+
+

बाबुआमा हराएपछि छोराछोरीको बिचल्ली

रासस रासस
२०७९ असोज ३ गते १८:३९

३ असोज, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–९ रमवादहवाका ४५ वर्षीय ढिकरु र उनकी श्रीमती ४० वर्षीया शिवरतनी थारु हराएपछि उनीहरुको छोराछोरी बिचल्लीमा परेका छन् ।

विसं २०७८ माघ ९ गते दुवै घरबाट निस्केर दाङ जान्छु भनेर ती दम्पत्ति हिँडेका थिए । दुवै बोल्न नसक्ने थिए । दम्पत्ति हराउँदा उनीहरुका तीन छोरी र एक छोरा बिचल्लीमा परेका छन् ।

ती दम्पतीका छोरीहरु १७ वर्षीय रामकली, १३ वर्षीय सीता, आठ वर्षीय अस्मिता र वर्ष छका छोरा सुवास छन् । माइली छोरी सीतालाई लिन दाङ हिँडेका दुवै अझैसम्म बेपत्ता भएका छन् । आफ्नो बुवाआमालाई खोजी गरी दिनका लागि वडा प्रहरी कार्यालय चन्द्रौटामा जानकारी दिएको ठूली छोरी रामकलीले बताइन् । ‘सकेजति खोजी गरिहेका छौं तर कहीँ कतै भेटिनुभएको छैन’ उनले भनिन् ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीले हराएको थाहा पाउनासाथ खोजी कार्य जारी राखेको बताए । सञ्चारमार्फत सबै ठाउँमा दुवैको हुलियासहित जानकारी गरेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक शाहीले भने, ‘अहिलेसम्म कहीँबाट कुनै खबर आएको छैन आएपछि हामी परिवारलाई तत्काल बोलाउँछौँ ।’

बुवाआमा आउछन् भन्ने आस गरेको पनि आठ महिना पुग्नै लागेको छोराछोरीको भनाइ छ । बुवाआमा नआएपछि उनीहरु शिवराज नगरपालिका–१ सोनपुरमा रहेको मावली हजुरबुवा हरिप्रसाद थारुको घरमा बस्दै आएका छन् ।

 

अरुको खेतमा काम गर्ने हरिप्रसाद आफैँ बिरामी परिरहन्छन् । हरिप्रसादले ज्याला मजदुरी गरी कमाएर ल्याएको रकमले नातीनातिनालाई पाल्दै आएको बताए । छोरी ज्वाईलाई धेरै खोज्ने प्रयास गरे पनि कहीँ कतै नभेटिएको उनले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?