
काठमाडौं । बलिउड स्टार गोविन्दा, नेपाली अभिनेताद्वय प्रदीप खड्का र जितु नेपालले एउटै मञ्चबाट प्रस्तुति दिने भएका छन् ।
मंसिर २३ गते शुक्रबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने सांस्कृतिक समारोहमा यी तीन स्टारले स्टेज सेयर गर्न लागेका हुन् । नेपाल-भारतबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
गायिका रचना रिमालले पनि उक्त कार्यक्रममा प्रस्तुति दिने तय भएको स्रोतले जानकारी दियो । गोविन्दाले आफू अभिनित फिल्मका हिट गीतमा कम्मर मर्काउनेछन् भने प्रदीपले पनि नृत्य प्रस्तुत गर्नेछन् ।
जितुले चाहिँ गोविन्दाकै कमेडी गर्ने जनाइएको छ । बलिउडमा ‘हिरो नम्बर वान’ उपनामले समेत चर्चित गोविन्दाले हालै प्रदीप खड्का अभिनित फिल्म ‘प्रेमगीत ३’ को भारत प्रचारमा पनि साथ दिएका थिए ।
साथै, नेपाली टिभी रियालिटी शो सुपरडान्सर नेपालमा गोविन्दा अतिथि जज समेत बनेर नेपाल आएका थिए ।
प्रतिक्रिया 4