+
+

युवा विद्रोहको लहर छ, हामी को को बढारिन्छौं भन्न सकिन्न : बाबुराम

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १ गते १९:०८

१ असोज, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकमा युवापुस्ताको विद्रोहको लहर आएको भन्दै यसले परम्परागत राजनीतिक शक्तिमाथि चुनौती खडा गरेको बताएका छन् ।

शनिबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले युवा पुस्ताको विद्रोहको लहर आएको र बालेन शाह र हर्क साम्पाङहरु त सानो झिल्को मात्र रहेको बताए ।

‘यसलाई सम्बोधन गर्न सक्नुभएन भने गाउँठाउँमा त प्रभाव नपर्ला, हाम्रो संगठनको बलमा चुनाव जितिएला’ भट्टराईले भने, ‘तर शहरी क्षेत्रहरुमा त्यति सहजै चुनाव जित्नेवाला हामी छैनौं । हामी को को बढारिन्छौं म भन्न सक्दिन, मलाई त आत्मविश्वास छैन ।’

भट्टराईले युवा पुस्तामा असन्तुष्टि रहेको भन्दै शिर ठाडो पारेर मत माग्न जाने अवस्था नभएको बताए ।

‘युवापुस्ताको असन्तुष्टि छ, त्यसलाई कम नआँक्नुस् । पाँच वर्षको समीक्षा गर्दा हामी पास हुन सकेनौं । हामीले गल्ती गर्‍यौं’ उनले भने ।

राजनीतिक आन्दोलनका क्रममा त्याग र बलिदान गरेवापत अहिलेसम्म जनताले चुनेर पठाइरहेको भन्दै भट्टराईले तर हालका राजनीतिक दलहरुले जनताको आकांक्षा सम्बोधन गर्न नसकेको बताए ।

‘त्यसलाई सच्याएनौं भने आगामी निर्वाचन तपाई हामीलाई सहज हुनेवाला छैन’ उनले भने ।

कमी कमजोरी सुधारेर राष्ट्रियता, लोकतन्त्र, आर्थिक विकास र समृद्धिका विषयमा नयाँ अवधारणा लिएर जान सकेमा मात्र पुन जित हासिल गर्न सकिने भट्टराईले बताए ।

‘त्यसो हुन सक्यो भने आगामी प्रतिनिधिसभामा हाम्रो भेट हुनेछ । नत्र तपाईं हामीमध्ये कति भेट हुन्छौं म भन्न सक्दिन । म आफैं यहाँ हुन्छु कि हुन्न भन्न सक्दिन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?