+
+
एकालाप :

चुरोटको तलतल र तिमी

प्रञ्जली पौडेल प्रञ्जली पौडेल
२०७९ भदौ २४ गते ११:३७

रातको दोस्रो प्रहर सुरु भइसक्यो । अहँ आँखामा पटक्कै निद्रा छैन । उठेर हिजो भर्खर पढ्न सुरु गरेको कुमार भट्टराईको ‘अश्वत्थामा’ पल्टाउँछु ध्यान जाँदैन । चुरोटको तलतल लाग्छ । सम्झिन्छु आफूसँग न चुरोट छ, न लाइटर । एकछिन आफैंसग रिसाउँछु अफिसबाट फर्किंदा एउटा चुरोट किन्न नसकेकोमा ।

मन एकतमासको छ, पर्दा खोलेर झ्यालबाट बाहिर चियाउँछु पानी मज्जाले परेको छ । अघिपछि पानी परेको रमाइलो लाग्ने मलाई आज पानीले टचरको साउण्ड दिएजस्तो लाग्छ । पर्दा लगाएर ओछ्यानमा पल्टिन्छु ।

फेरि चुरोटको तलतल लाग्छ, उठेर झ्यालमा झुण्डाएको एउटा प्लाष्टिकको पोको खोल्छु, जहाँ तिमी र मैले सँगै पिएका चुरोटका केही ठुटा बाँकी हुन्छन् । एउटा ठुटो ग्यासमा सल्काएर पिउन खोज्छु धुँवा आउँदैन, बरु नमज्जाको सूर्तीको खार लाग्छ । औंलामा चेपेर ठुटो सल्किंदै गरेको हेरिरहन्छु । आत्था, औंला नमज्जाले पोल्छ तर ठुटो निभाउन मन लाग्दैन ।

हामी एकअर्काको केही नभएर पनि धेरैथोक भइसकेछौं । मलाई चुरोट सँगै तिम्रो पनि आदत लाग्न थालिसकेछ । झट्ट तिमीले चुरोट तान्न सिकाएको याद आउँछ । अर्को ठुटो सल्काएर औंलामा त्यसैगरी समाउँछु जसरी तिमीले सिकाएको थियौ । आफ्ना भर्खर चुरोट च्याप्न सिकेका औंलाहरु तिम्रा औंलामा दाज्न खोज्छु रत्तिभर नसुहाएको जस्तो लाग्छ । तिम्रा ती निकोटिनले पहेंलो  बनाएका नङ र औंलाको याद आउँछ ।

ह्वाट्सअप खोलेर तिम्रो डीपी हेर्न मन लाग्छ, तर खै केले रोक्यो त्यो पनि हेर्न सक्दिन । बरु आफ्नै मनमा तिम्रा अंगअंग जोडेर आकृति बनाउँछु । चौडा सर्लक्क परेको निधार, सुलुत्तको नाक, मादक भएर मात्तिएका ओठ,  मदमस्त पार्ने खालको अंगुरको सर्बतले भरिएका जस्ता नशालु आँखा, फराकिलो छाती तिम्रो ह्वाट्सअपको डीपी भन्दा सुन्दर लाग्छ आफैंले बनाएको तिम्रो आकृति ।

रंगहरुले क्यानभासमा उतार्न मनलाग्छ तिमीलाई, फेरि एकैछिनमा अल्छी लाग्छ । आज मलाई केही गर्न जाँगर चलेकै छैन । आजकाल चुरोट सल्काउँदा जहिल्यै तिम्रो याद आउँछ, हिजो भर्खर तिमीले भनेको सम्झिन्छु । मन अमिलो भएर आउँछ, आँखा रसाएर टिलपिल हुन्छन् ।   तिमीलाई अँगालोमा कसेर रुन मन लाग्छ । मेसेज बक्समा गएर टाइप गर्छु, ‘आई मिस्ड यु’ तर सेन्ट गर्न सक्दिन । मसँग यो अधिकार नै छैन कि तिम्री प्रेमिका बनेर मायाका जालहरु तिमीलाई बिछ्याउँ । रात अझैं बाँकी छ । निर्विकार अँध्यारो बढ्छ । अघिसम्म भोगटेको रुखमा कराएका भंगेराहरु निदाइसके जस्तो लाग्छ । सन्नाटा अझै गाढा हुँदै जान्छ ।  सन्नाटाको कालो रङले मलाई गिजोले जस्तो लाग्छ । युट्युब खोलेर जगजित सिंहको गीत सुन्छु– तुम चले जाओगे तो सोचेंगे, हमने क्या खोया हमने क्या पाया । यो लाइनले हिट गर्छ । फेरि तिमीलाई सम्झिन्छु, लाग्छ तिमी पनि चुरोट पिउँदै मलाई नै सम्झिंदै छौं कि ?

बाँकी रहेका चुरोटका ठुटा एकएक गर्दै ओठमा च्याप्छु । तिम्रो औंलाले मेरो ओठमा चुरोट च्यापिदिए झैं लाग्छ । कताकता काउकुती लागे झैं आङ सिरिङ्ग हुन्छ ।  तिमीलाई अँगालोमा बेरेर बेपर्वाह चुम्बन गर्न मन लाग्छ । गाला रातो हुन्छ, आफैंसँग लजाउँछु ।

घडी हेर्छु बिहानको दुई बजिसकेको हुन्छ । निन्द्रा लाग्दैन । मन एकतमासको छ । झ्यालमा राखेको डायरी टिपेर केही लेख्न खोज्छु, अहँ सक्दिन । शब्दहरुसँग खेल्न मन लाग्दैन । डर लाग्छ आफैंसँग कुनै मानसिक रोगको सिकार भइन ? यो त मान्दिन म ठिक छु जस्तो लाग्छ । एउटा प्रश्न अनायासै मनमा आउँछ, आज किन तिम्रो यादले यस्तरी सतायो ? म बुझ्न सक्दिन । मनमा कताकता तिम्रो प्रेममा परे झैं लाग्छ । फेरि तत्कालै यो प्रेमको शब्ददेखि नै घृणा जाग्छ जसको कुनै अर्थ देख्दिन तिम्रो र मेरो जीवनमा ।

कसैको प्रेमिका भएर अरु कसैको प्रेमीलाई प्रेम गर्छु भन्नु यो कस्तो विरोधाभाष ? म त मात्र तिमीलाई मेरा भावनाहरुमा सजाउन सक्छु । तिम्रो आकृति क्यानभासमा उतार्न सक्छु । चुरोट पिउँदा तिमीलाई याद गर्न सक्छु । तर तिमस्ले चाहेको जस्तो म तिम्रो प्रेमिका बन्न सक्दिन । प्रेम गर्न सक्दिन । मलाई लाग्छ प्रेमको कुनै अस्तित्व नै छैन मेरो जीवनमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?