+
+

न्याय र सुरक्षा माग गर्दै लोकगायिका श्रीपालले दिइन् लोकदोहोरी प्रतिष्ठानमा उजुरी

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २९ गते १७:२१

काठमाडौं । सांगीतिक प्रस्तुतिका लागि जापान पुगेकी एक गायिकाले आफूमाथि भौतिक आक्रमण गरेको भन्दै धन थापा नामका व्यक्तिविरुद्ध राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, जापान शाखामा उजुरी दिएकी छन् ।

गत अगस्ट १३ मा जापानको ओसाका कोबे सहरस्थित धौलागिरि दोहोरी साँझमा सांगीतिक प्रस्तुतिका लागि स्पोन्सर गरेका बागलुङका थापाविरुद्ध गायिका अमृता श्रीपालले उजुरी दिएकी हुन् ।

आफू जापान प्रवेश गरेपछि हरेक कार्यक्रममा गाउँदा पाएको पारिश्रमिक थापालाई कमिसन दिनुपर्ने, तर आउन जान यातायात खर्च समेत नदिने गरेको उनले निवेदनमा उल्लेख गरेकी छन् । कार्यक्रमका सहकर्मीसँग अनैतिक सम्बन्ध राखेको जस्ता आरोप समेत थापाले लगाउने गरेको उनले उल्लेख गरेकी छन् ।

‘मेरो अझै दुई महिनाको भिसा बाँकी रहेको र आफू कलाकार रहेको हुँदा केही समय जापानमा बस्ने र तय भएका सांगीतिक कार्यक्रममा प्रस्तुति दिने माहौल सिर्जना गरिदिनुहुन प्रतिष्ठान, जापान शाखा समक्ष हार्दिक अनुरोध गर्दछु,’ निवेदनमा उनले उल्लेख गरेकी छन्, ‘निज थापाले मलाई जापानमा र मेरो नेपाल (म्याग्दी)मा रहेको परिवारलाई समेत मार्ने धम्की दिने गरेको हुँदा मलाई मानसिक पीडा, सामाजिक बेइज्जत, सांगीतिक करिअरमा असर पर्नुका साथै चरित्र हत्याको पीडाले अति धेरै पीडित बनेकी छु । उसको स्वार्थ पूरा नहुँदा सेप्टेम्बर ११ मा पनि भौतिक रुपमा ममाथि आक्रमण गरेपछि मैले आफ्नो ज्यान जोगाउँदै ओसाकाको एक घरमा शरण लिई लुकीछिपी बसिरहेको छु ।’

उनले आफूलाई उचित न्याय र सुरक्षाको प्रत्याभूति हुने वातावरण मिलाइदिन शाखालाई आग्रह गरेकी छन् ।

गायिका श्रीपालले आरोप लगाएका धन थापाले भने यो विषयलाई खण्डन गरेका छन् । उनले बुधबार राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानमा निवेदन दिदै गायिका श्रीपाल लगायत कलाकारलाई आफूले धौलागिरि दोहोरी साँझमा कार्यक्रमका लागि ल्याएको, तर सम्झौता विपरीत अन्य क्लब र दोहोरी साँझमा समेत गाउँदै हिंडेकाले सम्झाएको बताएका छन् ।

यस्तो कार्यले उनलाई सुरक्षा दिन गाह्रो भएको र नेपाल जानका लागि आफूले टिकट समेत काटिदिएको, तर नमानेको उनले निवेदनमा उल्लेख गरेका छन् । आफ्नो विषयमा सामाजिक सञ्जालमा अनर्गल प्रचार गरिएको भन्दै यसको उचित छानबिन गरी सहज वातावरण बनाइदिन उनले प्रतिष्ठानलाई आग्रह गरेका छन् ।

गायिका श्रीपालले दिएको निवेदन

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?