मुद्दामा पलले पाए सफाइ, बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय

सुवास पण्डित सुवास पण्डित
२०७९ भदौ २१ गते १९:३४

२१ भदौ, चितवन। जिल्ला अदालत, नवलपुरले अभिनेता पल (पूर्णविक्रम) शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको छ । तर बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएको छ ।

न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बलात्कार पुष्टि नभएपनि यौनजन्य अस्वभाविक व्यवहार देखाएको ठहर गरेको छ । पल स्वयंमले आफू मदिरा सेवन गरेको तथा घटना भएको भनिएको दिन नाबापलका एक्लै सुत्न डराएको भनि भोलिपल्ट बेलुका एक्लै सुत्न डर लाग्छ लाग्दैन भनेर सोधपुछ गरेको स्वीकार गरेको र मेसेज लगायतका अन्य गतिविधिमा छलफल भन्दै पटकपटक भेटघाट गरेको देखिएको भन्दै अदालतले भनेको छ, ‘मसँग कोही कसैले नजिक हुने चाहना राख्यो भन्दै त्यसलाई स्वीकार गरी वार्तालाप लगायतका नाबालिकासँग मेसेज लगायतका अन्य गतिविधिमा छलफल भन्दै पटकपटक भेटघाट गरेको देखिँदा मुलुकी अपराध संहिता २०७४ को दफा २२५(२) मा उल्लेखित अन्य कुनै किसिमको यौनजन्य अस्वभाविक व्यवहार गरेको देखिँदा यी प्रतिवादी पल शाह भन्ने पूर्ण विक्रम शाहले मुलुकी अपराध संहिताको दफा २२५ (२) विपरितको बाल यौन दुरुपयोगको कसुर अपराध गरेको ठहर्छ ।’

फैसलामा पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन भनेको अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले जानकारी दिए ।

अदालतले पीडितको अभिभावकलाई पनि सचेत गराएको छ । उमेर नपुगेको नाबालक छोरीलाई गायन र अभिनय क्षेत्रमा एक्लै छाडेको र आफूले पुरा गर्नुपर्ने अविभावकीय कर्तव्यबाट च्युत रहेका कारण यौन दुव्यर्वहार भएको भन्दै अदालतले भनेका छ, जाहेरवाला -पीडितका बाबु)लाई आगामी दिनहरुमा आफ्नो अविभावकीय कर्तव्य वहन  गर्न र नाबालक छोरीलाई आफ्नो पूर्ण संरक्षणमा राख्न सचेत गराइन्छ ।’

अदालतले विषयबस्तुको संवेदनशीलतालाई विचार गरेर मात्र समाचार सम्प्रेषण गर्न सञ्चार माध्यमहरुलाई सचेत गराएको छ । गोपनियता कायम गर्नुपर्ने कसुर अपराधलाई मिडिया ट्रायल र भ्यूज बढाउने अभिप्रायले सत्यभन्दा बाहिर गई समाचार सम्प्रेषण गर्दा समाजवामा नकारात्मक सन्देश प्रवाह गर्ने भन्दै फैसलामा भनिएको छ, सम्पूर्ण मिडिया क्षेत्रलाई समेत विषयबस्तुको संवेदनशिलतालाई विचार गरेर मात्र वास्तविक समाचार सम्प्रेषण गर्न सचेत गराइन्छ ।’

गत चैतमा कलाकार शाहमाथि नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेको थियो । पीडितको बाबुको जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढाएको थियो । उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग थियो ।

पीडितका बाबुले जाहेरीमा उल्लेख गरे अनुसार, सुटिङका क्रममा कलाकार शाह सहित पीडित र अरु व्यक्तिहरु ७ चैत २०७७ मा गैडाकोट रिसोर्टमा थिए । त्यही दिन राति कलाकार शाह पीडितको कोठामा प्रवेश गरेर जबर्जस्ती गरेको उल्लेख थियो । रिसोर्टमा भएको त्यो दिनको अभिलेखले समेत कलाकार पल शाह जाहेरीमा उल्लेख गरिएको दिन त्यहाँ पुगेको र पीडितसमेत त्यही दिन रिसोर्टमा बसेको आरोपपत्रमा उल्लेख थियो ।

रिसोर्टका सञ्चालकले त्यो दिन कलाकारहरु रिसोर्टमा बसेको बयान त गरेका छन् नै, साथसाथै कलाकार शाहले मदिरा सेवन गरेका समेत उल्लेख थियो । पछि पीडित गायिकाले अभिव्यक्ति बदल्दै आफूमाथि बलात्कार नभएको भनी जिल्ला अदालतमा बयान गरेकी थिइन् ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?