+
+

सूर्यविनायक–धुलिखेल सडक खण्ड ६ लेनमा विस्तार गर्न टेन्डर

साढे ९ अर्ब लागत अनुमान

नेपाल सरकारले आफ्नै लगानीमा सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार गर्न बोलपत्र आह्वान गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १० गते १७:१८
फाइल तस्वीर

१० असोज, काठमाडौं । नेपाल सरकारले आफ्नै लगानीमा सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार गर्न बोलपत्र आह्वान गरेको छ । जापानी सहयोग नियोग (जाइका) ले सूर्यविनायक–धुलिखेल सडक खण्ड ८ लेनमा विस्तारको परियोजनाबाट हात झिकेपछि सरकार आफैंले यो सडक दुई खण्डमा विभाजन गरेर विस्तार गर्न लागेको हो ।

सडक विभागको सूर्यविनायक धुलिखेल र धुलिखेल–सिन्धुली सडक आयोजनाका अनुसार साँगा–धुलिखेल खण्डको निर्माणका लागि टेन्डर आह्वान भइसकेको छ । आयोजनाका प्रमुख रवीन्द्रलाल दासका अनुसार करिब साढे ९ अर्ब लागतमा सरकारले आफ्नै स्रोतबाट यो खण्ड विस्तार गर्न लागेको हो ।

‘सूर्यविनायक–साँगा खण्डको पनि केही दिनमै टेन्डर प्रकाशित हुन्छ,’ उनले भने, ‘दुवै खण्डलाई एक साथ अघि बढाएर सूर्यविनायक-धुलिखेल सडक विस्तार हुनेछ । ’

दासका अनुसार चार वा मुख्य लेन र दायाँ–बायाँ २ वटा सर्भिस लेन गरी ६ लेनमा सडक विस्तार गरिनेछ । दासले यो खण्ड विस्तारपछि सूर्यविनायकदेखि धुलिखेलसम्मको ट्राफिक व्यवस्थापन सहज हुने बताए । सो क्षेत्रमा बस्ती बढ्दै गर्दा सडक साँघुरो हुँदा यो खण्डमा जामको समस्या ब्याप्त छ ।

जापान सरकारले लगानी गर्न चासो दिएपनि सरकारले आफैंले बनाउने बताएपछि यो खण्डको विस्तारको विषय अन्योलमा थियो । भौतिक पूर्वाधार मन्त्रालय र सडक विभागसँग असन्तुष्टि जनाउँदै जाइकाले २०७६ सालमा १६ किलोमिटर यो सडक विस्तारको योजनाबाट पन्छिएको थियो । सरकारले पटक–पटक यो आयोजनामा लगानीबारे पुनर्विचार आग्रह गर्दै आएपनि जाइकाले यसमा ठोस जवाफ दिएको थिएन ।

सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता भीमार्जुन अधिकारी यो परियोजना निकै महत्वपूर्ण भएकाले सरकार आफैंले लगानी गर्ने भएको बताउँछन् । यो सडकखण्डको विस्तारका लागि अहिले सरकारले नै विस्तृत परियोजना प्रतिवेदन बनाएर डिजाइन तयार गरेको छ ।

जाइकालाई विदाइ

वर्षौंदेखि विभिन्न सडक परियोजनामा सघाउँदै आएको जाइकाको सहयोगमा नागढुंगामा सुरुङमार्गको निर्माण करिब आधा सकिएको छ । तर, त्यो भन्दा अघिदेखि चर्चामा रहेको सूर्यविनायक–धुलिखेल सडक खण्डको विस्तारमा भने सरकार लामो समय अलमलिएको थियो । जाइकाले यो परियोजनामा सरकारले देखाएको अपरिपक्वता, अविश्वास, कार्यशैलीप्रति जाइकाले खुला रुपमै रोष प्रकट गरेको थियो । उसले अब यो परियोजनामा लगानी नगर्ने जानकारी सडक विभागसहित सम्बद्ध निकायलाई दिएपछि सरकार अन्योलमा परेको थियो । जापानले २०१६ मा नागढुंगा सुरुङमार्गका लागि ऋण सहायता उपलब्ध गराएपछि सडक पूर्वाधारमा अर्को ठूलो ऋण दिएको छैन । परियोजनाबारे मन्त्री र सचिवपिच्छेका फरक नीति, भनाइ, अडानमा जाइकाको असन्तुष्ट बनेको थियो ।

२०७४ मा जापानी सहयोग नियोग (जाइका) ले सूर्यविनायक–धुलिखेल सडक ८ लेनको बनाउन प्रारम्भिक अध्ययन गरेको थियो र अध्ययनका निचोडहरुको प्रस्तुति राख्दै सरकारलाई सोधेको थियो, ‘३ विकल्पमध्ये कुनमा जाने त ?’

पहिलो विकल्प थियो, अहिलेकै सडकलाई सुधार मात्र गरेर स्तरीकृत गर्ने, दोस्रो साँगा भन्ज्याङमा एतफर्की ‘ओपन कट’ गरेर सुधार गर्ने र तेस्रो साँगा भञ्ज्याङमा सुरुङमार्गसहित सडक विस्तार गर्ने । पलाँसेबाट साँगा भञ्ज्याङसम्म साँघुरा घुम्तीहरु रहेकाले ८ लेनको सडक बनाउन समस्या छ । सोही कारण उक्त खण्डमा सुरुङमार्गको प्रस्ताव गरिएको थियो ।

त्यतिबेला सरकारले सुरुङमार्गसहित यो सडक विस्तार गर्ने विकल्पलाई रोजेको थियो । नेपाल सरकारले सुरुङमार्ग बनाउने भनेपछि जाइकाले त्यसैअनुरुप सम्भाव्यता अध्ययन गर्‍यो । र, साँगामा २० मिटरको दुरीमा एकै स्थानमा दुईतर्फी हुने गरी दुई सुरुङ १.३ किलोमिटर दुरीका बन्ने अध्ययनले देखाएको थियो ।

जाइकाले सूर्यविनायकसम्म सडक विस्तार गर्दा सर्भिस लेन पनि आफैंले बनाउने भनेको थियो । जापानले यो सडक खण्डका विभिन्न स्थानमा ओभरहेड ब्रिज (आकाशे पुल) सहित ट्राफिक लाइट प्रणाली पनि राख्न प्रस्ताव गरेको थियो । जापानी सहयोगमा बनेको कोटेश्वर–सूर्यविनायक खण्डको सर्भिस लेन भने त्यतिबेला सरकारले नै बनाएको थियो । सम्भाव्यता अध्ययन सकिएपछि जापानले सहुलियत ब्याजदरको ऋण सम्झौताका लागि प्रस्ताव गरेको थियो । सुरुङसहित निर्माण गर्दा २२ अर्बको लागत अनुमान थियो ।

तर, जब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यसको फाइल पुग्यो, तब स्थिति उल्टियो । मन्त्रालयले परियोजना निकै महँगो भएको भन्दै अघि बढाउन नसकिने भनेर जवाफ फर्कायो ।

सुरुङमार्ग निर्माणका लागि विस्तृत डिजाइन सुरु भइसकेको अवस्थामा मन्त्रालयले सुरुङसहित निर्माण गर्दा परियोजना महंगो भएको बतायो र पूर्ण अनुदानमा बनाउन प्रस्ताव गरेको थियो ।

जापानले सहुलियत ऋणको प्रस्ताव दोहोर्‍याउँदै सुरुङविना नै सडक बनाउने भए १६ अर्बमा बन्न सक्ने जानकारी दियो । तर, मन्त्रालयले यो परियोजना पनि महंगो पर्ने भन्दै अघि नबढाउने बताएको थियो, जसका कारण निकै चर्चा भएको सडक विस्तारको योजना अलपत्र बन्न पुगेको थियो ।

सरकारसँग पटक–पटक वार्ता गर्दा पनि तत्कालीन भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले परियोजना अघि बढाउन नसकिने बताएका थिए । त्यसपश्चात आयोजनामा जापानको सहयोग लिने सरकारी योजना नै तुहिएको अधिकारीहरु बताउँछन् ।

तत्कालीन मन्त्री रघुवीर महासेठले यो आयोजना सरकार आफैंले बनाउने भनेर सार्वजनिक अभिव्यक्ति नै दिएका थिए । आफू लगानी गर्न तयार भएको आयोजनामा मन्त्रीको गौण चासो देखेको भन्दै जाइका पछि हटेको थियो । सरकारले जाइकालाई कलंकी–नागढुंगाको बाटोको उदाहरण दिंदै सस्तोमै सडक विस्तार गर्न सकिने उदाहरण पेश गरेको थियो । त्यसबाट झनै जाइका रुष्ट बनेको अधिकारीहरु बताउँछन् ।

नागढुंगाको बाटो बन्दाबन्दै भत्किएको थियो । जाइकाले कोटेश्वर–सूर्यविनायक खण्डजस्तै स्तरीय र ३५ वर्षसम्म टिक्ने खालको सडक बनाउन प्रस्ताव गरेको थियो ।

तर, सरकार अहिले आफैं डीपीआर बनाएर यो खण्डको विस्ततार गर्न लागेको छ । सूर्यविनायक–धुलिखेल सडक अरनिको राजमार्गको एक खण्ड हो । उक्त राजमार्गबाट चीनसँगको तातोपानी नाका र वीपी राजमार्ग जोडिन्छ ।

यो खण्ड विस्तार भयो भने काठमाडौं भित्रिने र बाहिरिने सवारीको आवागमन सजिलो हुनेछ । यो सडक स्तरोन्नतिपछि अरनिको र बीपी राजमार्गसहित दोलखा, खोटाङ, रामेछाप, सिन्धुलीलगायत लामो दुरीका गन्तव्यमा चल्ने सार्वजनिक यातायातका लागि सहज हुनेछ ।

यो सडक ८ लेनमा विस्तार भएपछि धुलिखेलको पर्यटन प्रवर्द्धनमा पनि कोशेढुंगा सावित हुने सरकारी विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?