+
+

सत्ता गठबन्धन : जसपा बाहिरिंदा लोसपाको प्रवेश

८ सिट दिन दलहरु सहमत, ४ सिटमा छलफल

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २१ गते २२:५०

२१ असोज, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धनबाट बाहिरिंदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रवेश पाएको छ ।

५ पुस २०७७ को प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका बेलादेखि उपेन्द्र यादव नेतृत्वको यो समूह यो गठबन्धनमा थियो । दोस्रो विघटनपछि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै अदालत गएको यो पक्ष २८ असारमा संसद पुनर्स्थापनापछि देउवा सरकारमा गयो । साउनमा जसपा विभाजन भयो । तर उपेन्द्र यादव पक्ष बाबजुद गठबन्धनमा रहिरह्यो ।

३० वैशाखको स्थानीय चुनावपछि भने जसपा गटबन्धनप्रति असन्तुष्ट देखिएको थियो । विराटनगर महानगरपालिकाको उपमेयरमा छोरा अमरेन्द्र पराजित भएपछि अध्यक्ष यादवले धोका भएको बताएका थिए । त्यसयता एमालेसँग सम्पर्क बढाएको जसपा सत्ता गठबन्धनको सिट बाँडफाँटमा सक्रिय सहभागी थियो ।

जसपाले प्रतिनिधिसभामा १६ सिट पाउने निश्चित जस्तो भएको थियो । तर, सिट बाँडफाँटप्रति असन्तुष्टि जनाएको उसले अरु दलसँग तालेमल गर्ने ढोका खोल्यो । यद्यपि बिहीबार साँझसम्म जसपाका नेताहरु सत्ता गठबन्धनको बैठकमा सहभागी भएको थियो ।

वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र प्रवक्ता मनिष सुमनलाई बालुवाटारको बैठकमा पठाएका जसपा अध्यक्ष यादव भने एमाले नेताहरुसँग वार्तामा थिए । एमाले सचिव रघुवीर महासेठको निवासमा अबेरसम्म चलेको बैठक सहमति नजिक रहेका नेताहरु बताउँछन् । जसपाले मधेस प्रदेशका १६ सहित २४ सिटमा दाबी गरेको छ भने एमाले २२ सिट दिन तयार भएको छ ।

एमालेसँग प्रदेशसभाको समेत सिट बाँडफाँटबारे छलफल थालेको जसपाका नेताहरु शुक्रबार बालुवाटारमा सत्ता गठबन्धनको बैठकमा गएनन् । केही घण्टासम्म जसपा नेताहरुलाई कुरेका सत्ता गठबन्धनका नेताहरुले तत्काल लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुलाई बोलाएर छलफल थालेका छन् ।

लोसपा नेताहरु शरतसिंह भण्डारी, अनिलकुमार झा र जितेन्द्र सोनल बालुवाटार पुगेका थिए । उनीहरुले प्रतिनिधिसभाको १५ सिट र मधेश प्रदेशमा मुख्यमन्त्री आफूहरुले पाउनुपर्ने दाबी गरेका थिए ।

गठबन्धनका एक नेताका अनुसार सत्ता गठबन्धनका दलहरु ८ सिट दिन सहमत भएका छन् । ‘लोसपा आजबाट तालेमलमा आएको छ’, माओवादी केन्द्रका एक नेता भन्छन्, ‘उहाँहरुलाई ८ सिट दिने सहमति भएको छ । थप केही सिटमा छलफल जारी छ ।’

अहिलेसम्म कांग्रेसको ८४, माओवादी केन्द्रको ४७, एकीकृत समाजवादीको २० र राष्ट्रिय जनमोर्चाको २ सिट टुंगिएको छ । बाँकी सिटमा भोलिसम्म सहमति जुट्ने गठबन्धनका नेताहरुको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?