+
+

बन्दसूची संशोधनमा शेखर समूहको आंशिक सन्तुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २० गते १६:४९

२० असोज, काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्षले आफूहरुको खबरदारीकै कारणसमानुपातिकको बन्द सूची संशोधन गर्न संस्थापन पक्ष तयार भएको निचोड निकालेको छ ।

संशोधित बन्दसूची सार्वजनिक पश्चात पहिलोपटक बिहीबार बसेको बैठकले संशोधित बन्द सूचीमा आंशिक सन्तुष्टि व्यक्त गरेको छ । शेखर पक्षको नेता कार्यकर्ताको भेलाले आगामी कदम प्रत्यक्ष तर्फका उम्मेदवारका लागि चालिने बताएका छन् ।

‘खबरदारीकै कारण बन्द सूची केही मात्रामा सच्चियो । खबरदारी नभएको भए (कांग्रेस सभापति शेरबहादुर) देउवा त्यति गर्न पनि तयार हुँदैनथे’ तरुण दलका पूर्व महासचिव भूपेन्द्रजंग शाहीले भने, ‘अब हाम्रो ध्यान प्रत्यक्ष तर्फको नाममा हुनेछ । प्रतिशत खोज्दैनौं, न्यायोचित अवसर खोज्छौं ।’

३ असोजमा निर्वाचन आयोगमा बुझाइएको बन्द सूचीप्रति असन्तुष्ट शेखर पक्षले खबरदारी सभा, धर्ना र दबावकै लागि चियापान गरेको थियो । देउवा पक्ष केही लचिलो भएर सूचिमा परिमार्जन गर्न तयार भए । संशोधित सूचीमा प्रायः सबै क्लष्टरमा दोस्रो क्रममा शेखर पक्षका उम्मेदवारलाई स्थान दिइएको छ । पछिल्लो सूचीले कांग्रेसले समानूपातिक तर्फ कूल पाउने सिटमध्ये एकतिहाई आफ्नो पक्षका हुने शेखर पक्षको बुझाई छ ।

‘अघिल्लो सूची नै अन्तिम भएको भए हाम्रो पक्षका १/२ जना पनि सांसद हुने अवस्था थिएन’, बिहीबार शेखर समूहको भेलामा सहभागी नेविसंघका पूर्वमहामन्त्री मनोजमणि आचार्यले भने, ‘हाम्रो पक्षका उम्मेदवार पनि छनोट हुने अवस्था बनेको छ ।’

समानूपातिक तर्फको सूचीको समीक्षा गर्न बोलाइएको बैठकमा शेखर पक्षका उच्च तहका नेताहरु भने उपस्थित थिएनन् । केन्द्र र प्रदेशतर्फ प्रत्यक्षमा सिफारिसमा परेका र आकांक्षीको बाक्लो उपस्थिति थियो ।

बैठकमा सहभागी एक नेताका अनुसार खबरदारी प्रत्यक्ष तर्फको न्यायोचित अवसरका लागि पनि गरिनेछ । ‘शेखरलाई भोट हालेकै कारण राजनीतिक जीवन समाप्त गर्न पाईदैन । प्रत्यक्षमा भित्तामा पुर्‍याउने काम संस्थापन पक्षले गर्‍यो भने विद्रोह हुन्छ’ ती नेताले भने । गठबन्धनका दलहरुवीच बनेको सहमति अनुसार शेखर पक्षलाई सम्मानजनक हैसियत नदिए थप दबाब कार्यक्रम गर्ने उक्त समूहले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?