+
+

पुकार बमको मार्ग परिवर्तन, ‘वैकल्पिक’कै विकल्प खोज्ने अभियान

सागर चन्द सागर चन्द
२०७९ भदौ २४ गते १९:००

२४ भदौ, काठमाडौं । संसदीय चुनाव घोषणा नहुँदै पुकार बमले काठमाडौं– १ बाट आफ्नो उम्मेदवारी घोषणा गरे । सामाजिक अभियन्ताका रूपमा कहलिएका पुकार बम विवेकशील नेपाली दलले दुई पटक तय गरेको साझा पार्टीको गन्तव्यसम्म पुगेका थिए । तर, रवीन्द्र मिश्रको ‘मार्ग परिवर्तन’ पछि उनले आफूलाई स्वतन्त्र घोषणा गरेका छन् ।

विवेकशील साझासँगको साइनो तोडेर यतिखेर काठमाडौं–१ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका बमले परम्परागत दललाई संसद छिर्ने आफ्नो सपनाका लागि चुनौती र अवसर दुवै ठानेका छन् । उनले उम्मेदवारी घोषणा गरेको क्षेत्र नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले जितेको ठाउँ हो ।

त्यसैले उनी भन्छन्, ‘मैले प्रकाशमान सिंहले यस अगाडि जितेको क्षेत्रमा उठ्ने घोषणा गरेको छु । यो क्षेत्रमा उहाँले आफ्नो साम्राज्य खडा गरिसक्नुभएको छ । त्यो परम्परागत राजनीतिक दल, तिनका उम्मेदवार मेरा लागि चुनौती र अवसर दुवै हुन् ।’

डाक्टर बन्ने सपना बोकेर कैलालीको धनगढीबाट २०५९ मा काठमाडौं छिरेका उनको सपनाको मार्ग परिवर्तन भयो १६ भदौ २०६१ पछि । यो इराकमा १२ जना नेपालीको बीभत्स हत्या भएको दिन थियो । इराकमा नेपालीको हत्यापछि काठमाडौंमा भएको हिंसात्मक झडप र आन्दोलनमा घाइतेको उद्धारमा खटिएपछि उनको मन बदलियो ।

उनी सुनाउँछन्, ‘इराकमा नेपाली मारिएपछि काठमाडौंमा भएको आन्दोलनमा हामीले उद्धार अभियान चलायौं । डाक्टर बन्नुपर्छ भनेर बायोलोजी साइन्स पढिरहेको मेरो मन यो घटनापछि एकाएक परिवर्तन भयो ।’

यसपछि उनले गरिबी, अशिक्षा, बेरोजगारी जस्ता मुद्दामा आफूलाई केन्द्रित गराउन थाले । यसपछि २०६९ मा पहिलो संविधानसभा विघटन नहुँदासम्म उनी सामाजिक अभियानमै केन्द्रित रहे । त्यतिखेर उनी र उनका साथीहरू मिलेर ‘नेपाल युनाइट्स फर चेञ्ज’ भन्दै सामाजिक अभियानमा सक्रिय थिए । यो अभियानअन्तर्गत बम र उनका साथीहरू सरसफाइ, वातावरण शिक्षा जस्ता विषयमा काम गर्थे ।

यही अभियानका क्रममा उनले विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापालाई भेटे । थापालाई भेटे पनि उनीहरू राजनीतिमा सक्रिय भइसकेका थिएनन् । १४ जेठ २०६९ मा संविधानसभा विघटन हुनु एक महिना अगाडिदेखि नै उनीहरु यही संविधानसभाबाट संविधान जारी हुनुपर्छ भनेर दबाव बनाइरहेका थिए । तर, १४ जेठ राति संविधानसभा विघटन भएपछि बम र उनका साथी बानेश्वरमा विरोध गर्न आइपुगे ।

संविधान जारी नगरी संविधानसभा भंग हुनुहुँदैन भन्दै गर्दा पक्राउ परेका उनीहरूले त्यही राति नै राजनीतिमा होमिने निर्णय गरे । भन्छन्, ‘संविधानसभा अगाडि विरोध गर्दा पक्राउ गरियो । राजनीतिक दल, नेतृत्व नै खराब छ भने किन हामी राजनीतिमा नजाने भन्ने निर्णय गर्‍यौं । र, अब के गर्ने ? भन्दै छलफल चलायौं ।’

अब के गर्ने भन्ने छलफलबाट राजनीतिक दल, प्रणाली र नेतृत्व नै खराब छ, त्यसको सुधारका लागि नयाँ पुस्ता वैकल्पिक विचारसहित राजनीतिमा होमिनुपर्छ भन्ने निष्कर्ष निकाल्यो । अनि राजनीतिमा होमिए पुकार बम ।

राजनीतिमा जाने तय भएपछि विवेकशील नेपाली मञ्च गठन गरियो । विवेकशील बनाइसकेपछि बम लगायतको टोली माटो, पानी र सपना भन्दै देश दौडाहामा लाग्यो । २०६९ बुद्ध जयन्तीको तिथि पारेर लुम्बिनीमा देशभरका विभिन्न ठाउँबाट ल्याइएको माटो, पानीलाई साक्षी राखेर विवेकशील नेपाली दल बनाइयो ।

दोस्रो संविधानसभाको चुनावका लागि विवेकशील नेपाली दल निर्वाचन आयोगमा दर्ता हुन सकेन । तर, विवेकशीलमा आवद्ध मानिसहरू भने विरोधस्वरुप ‘कुकुर’ चुनाव चिह्न लिएर चुनावी प्रतिस्पर्धामा उत्रिए । यसमा पुकार बम पनि एक थिए । काठमाडौं–८ बाट चुनावी मैदानमा उत्रिएका बमले त्यो चुनाव हारे ।

३५ वर्षे बम युवा र स्वतन्त्र उम्मेदवार मात्र नभई आफू पछिल्ला वर्षहरूमा सडकबाट समतामूलक र न्यायपूर्ण समाज बनाउनका लागि गरेको संघर्ष अब संसदबाट गर्ने बताउछन् ।

चुनाव हारे पनि बम र उनको दल विवेकशील नेपाली दलले सामाजिक अभियान भने छाडेन । सामाजिक अभियानलाई आफ्नो डीएनएका रूपमा अथ्र्याउँदै बम भन्छन्, ‘हामीले सामाजिक अभियान भने छाडेनौं । नेपाल खुला छ, अकुपाई बालुवाटार, मेडिकल शिक्षा सम्बन्धी गोविन्द केसीको अनशन र भूकम्पपछिको राहत तथा उद्धारमा निरन्तर खटियौं ।’

यी अभियानका साथै बमले नेपाल टेलिकम र विद्युत् प्राधिकरणमा हुने ‘१ रुपैयाँ भ्रष्टाचार’ विरुद्ध पनि अभियान चलाए । ‘महसुल तिर्दा एक, दुई, तीन, चार रुपैयाँ फिर्ता नदिने चलन व्यापक थियो’ बम भन्छन्, ‘लाखौं उपभोक्तामार्फत यसरी दिनकै एक रुपैयाँ अतिरिक्त असुल्दा पनि लाखौं हुन्छ । यो भ्रष्टाचार हो भन्दै यसको विरोधमा अभियान चलायौं ।’

कोरोना कालको पहिलो लकडाउनमा सरकारको बेथिति विरुद्ध ‘इनफ इज इनफ’ भन्दै १२ दिन अनशन बसेका थिए, बम । यो अनशन र अभियानपछि नै सरकारले कोरोनाको परीक्षण तीव्र बनाएको थियो । रोजगारी गुमाएकाहरूलाई खाना खुवाउने, कोरोना कहरमा देशभरका अस्पतालमा अक्सिजन, मास्कलगायत सामग्री पुर्‍याउने अभियानमा पनि सक्रिय भए, बम ।

२०७४ को चुनावमा काठमाडौं ८ बाट उम्मेदवार बनेका बम तेस्रो भएका थिए । करिब एक दशकदेखि सडक संघर्ष गरिरहेका बम अब भने सदनबाट आफ्ना मुद्दा स्थापित गर्ने योजनामा छन् । भन्छन्, ‘मेरो उम्मेदवारी परिवर्तनका लागि हो । १२/१५ वर्षदेखि हामीले सडकबाट स्थापित गरेका मुद्दाहरूलाई अब सदनबाट नीतिगत रूपमै स्थापित गर्नु मेरो उद्देश्य हो ।’

सीपमूलक सर्वसुलभ शिक्षालाई उनले आफ्नो पहिलो मुद्दा बनाएका छन् । शिक्षा, स्वास्थ्य सुधारलाई नै समृद्धिको आधार ठहर्‍याउँदै उनी भन्छन्, ‘सीपमूलक शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवा तथा चिकित्सा अध्ययन नै हामीले आज भोगिरहेका धेरै समस्या समाधानको सुरुवात हो ।’

रोजगारी र शिक्षाका लागि विदेशिएका नागरिकको नोट चल्ने तर भोट नचल्ने नीति परिवर्तन गर्ने पनि उनले योजना बनाएका छन् । ‘नेपालमा रोजगारी र उच्च शिक्षाको वातावरण नपाएर विदेशिएका नागरिकले पठाएको पैसाले देश चलेको छ । तर, उनीहरूको भोट भने चल्दैन । यो त उनीहरूमाथि गरिएको अपराध हो’, बमले सुनाए ।

सडक संघर्षबाट मात्र यी मुद्दा स्थापित गर्न नसकिने भएकाले आफू संसदमा जान खोजिरहेको बताउँछन ३५ वर्षे बम । युवा र स्वतन्त्र उम्मेदवार मात्र नभई आफू पछिल्ला वर्षहरूमा सडकबाट समतामूलक र न्यायपूर्ण समाज बनाउनका लागि गरेको संघर्ष अब संसदबाट गर्ने उनको दाबी छ ।

काठमाडौं – १ मा कांगे्रसका प्रभावशाली नेता प्रकाशमान सिंहलाई हराएर चुनाव जित्नका लागि आफूले ११ देखि १२ हजार मत ल्याउनुपर्ने उनको आकलन छ ।

खुला संसद् र खुला सिंहदरबारको अवधारणा पनि उनले सार्वजनिक गरेका छन् । गाउँगाउँमा सिंहदरबार भने पनि नागरिकको हक सिंहदरबारको चौघेराभित्रै कैद गरिएको उनको ठम्याइ छ । सिंहदरबार र संसद जनताका लागि प्रतिबन्धित बनाउन नहुने उनको भनाइ छ ।

भन्छन्, ‘सिंहदरबार र संसद् नागरिकका लागि खुला हुनुपर्छ । नागरिकको सेवा गर्छु भन्दै सिंहदरबार छिर्ने तर, नागरिकलाई सिंहदरबार छिर्न सकस हुने । त्यहाँभित्र के भइरहेको छ सबैले थाहा पाउने गरी पारदर्शी हुनुपर्छ ।’

अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) र स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को उदाहरण दिंदै उनी भन्छन्, ‘एमसीसी र एसपीपीमा निकै पहिलेदेखि नै काम भइरहेको रहेछ । तर, जनताले भने दलहरूबीच कुरा नमिलेपछि मात्र थाहा पाए । त्यसैले सिंहदरबार र संसद् पारदर्शी हुनुपर्छ भन्ने धारणा मैले ल्याएको हुँ ।’

वैदेशिक रोजगारी नियन्त्रण गर्नका खातिर नेपालमै सीपमूलक शिक्षा दिलाउने र रोजगारीको वातावरण बनाउन जोड दिने पनि उनको योजना छ । अहिलेसम्म राज्यले रोजागारी, स्वास्थ्यका नाममा ‘स्टेट स्पोन्सर क्राइम’ गरेको उनको दाबी छ ।

‘यो देशमा मान्छे रोजगारी नपाएर ५० डिग्रीको तातो घाममा पोलिएर काम गर्नुपर्छ । त्यहाँ कति मान्छे मर्छन् । सिटामोल र जीवनजल नपाएर मान्छे मर्छन् । यो त राज्यले गरेको स्टेट स्पोन्सर्ड क्राइम हो’, पुकार बम आक्रोशित सुनिन्छन् ।
विवेकशील दलबाट राजनीतिक यात्रा सुरु गरेका बम यतिखेर रवीन्द्र मिश्रलाई कारण देखाउँदै विवेकशील साझाबाट बाहिरिएका छन् । वैकल्पिक र स्वतन्त्र शक्तिलाई सिध्याउन मिश्र जस्ता पात्र फेरि पनि आउने उनको आकलन छ ।
भन्छन्, ‘वैकल्पिक र स्वतन्त्र शक्तिलाई सिध्याउन रवीन्द्र मिश्र जस्ता पात्र फेरि पनि आउने खतरा कायमै छ ।’

स्वतन्त्र उम्मेदवारहरू एकै ठाउँमा आएर चुनाव लड्ने तयारी पनि भइरहेको छ । यो तयारीमा बम पनि लागेका छन् । ४ मंसिरमा हुने चुनावलाई परम्परागत दल र स्वतन्त्र उम्मेदवारबीच निर्णायक बनाउनका लागि स्वतन्त्र भर्सेस दल गर्नुपर्ने उनको भनाइ छ ।

स्वतन्त्र उम्मेदवार जति एक ठाउँमा र परम्परागत दलहरू एक ठाउँमा उभिएर चुनावी मैदानमा आउन उनी दलहरूलाई चुनौती दिन्छन् । ‘एमाले, कांग्रेस, राप्रपा, माओवादी नाम मात्र फरक हुन् । त्यसैले परम्परागत दलहरू सबै एक ठाउँमा आए गठबन्धन बनाउन, हामी स्वतन्त्रहरू जति एक ठाउँमा आएर चुनाव लडौं । सामूहिक शक्ति परीक्षण गरौं’, बम चुनौती दिन्छन् ।

तस्बिर र भिडियो : विकास श्रेष्ठ/अनलाइनखबर

लेखकको बारेमा
सागर चन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?