+
+

प्रदेश १ मा आत्महत्या रोकथाम अभियान

हरि अधिकारी हरि अधिकारी
२०७९ भदौ २४ गते १७:२५

२५ भदौ, विराटनगर । आत्महत्या बढ्दै गएपछि प्रदेश १ सरकारले प्रहरीसँगको साझेदारीमा आत्महत्या रोकथाम तथा न्युनीकरण अभियान सञ्चालन गर्ने भएको छ । अभियान शनिबारदेखि सुरु हुने प्रदेश १ का प्रहरी प्रमुख डीआईजी सुदीप गिरीले जानकारी दिए ।

उनका अनुसार गत वर्ष प्रदेश १ मा एक हजार ४८९ जनाले आत्महत्या गरेका छन् । यो संख्या सातवटै प्रदेशको तुलनामा धेरै हो । आत्महत्या गर्नेको संख्या बढ्दै गएपछि प्रदेशका सबै क्षेत्रमा सचेतना अभियान सञ्चालन गर्न लागिएको डीआईजी गिरीले बताए ।

‘केही दिनअघि मात्रै झापामा एउटै रुखमा तीन जना किशोरीले आत्महत्या गरे, आत्महत्या गर्नेको संख्या बर्सेनि बढ्दो छ’, उनले भने, ‘आत्महत्या गर्ने व्यक्तिले अगाडिदेखि नै संकेतहरु दिन्छन्, बेलैमा सचेत भए रोक्न सकिन्छ ।’

बढ्दो आत्महत्या 

डीआईजी गिरीका अनुसार आर्थिक वर्ष २०७४–०७५ मा प्रदेश १ मा एक हजार १२० जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष २०७५–७६ मा एक हजार २३४, २०७६–७७ मा एक हजार ३४४ जनाले आत्महत्या गरेको तथ्यांक छ ।

गत आर्थिक वर्ष २०७८–०७९ मा एक हजार ४८९ र २०७७–०७८ मा सबैभन्दा बढी एक हजार ५१६ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ । पछिल्लो पाँच वर्षमा प्रदेश १ मा मात्रै ६ हजार ७०३ जनाले आत्महत्या गरेका छन् ।

यसरी आत्महत्या गर्नेहरुमा युवा धेरै रहेका छन् । ‘गत वर्ष १८देखि २४ वर्ष उमेर समूहका २८८ जना र २४ देखि ३० वर्ष उमेर समूहका २९२ जनाले आत्महत्या गरेको देखिन्छ,’ उनले भने, ‘युवा अवस्थाकाहरुको संख्या धेरै छ ।’

आत्महत्याका घटना अनुसन्धानमा प्रहरीको पनि कमजोरी रहेको डीआईजी गिरी स्वीकार गर्छन् । प्रहरीले आत्महत्याको कारणसम्म पुग्न नसकेको उनको भनाइ छ ।

‘आत्महत्याको अनुसन्धान हुन्छ, झुण्डिएको हो भने सोही अनुसार र विष खाएको हो भने पोष्टमार्टम रिपोर्ट हेरिन्छ’, उनले भने, ‘प्रहरी पनि आत्महत्याको भित्री कारणसम्म पुग्न सकेको छैन ।’

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?