+
+

चुनावी गतिविधि गर्न ओलीलाई झापामा विवादास्पद ठेकेदारको घर

बिनु सुवेदी बिनु सुवेदी
२०७९ भदौ २३ गते २१:०३

२३ भदौ, (दमक) झापा । हेटौंडाका विकास गौतमले झापाको दमकमा आलिसान घर किने । पेशाले निर्माण व्यवसायी रहेका गौतमले करिब डेढ करोडमा किनेको घर करिब ८५ लाख रुपैयाँ खर्च गरेर साजसज्जा गरे, चिटिक्क पारे ।

रिमोटबाटै खोल्न–बन्द गर्न मिल्ने गेट हालिएको यो घर गौतमले आफैं बस्नका लागि भने किनेका होइनन् । निजी सम्पत्ति केपी शर्मा ओली ट्रष्टलाई दिइसकेकाले आफ्नो नाममा केही पनि सम्पत्ति नरहेको बताउँदै आएका ओलीका लागि गौतमले यो घर किनेको एमालेका एक स्थानीय नेताले बताए ।

घर बनिसक्दा नसक्दै गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यो घर दिएका छन्, दमक आउँदा अध्यक्ष ओलीले यही घरबाट भेटघाट सुरु गर्न थालिसकेका छन् ।

२०७४ को निर्वाचनसम्म ओली दमकको आफ्नै घरमा बसेर चुनावी गतिविधि गरेका थिए । त्यो घरमा अहिले एमालेका केन्द्रीय सदस्य रोमनाथ ओली बस्छन् । दमक नगरपालिका पूर्वप्रमुख समेत रहेका उनी साइनोले ओलीका भतिज हुन् ।

केपी ओलीको घर, जहाँ एमाले केन्द्रीय सदस्य रोमनाथ ओली बस्छन् ।

तर ओलीको केही पनि सम्पत्ति छैन भनेर सहयोग गर्न गौतमले उनलाई यो घर उपलब्ध गराएका भने होइनन् । निर्माण व्यवसायी गौतमले मदन भण्डारी राजमार्गको धरानदेखि बेलडाँगीसम्म ५३ किलोमिटर, बुद्धशान्तिको शान्तिनगरदेखि मेचीनगरको मेचीडाँगीसम्मको १० किलोमिटर सडक निर्माणमा तीन प्याकेजमा लगाएको ठेक्का हात पारेका छन् ।

यस्तै हुलाकी राजमार्गअन्तर्गत ओलीकै निर्वाचन क्षेत्र गौरीगञ्जस्थित रतुवा नदीदेखि माइनदीसम्मको १४ किलोमिटर र माइनदीदेखि झापा गाउँपालिका र बाह्रदशी जोड्ने विरिङ्ग नदीसम्म करिब १० किलोमिटर ठेक्का हात पारेका छन् । ओलीकै कारण ठेक्का पाएकाले उनलाई खुसी बनाउन गौतमले यो घर उपलब्ध गराएको एमालेकै स्थानीय नेताहरूको भनाइ छ ।

एमालेका झापा जिल्ला अध्यक्ष दीपक कार्की भने यसलाई स्वीकार गर्दैनन् । उनका अनुसार एमालेले अध्यक्ष ओलीका लागि यो घर भाडामा लिएको हो । आफूलाई घर कसको हो भन्ने थाहा नभएको, तर सात महिनाका लागि भाडामा लिएको जानकारी पाएको बताए । ‘पहिलेको घर अलि साँघुरो थियो, होटलमा बसेर पार्टी गतिविधि गरिरहन संभव भएन, त्यसैले सात महिनाका लागि घर भाडामा लिएका हौं’, कार्कीले अनलाइनखबरसँग भने ।

राजनीतिक दलहरू ठेकेदार, व्यापारिक र बिचौलियाहरूको संगतले विचलित हुँदै गइरहेको भन्दै टीकाटिप्पणी भइरहेका बेला एमाले अध्यक्ष ओलीले समेत ठेकेदारकै घरमा बसेर झापा–५ मा आफ्नो राजनीतिक जीवनको छैटौं चुनाव लड्न लागेका हुन् ।

पछिल्लो समय ठेकेदार शारदाप्रसाद अधिकारीको घरमा बसेको भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बदनामी कमाएका छन् । प्रचण्डको त्यही पदचाप दमकमा ओलीले पनि पछ्याएका छन् । ओली स्वयम्को घर झापाको पृथ्वी नगरमा भएतापनि दमकमा बसेर चुनावी गतिविधि गर्न ठेकेदारकै घर रोज्नुपर्ने बाध्यता ओलीलाई थिएन ।

पूर्व मेयर रोमनाथ ओली

एमाले केन्द्रीय सदस्य एवं दमकका पूर्व मेयर रोमनाथ ओली भने कसै न कसैको घर लिनैपर्ने परिस्थितिमा ठेकेदारकै घर परेको दाबी गर्छन् । ‘मेरो घर भए म सित्तैंमा दिन्थें, छैन’ उनी भन्छन्, ‘कोही ठेकेदारका घर हुन्छन्, कोही जग्गा व्यापारीका हुन्छन्, यो मुलुकमा ठेकेदार खेदौं भनेर पनि खेदिंदैन, ठेकेदारले बनाएको बाटो हिंड्न नहुने, ठेकेदारले बनाएको घरै बस्न नहुने भन्ने हुन्छ र ?’

ठेकेदारसँग अनावश्यक रूपमा गठजोड गरेर अनावश्यक काम गर्न नहुने बताउँदै केन्द्रीय सदस्य ओली भन्छन्, ‘यदि हाम्रो नेताले त्यसो गर्नुभयो भने हामी गर्न दिंदैनौं । ठेकेदारले बनाएको घरमा बस्नुभयो भन्ने त के आलोचना भयो र ?’

एमाले अध्यक्ष ओली २०४८ सालयता निरन्तर झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्दै आएका छन् । २०६४ को संविधानसभा चुनावमा माओवादीका विश्वदीप लिङ्देनसँग पराजित भएका थिए । बाँकी चुनावमा ओलीको पल्ला भारी हुँदै आएको छ ।

को हुन् घरबेटी ठेकदार ?

ओलीलाई घर दिने ठेकेदार गौतम फौजदारी मुद्दामा जेल बसेका व्यक्तिसमेत हुन् । २०७४ माघमा भएको दरबारमार्ग सामूहिक बलात्कार प्रकरणका आरोपीमध्ये गौतम पनि एक थिए ।

कैलालीकी २२ वर्षीया युवतीलाई प्रेमी रामेछापका शैलेश कार्कीले घटना भएको दिन भेट्न भन्दै लाजिम्पाट बोलाएका थिए । दिनभरि मादक पदार्थ सेवन गरेर राति सँगै बस्न भन्दै उनीहरु दरबारमार्गको ल्याण्डमार्क होटल गएका थिए ।

तर युवती बेहोसी अवस्थामा रहेका बेला राति शैलेशका साथी दीपक श्रेष्ठ र यिनै ठेकेदार गौतम लगायतले युवती बसेको कोठा नम्बर ४०५ मा पुगेर पालैपालो बलात्कार गरेको भन्दै प्रहरी कहाँ जाहेरी परेको थियो ।

आफूविरुद्ध पनि जाहेरी परेको थाहा पाएपछि ठेकेदार गौतमले प्रहरीकै रोहबरमा ३० लाख रुपैयाँ पीडितलाई दिएर घटना सामसुम पार्न खोजेका थिए । तर बलात्कार जस्तो घटनामा मिलापत्र गराएको सूचना चुहिएसँगै दरबारमार्गका तत्काली डीएसपी तिलक भारती, प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी लगायतका प्रहरी अधिकृतहरु पनि कारबाहीमा परेका थिए ।

गौतम भने भागेर भारत पुगेका थिए । उनी मकवानपुरका एकजना एमाले नेताका छोरासमेत हुन्, उनी मोतीदान कन्स्ट्रक्सन कम्पनीका सञ्चालक समेत हुन् । जिल्ला अदालत काठमाडौंले गौतमलाई १४ महिना कैद सजाय गर्ने फैसला गरेको थियो । फैसलापछि अदालतमा हाजिर भएका उनी कैद भुक्तान गरेर छुटेका हुन् ।

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
बिनु सुवेदी

बिनु सुवेदी अनलाइनखबर डटकमका एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?