+
+

प्रधानमन्त्री बन्ने प्रकाशमानको इच्छा, भने : भारी मतले जिताउनुस् न ! 

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २५ गते १६:४०

२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले हरेक निर्वाचन क्षेत्रमा तालिम केन्द्र सन्चालन गरेर युवा र महिला जनशक्तिलाई स्वरोजगार बनाउनुपर्ने बताएका छन् । यसो गरिए बौद्धिक र दक्ष श्रमशक्ति विदेश पलायन हुनबाट रोकिएर देश विकास हुने उनको भनाइ छ ।

शनिबार काठमाडौं महानगरपालिका वडा नं. १० देवीनगरमा कुमाले धारा मर्मत तथा पार्क सौन्दर्यीकरण उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले देशका १६५ वटै निर्वाचन क्षेत्रमा होटल म्यानेजमेन्ट, मोबाइल, कम्प्युटरलगायतका क्षेत्रका दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने बताए ।

उनले भने, ‘समाज बनाउन चाहिने, देश बनाउन चाहिने प्राविधिक जनशक्ति तयार पार्न हरेक निर्वाचन क्षेत्रमा सरकारले नै तालिम सञ्चालन गरेर त्यसबाट पासआउट गरिसकेपछि सर्टिफिकेट दिएर विश्वको जुनसुकै पार्टमा पनि काम गर्न सक्ने क्षमतावान बनाउनुपर्छ ।’ घरव्यवहारमा सीमित भएका महिलाहरुका लागि पनि हरेक वडामा सीपमूलक तालिम दिनुपर्ने उनले बताए ।

प्रधानमन्त्री हुने इच्छा

आगामी निर्वाचनबाट आफू निर्वाचित भएमा त्यसका लागि काम गर्ने नेता सिंहले बताए । ‘हामी राजनीतिमा सेवा गर्नका लागि लागेका हौं, पैसा कमाउनका लागि होइन, सामाजिक सञ्जालमा छाउने गरिकन होइन,’ उनले भने, ‘हामी रियल लाइफमा हरेकको जीवन र जिविकोपार्जन सहज होस् भन्ने चाहन्छौं । त्यसको लागि काम गर्ने इच्छा छ ।’

उनले आगामी निर्वाचनमा विजयी भएमा प्रधानमन्त्री हुने इच्छा समेत व्यक्त गरे । ‘संसदीय शासन प्रणालीमा पहिले सांसद हुनुपर्‍यो । सांसद भइसकेपछि संसदीय दलको नेता हुनुर्‍यो । अनि बल्ल प्रधानमन्त्री हुन्छ,’ उनले भने, ‘भारी मतले जिताउनुस् न, काठमाडौं १ बाट यत्रो जनमत लिएर आएको छ, यसलाई त अब रोक्न सकिंदैन भनेर पार्न सकियो भने…, मौका आइरहेको छ त्यसको लागि सोच्नुपर्‍यो ।’

‘पुरानालाई फाल्दिएर कसले गर्ने काम ?’

समाजमा भ्रष्ट र स्वच्छ दुबै खालका व्यक्तिहरु हुने भन्दै उनले समाजमा राम्रो काम गर्नेहरुलाई मौका दिनुपर्ने नेता सिंहले बताए ।

‘स्वच्छ व्यक्तिलाई पनि एउटै ड्याङमा राख्दिने, भ्रष्ट व्यक्तिहरुलाई पनि एउटै ड्याङमा राखेर मूल्यांकन गरेर समाजमा राम्रो गर्नेहरुलाई हौसला दिन्छ त ?’ उनले भने, ‘राम्रो गर्नेहरुलाई मौका पो दिने हो ।’

पुरानाले काम गर्न नसकेको भन्दै नयाँ पार्टी खोल्ने र स्वतन्त्र उम्मेदवारी दिनेहरुप्रति कटाक्ष गर्दै नेता सिंहले नयाँमा अनुभव नहुने भएकाले काम गर्न सक्नेमा शंका व्यक्त गरे ।

कांग्रेस र कम्युनिष्ट जस्ता पुरानो पार्टीलाई समेत काम गर्न गाह्रो भइरहेको भन्दै उनले भने, ‘नयाँ दलहरुले के भन्छन् भन्दाखेरि पुरानाहरुले गर्न सकेन अब हामी आउँछौं, गर्छौं । आफ्नो नेतृत्वमा स्थापना भएको दललाई त टिकाउन सक्दैन भने तिनीहरुले केही काम गरेर देखाउन सक्लान् ? क्षमता होला ?’

उनले अगाडि भने, ‘भएकालाई पनि यो पुरानै हो भनेर फाल्दिएर को आउने ? कसले गर्ने काम ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?