+
+
बस दुर्घटनामा १६ जनाको मृत्यु :

ब्रेक फेल भएपछि चालक हाम्फाले, बस बगरमा बजारियो

नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको बसमा सिट क्षमताभन्दा धेरै यात्रु थिए । ब्रेक फेल भएको बस घुम्तीमा अनियन्त्रित भएपछि चालक हाम्फलेर भागे, यात्रुले भरिएको बस बगरमा खस्यो र १६ जनाले ज्यान गुमाए भने ३३ जना घाइते भएका छन् ।

अमृत चिमरिया अमृत चिमरिया
२०७९ असोज २० गते २२:१५
बस दुर्घटनामा घाइते भएकाहरू

२० असोज, मकवानपुर । बाराका शिशिर बिक हेटौंडामा रहेकी ठुलोममीको घरमा टीका लगाउन आएका थिए । दशैंको टिका लगाएपछि घर फर्कन हेटौंडा बसपार्क पुगे । नारायणगढबाट पथलैयातर्फ एउटा बस भेटियो, तर ठेलाठेल हुने भीड ।

बुवा सुरेश बिकले ‘दशैंमा यस्तै हो, चढौं भनेपछि शिशिर बाबुछोरा ठेमलठेल यात्रु रहेको बस चढेर मधेश प्रदेशतिर हुँईकिँदै थिए । ड्राईभर छेउकै स्थान (बर्नर)मा बसेर यात्रा गरिरहेका शिशिरका बुबा सुरेश पनि स्वयं सवारी चालक हुन् । चुरिया मन्दीरबाट तल गएपछि उनले आफू चढेको बसमा ब्रेक नै नलागेको थाहा पाए, चालकलाई बस जंगलतिर मोड्न आग्रह गरे ।

हेटौंडा अस्पतालमा उपचाररत ११ वर्षीय शिशिरले अनलाइनखबरसँग भने, ‘बुबाले जंगलमा गाडी हाल्दे, ब्रेक छैन भनिरहनु भएको थियो तर ड्राइभरले हर्न बजाउँदै अगाडि लगिरहे ।’

जब ३ नम्बर पुल नजिकको मोडमा गाडी झार्ने जस्तो भयो, चालक हाम्फाले । यात्रुले भरिएको बस चाहिँ सडकबाट झण्डै १५/२० मिटर तल नदी किनारमा बजारियो ।

बसमा सवार हेटौंडा ७ नागस्वतीकी १३ वर्षीया सोनिया श्रेष्ठका अनुसार चुरियाको ओरालो कटेपछि गाडीको गति तीव्र भएको थियो । हेटौंडा अस्पतालमा उपचाररत श्रेष्ठले भनिन्, ‘ममी, म र दिदी लास्ट सिटमा बसेका थियौं । गाडीको स्पिड बढेपछि अगाडीबाट ब्रेक फेल भयो भन्दै हल्ला हुनथाल्यो ।’

‘गाडी एकछिन एकदम स्पीड कुदेर खस्यो, त्यसपछि केही याद नै भएन । ब्यूँझँदा अर्को बसमा राखेर मलाई हस्पिटल ल्याइरहेका रहेछन् । ममी र दिदीको खबर थाहा छैन ।’

दुर्घटनामा घाइते भएका शिशिरले आफूलाई समाइरहेका बेहोस बुबा र बसको सबै यात्रु क्षतविक्षत भएको देखे, आफ्नी आमा निशा विकलाई फोन लगाए । अस्पतालमा उपचाररत शिशर भन्छन्, भने, ‘म ब्युँझँदा बेहोस बुवाले मलाई समाइरहनुभएको रहेछ ।’ केहीबेरमा उद्दार सुरु भयो । प्रहरी र स्थानीयले दुर्घटनामा घाइतेहरुलाई हेटौंडा, चुरिया र सहकारी अस्पतालमा लगिएको थियो ।

शिशिर र उनका बुबा सुरेशलाई हेटौंडा अस्पताल पुर्‍याइएको थियो । तर अस्पताल पुग्दा सरेशको मृत्यु भइसकेको थियो । बाबु गुमाएका शिशिर उपचाररत छन् ।

ब्रेक नलागेर खसेको देखिन्छ : ट्राफिक प्रहरी

विहीबार बिहान जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको थियो ।
ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका प्रहरी उपरीक्षक (एसपी) नामपीराज गुरुङका अनुसार नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस दुर्घटनाको कारण प्रारम्भिक अनुसन्धानले ब्रेक फेल नै देखिएको छ ।

‘दुर्घटना भएको स्थानमा गाडीले ब्रेक हानेको देखिँदैन, त्यसकारण पनि ब्रेक फेल हो भन्ने अनुमान गरेका छौैं,’ गुरुङले भने, ‘सिट क्षमताभन्दा बढी यात्रु राखेको देखिन्छ ।’ गुरुङका अनुसार दुर्घटना भएको ४० सिटे बसमा ४९ जना सवार थिए, तीमध्ये १६ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।

अहिलेसम्म हेटौंडा अस्पतालमा १२ जना, चुरेहिल अस्पतालमा २ जना, मकवानपुर सहकारी अस्पतालमा २ जना र चितवनमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।

घाइतेमध्ये १३ जनालाई थप उपचारका लागि चितवनका अस्पतालहरूमा रिफर गरिएको छ भने केही घाइतेको हेटौंडाकै विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

‘एम्बुलेन्स अभाव’ले तनाव

बागमती प्रदेश राजधानी हेटौंडा नजिकै दुर्घटना भएपनि एम्बुलेन्स पाउन मुस्किल भएको उद्धारकर्ताहरू बताउँछन् ।

अस्पतालमा रहनुपर्ने एम्बुलेन्सहरू समयमै नभेट्दा केही घाइतेलाई बसमा हालेर ल्याउन परेको उद्धारकर्ताहरूले बताए । हेटौंडाबाट रिफर हुने एम्बुलेन्स नभएपछि एउटै एम्बुलेन्समा ३ जना घाइते राखेर समेत लैजान परेको हेटौंडा अस्पताल विकास समितिका सदस्य उत्सव चौलागाईंले जानकारी दिए ।

भन्छन्, ‘गाउँको स्वास्थ्य चौकी गएका एम्बुलेन्स बाटो अवरुद्ध भएर रोकिँदा उतै छन् । कोही चितवनतिर छन् । कोही दशैंमा घर पनि गएका होलान्, त्यही भएर समस्या देखियो ।’ मनहरी गाउँपालिका र नेपाली सेनाको एम्बुलेन्स बोलाएर घाइतेलाई अन्य अस्पतालमा पठाइएको चौलागाईंले जानकारी दिए ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?