+
+

नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा मधेश प्रदेशको विजयी सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १३:२४

२३ असोज,  काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत आजदेखि पोखरामा सुरु भएको महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले वियजी सुरुवात गरेको छ ।

पोखरा रंगशालाल क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा मधेश प्रदेशले गण्डकी प्रदेशलाई ४० रनले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ७७ रन बनाएको थियो । मधेश प्रदेशका बलरले शानदार प्रदर्शन गरेपछि ७८ रनको लक्ष्य पछ्याएको गण्डकी १९ ओभरमा ३७ रनमै अलआउट भयो ।

गण्डकीका लागि शिला क्षेत्रीले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

गण्डकीका पाँच खेलाडीले खाता समेत खोल्न सकेनन् । गण्डकीलाई अलआउट गर्न मधेश प्रदेशका अनुराधा चौधरीले ४ ओभरमा १ मेडन राख्दै ८ रन खर्चेर सर्वाधिक ४ विकेट लिइन् ।

कप्तान कविता गौतम र शान्ती चौधरीले समान २ विकेट लिइन् । कविताले ४ ओभरमा १ मेडन राख्दै ६ र शान्तीले ४ ओभरमा ८ रन खर्चिन् । सन्तोषी चौधरीले ३ ओभरमा ५ रन खर्चेर १ विकेट लिइन् ।

त्यसअघि मधेश प्रदेशका लागि ब्याटिङमा सरस्वती कुमारीले अविजित १५ रन बनाइन् भने साना प्रभिन र एलिसा यादवले समान १४ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । रोजी कडारी ९ रनमा अविजित रहिन् ।

गण्डकी प्रदेशका लागि आकृति तिवारीले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिइन् । कुसुम गोदारले ३ ओभरमा १ मेडन राख्दै ६ रन खर्चेर २ विकेट लिइन् ।

जितपछि मधेशले समूह ए मा २ अंक जोडेको छ । असोज २८ गते नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन हुने भए पनि महिला क्रिकेट भने आजदेखि नै सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?