+
+

डोटीमा कांग्रेस मिल्नै चाहँदैन, समाजवादी छोड्नै चाहँदैन

रामहरि ओझा रामहरि ओझा
२०७९ भदौ २७ गते १९:२५

२७ भदौ, डोटी । सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल गर्ने सहमति भएको भएपनि सिट बाँडफाँटमा समझदारी जुट्न सकेको छैन । एउटै निर्वाचन क्षेत्रमा एकभन्दा बढी दलले दाबी गरेका कारण सहमति जुट्न नसकेको नेताहरु बताउँछन् ।

त्यस्तै एउटा क्षेत्र हो, डोटी । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले आफ्ना उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् । कांग्रेसले प्रदेश सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायर लगायतको नाम प्रतिनिधि सभाका लागि सिफारिस गरेको छ । माओवादीले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको मात्रै नाम सिफारिस गरेको छ भने एकीकृत समाजवादीले पूर्वमन्त्री प्रेमवहादुर आले लगायतको नाम सिफारिस गरेको छ ।

कांग्रेस मिल्नै चाहँदैन

कांग्रेस डोटीमा चुनावी तालमेल नगर्ने अडानमा छ । ‘डोटीमा पार्टीका नेता कार्यकर्ता तालमेलविरुद्ध छन्’ कांग्रेस, डोटीका उपसभापति नारायण जोशी भन्छन्, ‘हामी एक्लै जनताको बीचमा जान्छौं ।’ पार्टीका वडादेखि पालिका तहका समितिले चुनावी तालमेल नगर्ने गरी निर्णय गरेको जोशी बताउँछन् ।

स्थानीय निर्वाचनमा जिल्लाका नौमध्ये ७ वटा पालिका कांग्रेस एक्लैले जितेकाले जनादेश पनि डोटीको नेतृत्व कांग्रेसले नै गर्नुपर्छ भन्ने रहेको जोशीको दाबी छ । भन्छन् ‘चुनावी तालमेल गर्ने हो भने पनि डोटीको प्रतिनिधि सभा र प्रदेशसभा गरी तीनवटै सिट कांग्रेसले पाउनुपर्छ, अन्य दलहरुले उहाँहरुको पकड रहेको क्षेत्रमा दावी गर्दा हुन्छ ।’

केन्द्रले चुनावी तालमेल लाद्न खोजे कांग्रेसका सबै मत गठबन्धनको पक्षमा आउला भन्न नसकिने उनी बताउँछन् । ‘टिकट केन्द्रले दिने हो, उतैबाट टिकट रोकियो भने बेग्लै कुरा हो,’ उपसभापति जोशीले भने, ‘होइन भने डोटीमा चुनावी तालमेल हुन्न ।’ उनले गठबन्धनका अन्य दलहरुको मत धेरै कम रहेका कारण पनि डोटीको नेतृत्व कांग्रेसले पाउनेमा आफु ढुक्क रहेको वताए ।

समाजवादी छोड्नै चाहँदैन

एकीकृत समाजवादीका डोटी जिल्ला अध्यक्ष दीर्घराज बोगटी प्रतिनिधि सभाको सिट आफ्नो पार्टीले पाउनुपर्ने दाबी गर्छन् । ‘पहिलो कुरा त ०७४ को निर्वाचनमा जुन ठाउँमा जुन पार्टीले जितेको त्यहाँ उसैले पाउनुपर्छ भन्ने हाम्रो दाबी हो’ बोगटीले अनलाइनखबरसँग भने, ‘अप्ठ्यारो परिस्थितिमा हाम्रो पार्टीले सहयोग गरेको छ, त्यसैले पनि डोटीमा हामीले पाउनुपर्छ ।’

डोटीको प्रतिनिधि सभाको सिट ‘बटमलाइन’ भएको बताउँदै उनले भने, ‘बरु गठबन्धनमा समस्या आउनसक्छ, तर हामी कुनै हालतमा प्रतिनिधि सभाको सिट छोड्दैनौं ।’

०७४ सालको निर्वाचनमा डोटीको प्रतिनिधि सभा सदस्यमा वाम गठवन्धनका साझा उम्मेदवार प्रेमबहादुर आले विजयी भएका थिए । त्यतिबेला उनी नेकपा एमालेमा थिए । २८ असार २०७८ मा सर्वोच्च अदालतले प्रतिनिधिसभाको दोस्रो विघटनलाई उल्टाइदिएपछि प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले आलेले विश्वासको मत दिएका थिए । २ भदौमा माधवकुमार नेपालले एमाले विभाजन गर्दा साथ दिएका आले मन्त्री समेत भएका थिए ।

माओवादी लचिलो

गठबन्धनका दुई दल कांग्रेस र एकीकृत समाजवादी आ–आफ्नै अडानमा रहेपनि डोटीमा माओवादी भने लचिलो देखिएको छ । ‘हामीले प्रतिनिधि सभा सदस्यकै दाबी गरेका छौं, त्यसका लागि हामीले पार्टीको तर्फबाट सर्वसम्मत रुपमा मुख्यमन्त्रीज्यूलाई अघि सारेका छौं,’ माओवादी केन्द्रका जिल्ला संयोजक कमल गड्सिला भन्छन् ‘त्यसैले हाम्रो पहिलो माग प्रतिनिधि सभा नै हो ।’

यद्यपि गठबन्धनमा हुने सहमतिलाई स्वीकार गर्ने उनले बताए । संयोजक गड्सिला भन्छन्, ‘प्रतिनिधिसभा नभए प्रदेश सभा ‘ख’ पाउनुपर्छ भन्ने हाम्रो दावी हो ।’

यस्तो छ मत परिणाम

३० वैशाखको स्थानीय चुनावमा पनि सत्ता गठबन्धनबीच गठबन्धन हुन सकेको थिएन । कांग्रेस एक्लै लड्दा माओवादी र एकीकृत समाजवादीले तालमेल गरेका थिए ।

निर्वाचनमा जिल्लाका नौ स्थानीय तहमध्ये कांग्रेसले सात पालिकामा प्रमुख उपप्रमुख दुवै र एक पालिकामा उपप्रमुख जित्यो । जिल्लाका ६५ वटै वडाका वडाध्यक्षहरुले पाएको मत जोड्दा कांग्रेसले ३३ हजार नौ सय ४४ मत पाएको छ ।

निर्वाचनमा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारहरुले पाएको मतको योग सात हजार ६१२ हुन्छ भने एकीकृत समाजवादीको तीन हजार २०५ । एमालेका वडाध्यक्षका उम्मेदवारहरुले पाएको कुल मत २५ हजार ३६ छ ।

०७४ को प्रतिनिधि सभा निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार आलेले ३२ हजार ५१० मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार बलायरले ३० हजार ८७८ मत पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?