+
+

अनधिकृत संरचना हटाउने अभियान निरन्तर चल्ने 

अमृत चिमरिया अमृत चिमरिया
२०७९ भदौ २४ गते ११:४२

२४ भदौ, काठमाडौं । बिहीबारदेखि काठमाडौं महानगरको नगर प्रहरीले पशुपतिनाथ मन्दिर क्षेत्रमा फुटपाथ र सटरबाहिर व्यवसाय गर्न रोक लगायो । काठमाडौं वडा नम्बर ८ का जनप्रतिनिधिसहित महानगर प्रहरीले विहीबार पशुपति क्षेत्रमा रहेका फुटपाथ व्यवसाय हटाएका हुन् ।

काठमाडौं महानगर प्रहरी उपरीक्षक राजु पाण्डेका अनुसार अनधिकृत रुपमा मन्दिर वरिपरि, मन्दिरको बाहिर, सटरभन्दा बाहिर व्यवसाय गरेकाहरुलाई हटाइएको हो । उनका अनुसार शहर व्यवस्थित नभएसम्म अनधिकृत संरचना हटाउने अभियान निरन्तर चल्ने छ ।

‘व्यवसाय सटरभित्र मात्रै गर्नुपर्छ, सटरवालाहरुले बाहिर खाट, टेबल राखेर व्यापार गरिरहेका थिए । त्यो हटाउँर्दै गएका छौं,’ उनले भने,’नहटाए महानगरको गाडीले उठाएर लैजान्छ ।’

बिहीबार काठमाडौं ८ नम्बर वडाभरि अनधिकृत संरचना हटाउन महानगरको टोली अनुगमनमा हिंडेको पाण्डेले बताए ।

काठमाडौं महानगरपालिकाले दैनिक रुपमा अनधिकृत संरचनाको प्रयोजन रोक्ने कार्य गरिरहेको छ । नक्सा विपरीत बेसमेन्टको प्रयोजन, फुटपाथ अतिक्रमण, फुटपाथमा व्यवसाय, सार्वजनिक स्थानमा विनास्वीकृति निर्माण भएका संरचना, नक्सा पास विनाको संरचना पूर्ण रुपमा हटाउने अभियान महानगरले दैनिक रुपमा चलाइरहेको छ । यस्ता संरचनाहरु हटाउन सूचना दिने र नहटाए आफैं हटाउने काम अहिले नगरप्रहरीको दैनिकी नै बनेको छ ।

बिहीबार मात्रै महानगरले अवैध भवनका लागि ९० दिने र पर्खालका लागि ३५ दिने सूचना जारी गरेर नक्सापास गरिसक्न सूचित गरेको छ ।

नियमित अनुगमन हुने 

न्यूरोडमा रहेको बिरा कम्प्लेक्सको बेसमेन्ट हटाउन घरधनी र महानगरबीच भएको सम्झौता विपरीत पसल चलाएको पाएपछि महानगरले बिहीबार हटाएको छ । सम्झौता भएको एक साता नबित्दै महानगर प्रहरीले आज अनुगमनको क्रममा बीरा कम्प्लेक्सको बेसमेन्टमा काउन्टर राखेर पसल सञ्चालन गरेपछि हटाउन आग्रह गरेको थियो ।

तर बेसमेन्टमा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीले महानगर प्रहरीविरुद्ध नै प्रतिकार गरेपछि केहीबेर तनाव समेत भएको थियो । बिहीबार दिउँसो बीरा कम्प्लेक्समा भएको धकेलाधकेलले एक महिला नगरप्रहरी घाइते भएको प्रमहरी प्रमुख पाण्डेले बताए । केहिबेरको तनावपछि महानगर प्रहरीले काउन्टर हटाइदिएको छ । गोदामको रुपमा प्रयोग गर्न निर्देशन अटेर गरे थप कारवाही गर्ने महानगर प्रहरीले जनाएको छ ।

काठमाडौं महानगर प्रहरीले अब दैनिक अनुगमन समेत गर्ने भएको छ । बेसमेन्टको प्रयोजन, फुटपाथ व्यवस्थापन, अनधिकृत पार्किङ  लगायत क्षेत्रको नियमित अनुगमन हुने महानगर प्रहरीले जनाएको छ ।

‘हामीले जुन-जुन क्षेत्रमा जे कामको लागि भत्काएका छौं, त्यो भए नभएको हेर्नको लागि दैनिक अनुगमन हुन्छ । अनुगमनबाट काम नभएको पाइएमा सम्बन्धित व्यक्तिलाई निर्देशन गर्छौ,’ नगर प्रहरी पाण्डेले भने ।

संरचना नउठ्दा सकस

महानगरले भत्काएको संरचनाहरुक कारण कतिपय क्षेत्रका फुटपाथमा हिंड्न असहज भएको गुनासो आएको उनले बताए । सुन्धाराको काठमाडौं मलको अनधिकृत संरचना भत्काएपछि त्यहाँ रहेको फुटपाथ अव्यवस्थित बनेको छ । बाक्लो सवारी पार्किङ रहेन उक्त क्षेत्रमा फुटपाथ अव्यवस्थित हुँदा पैदलयात्रु सडकबाट हिँड्न बाध्य भएका छन् ।

पानी पर्दा उक्त फुटपाथबाहेक सडक हिलाम्य बन्ने गरेको भन्दै सामाजिक सञ्जालमा महानगरका मेयर बालेन्द्र साह (बालेन)प्रति व्यंग्य व्यक्त भइरहेको छ ।  ‘घरबेटीले व्यवस्थापन गर्छु भनेकाले ती संरचना त्यहीँ छोडेका हौं । घरबेटी नै यसमा जिम्मेवार हुनुपर्छ,’ नगर प्रहरी प्रमुख पाण्डेले भने ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?