२८ भदौ, विराटनगर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले एक वर्षमा ४९ हजार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गरेको बताएकी छन् ।
मोरङको कानेपोखरी गाउँपालिका– ६ मा आयोजित लालपूर्जा वितरण कार्यक्रममा उनले गत वर्षको कात्तिकयता ४९ हजारलाई लालपूर्जा वितरण गरेको बताएकी छन् । उनले लालपूर्जा वितरणको काम कुनै पनि बाहनाले नरोकिने पनि बताइन् ।
‘यो सरकार गठन भएको असोज २२ गते १ वर्ष पुग्दैछ, कात्तिकको १६ गतेदेखि महोत्तरीको रामगोपाल गाउँपालिकाबाट सुरु गरेको धनीपूर्जा वितरण अहिले देशभरि भइरहेको छ’, उनले भनिन्, ‘हामीले हालसम्ममा ४९ हजारलाई लालपूर्जा वितरण गरिसक्यौं ।’
सरकारले यही वर्षभित्रमा देशभरका सम्पूर्ण गाउँघरका सुकुमबासीहरुलाई पूर्जा वितरण गरिसक्ने लक्ष्य लिएको उनको भनाइ छ । ‘गरिब नागरिकलाई अधिकार दिने भनेर संविधानमा उल्लेख भयो । तर, सधैंभरि राजनीतिक आग्रह पूर्वाग्रह भए’, श्रेष्ठले भनिन् । उनले नागरिकलाई पूर्जा दिने कुरामा जस कसले लिने भन्ने प्रमुख कुरा नभएको पनि बताइन् ।
धनीपूर्जा पाएकाहरुले आफ्नै छाप्रोमा मर्न पाइने भयो भनेर सुनाएको प्रसंग निकाल्दै अलिसान महलमा बस्नेहरुले चुनावको नाममा गरिबहरुको हुर्मत लिने कोशिस भइरहेको पनि बताइन् ।
उनले पूर्जा बाँड्ने कुरा राज्यको दायित्व भएको बताइन् । ‘मैले कुनै सदासयता, दया, मायाका कारण यहाँ आएर पूर्जा बाँडेको होइन,’ उनले भनिन्, ‘सरकारले यसैवर्ष ३ सय पालिकामा ५ लाख सुकुमबासीलाई पूर्जा बाँड्ने लक्ष्य राखेको छ ।’
कानेपोखरीको वडा नम्बर ६ का ६७ जना भूमिहीन सुकुमबासी तथा भूमिहीन दलित परिवारलाई सुकुमबासी आयोगले पूर्जा वितरण मन्त्री श्रेष्ठले गरेकी थिइन् ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4