+
+

चुनाव नलड्नेबारे बाबुराम भन्छन्- सबै नेता चुनावदेखि चुनावसम्म अल्झिनुहुँदैन

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १३ गते ६:२६

१३ असोज, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसाप)का अध्यक्ष डा. बाबुराम भट्टराईले सबै नेताहरू चुनावदेखि चुनावसम्म अल्झिएर बस्न नहुने बताएका छन् । अनलाइनखबरमा प्रकाशित ‘प्रत्यक्ष चुनाव नलड्ने मनस्थितिमा बाबुराम’  शीर्षकको समाचार ट्वीट गर्दै डा. भट्टराईले विहीबार बिहान भनेका छन्,  ‘विश्व/नेपालका समाजवादी आन्दोलनका अनुभवबाट सिकेर अगाडि बढ्ने हो भने हामीले आउट अफ बक्स गएर सोच्ने/गर्ने आँट गर्नैपर्छ ।’

उनले चुनाव नलड्ने आफ्नो मनस्थितिबारे सल्लाह र सुझाव पनि मागेका छन् । ‘पुरानै बाटो हिंडेर नयाँ ठाउँमा पुगिन्न’ उनले लेखेका छन्, ‘सबैबाट सल्लाह सुझावको अपेक्षा ।’

बुधबार बेलुका पनि पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले आफ्नो गृहजिल्ला गोरखाका विद्यार्थी नेताहरूसँग यसबारे छलफल गरेका थिए । ‘गोरखाका सचेत विद्यार्थी नेताहरूसँग गम्भीर राजनीतिक विमर्श’ उनले भेटघाटको तस्बिरसहित ट्वीट सन्देशमा लेखेका छन्, ‘विगतका क्रान्तिपछि प्रतिक्रान्तिका अनुभवबाट के सिक्ने ?’

नेतृत्व पंक्ति सबै चुनावदेखि चुनावसम्म अल्झन नहुने उनको तर्क छ । ‘वैचारिक विचलनका अतिरिक्त नेतृत्वको पूरै पंक्ति सत्तादेखि सत्तासम्म वा चुनावदेखि चुनावसम्म अल्झिएर हो कि ?’ उनको प्रस्ताव छ, ‘अतः एउटा हिस्सा चुनाव/सत्ता र अर्को सत्ताइतर जनकार्यमा लाग्ने कि ?’

विहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा उनले प्रश्न गरेका छन्, ‘के सबैले संधै चुनाव लड्नैपर्छ? समाज रूपान्तरण, विकास/समृद्धि,समुन्नत समाजवाद निर्माणको राजनीतिक यात्रा गर्नेहरूले चुनावदेखि चुनावसम्मको बाटो मात्र हिंडेर हुन्छ?’

समुन्नत समाजवादको दिशामा जान सोहीअनुरूप कार्यविभाजन पनि हुनुपर्ने उनको तर्क छ । ‘सडक-सदन-सरकारको क्षेत्रबाट एकीकृत संघर्ष गर्दै समुन्नत समाजवादको दिशामा जाने हो भने नेतृत्वको मूल टिमको कार्यविभाजन पनि सोही अनुरूप गर्नु आवश्यक नहोला र ?’ डा भट्टराईले प्रश्न गरेका छन् ।

यसबारे प्रचण्डसँग आफ्नो छलफल भइरहेको उनले जानकारी दिएका छन् । ‘प्रचण्ड र म जीवनको अन्तिम कालखण्डमा पुनः एकचोटि नयाँ उचाइमा उठेर सहकार्य गर्न यस्तै यस्तै छलफल गरिरहेछौं’ उनले भनेका छन्, ‘तपाईंहरूको सल्लाह सुझाव अपेक्षित छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?