+
+
चोलेन्द्रशमशेरको सम्पत्ति विवरण :

२ वर्षअघि सवा ८ करोडमा २४ आना जग्गा किनेको भेटियो

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ भदौ ३१ गते १७:४६

३१ भदौ, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दुई वर्षअघि श्रीमती रेजी राणाको नाममा २४ आनाभन्दा बढी जग्गा जोडेको भेटिएको छ ।

न्यायपरिषद्ले महाअभियोग सिफारिस समितिलाई उपलब्ध गराएको जबराको सम्पत्ति विवरण अनुसार १७ असार २०७७ मा उनले १ रोपनी ८ आना ३ पैसा १ दाम जग्गा किनेको पाइएको हो ।

यो जग्गा ८ करोड २६ लाखमा खरिद गरेको विवरणमा उल्लेख छ ।

जबरा प्रधानन्यायाधीश भएको दुई वर्षपछि रेजीको नाममा १ रोपनी ८ आना जग्गा किनेको देखिन्छ । त्यसमा उनले ८ करोड २६ लाख रुपैयाँ तिरेको भनी राजिनामापत्रमा उल्लेख छ । अभिलेख अनुसार, त्यो जग्गामा १ लाख ६५ हजार पर्ने टहरो समेत छ ।

१३ वर्षको अवधिमा जबराले राजधानीको (प्राइम लोकसेन) मा ३ रोपनी १ आना जग्गा जोडेको देखिन्छ । २० पुस २०७८ मा बृहत नागरिक आन्दोलनका तर्फबाट डा. गोविन्द केसीले सम्पत्ति शुद्धीकरण विभागमा पेश गरेको निवेदनमा जबराले गैरकानूनी रुपमा करिब एक अर्ब रुपैयाँको सम्पत्ति जोडेको आरोप लगाइएको छ ।

नातेदार एवं पारिवारिक स्रोतका अनुसार डिल्लीबजारको कालिकास्थानमा पुर्ख्यौली घर भएका युवराज शमशेरका साहिंला छोरा चोलेन्द्रशमशेरको खासै पुर्ख्यौली सम्पत्ति थिएन । डिल्लीबजार कालिकास्थानमा भएको पुर्ख्यौली सम्पत्ति उनले बेचिसकेका छन् ।

उनका भाइ प्रभुशमशेरले अनलाइनखबरलाई बताएअनुसार जबराको परिवार २०५७ सालमा छुट्टी भिन्न भएको हो । त्यसयता करिब ८ वर्षसम्म जबराले जग्गा जोडेको विवरण अहिलेसम्म भेटिएको छैन । उनले १३ माघ २०६२ देखि ६ असोज २०६५ सम्म विशेष अदालतको सदस्य (न्यायाधीश) का रुपमा काम गरेका थिए ।

त्यसपछि दिपायलमा सरुवा भएका उनले दुई महिनाभित्रै ठमेलमा तीन कित्ताको २१ आना जग्गा खरिद गरेको देखिन्छ । त्यसबेला पत्नी रेजी क्षेत्री (राणा) को नाममा दुईवटा घर गरी सबै जग्गा किन्न उनले कुल ३ करोड रुपैयाँ खर्च गरेका थिए ।

त्यसको करिव १० महिनापछि जबराले पत्नीको नाममा धुम्बाराहीमा पाँच आना क्षेत्रफलको ३ कित्ता जग्गा किनेको देखिन्छ । त्यहाँ उनले थप ८१ लाख रुपैयाँ खर्च गरेको मालपोतको अभिलेखबाट देखिन्छ । जबराले विशेष अदालतबाट सरुवा भएको एक वर्षभित्र ३ करोड ८१ लाख रुपैयाँ विभिन्न जग्गामा लगानी गरेको देखिन्छ ।

त्यसपछि लामो समय जबरा र पत्नी रेजीको नाममा जग्गा खरिदविक्रीको विवरण भेटिएको छैन । एकाएक जबरा प्रधानन्यायाधीश भएको दुई वर्षपछि रेजीको नाममा एक रोपनी आठ आना जग्गा किनेको देखिन्छ । जबराको सम्पत्ति विवरण अनुसार बैंक अफ काठमाडौंमा उनको करिव ५९ लाख २६ हजार बचत छ ।

 

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?