+
+

स्याङ्जामा सत्तारुढ दलको तालमेल भाँडिएको हो ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २४ गते १२:४२

२४ असोज, स्याङ्जा । सत्तागठबन्धनको तालमेलबाट स्याङ्जामा प्रतिनिधि र प्रदेश सभातर्फ ६ जनाले टिकट पाउनुपर्ने थियो । तर गठबन्धनबाट आठ जनाले मनोनयन दर्ता गरेकाले गठबन्धन भित्रै विवाद उत्पन्न भएको छ ।

शुक्रबार राति गठबन्धनका दलबीच सहमति हुँदा प्रदेशका दुबै प्रतिनिधि सभाको उम्मेदवार कांग्रेसको भागवण्डामा परेको छ । प्रदेशतर्फ भने चार मध्ये दुइटा क्षेत्र माओवादी केन्द्र र एकीकृत समाजवादीलाई छुट्याइएको थियो । स्याङ्जा १ को (क) मा माओवादी केन्द्र र स्याङ्जा २ (क) एकीकृत समाजवादीलाई तोकिएको थियो ।

माओवादीले केन्द्रीय नेता अमृता थापामगरलाई स्याङ्जा १ को (क) को उम्मेदवार बनाएको छ । स्याङ्जा २ (क)मा एकीकृत समाजवादीले जिल्ला अध्यक्ष आरसी भट्टराईलाई उम्मेदवार बनाएको छ ।

शुक्रबार भएको सहमति अनुसार माओवादी केन्द्र र एकीकृत समाजवादीका उम्मेदवार दर्ता गर्न तोकिएका क्षेत्र तिर लागे ।

पार्टीले टिकट दिएर माओवादी केन्द्र र एकीकृत समाजवादीका उम्मेदवार जिल्ला पुग्दा शनिबार दिनभर जिल्लाका कांग्रेस नेताहरु बालुवाटार धाउन थाले । माओवादी केन्द्र र एकीकृत समाजवादीलाई १/१ प्रदेश सभा छुट्याउँदा प्रतिनिधि सभामा कांग्रेसले जित्न नसक्ने उनीहरुको दाबी थियो ।

कांग्रेसका एक केन्द्रीय नेताका अनुसार स्याङ्जा २ (क) मा एकीकृत समाजवादीलाई दिँदा उपसभापति धनराज गुरुङ नै असन्तुष्ट थिए । गुरुङ यसै क्षेत्रबाट प्रतिनिधि सभाको उम्मेदवार बनेका छन् ।

दुबै प्रदेश सभाका उम्मेदवार कांग्रेसको नभए जित्न कठिन हुने बताउँदै उनले महामन्त्री गगन थापाको सहयोग खोजेका थिए । एकीकृत समाजवादीको जनमत अत्यन्तै न्यून रहेको तथा पार्टी भित्रका समूहलाई व्यवस्थापन गर्नका लागि कांग्रेसकै उम्मेदवार हुनुपर्ने उनको जोड थियो । गुरुङकै बलमा स्याङ्जा २ (क) मा भोजराज अर्यालले टिकट पाए ।

अर्कोतर्फ स्याङ्जा १ (क) मा कांग्रेसभित्रको एउटा समूहको बलमा मेखलाल श्रेष्ठले टिकट पाए । नेता गोपालमान श्रेष्ठ निकट उनलाई स्याङ्जा १ (क) मा मेखलाल श्रेष्ठले टिकट पाए । जहाँ गठबन्धनबाट माओवादी केन्द्रबाट अमृता थापामगरले टिकट पाइसकेकी थिइन् । श्रेष्ठले टिकट पाएको जिल्ला सभापति राजु थापालाई समेत थाहा थिएन ।

‘गठबन्धनबाट अमृता जीले टिकट ल्याउनुभएको थियो । कांग्रेसबाट मेखलाल जीले पनि ल्याउनुभएछ’, जिल्ला सभापति थापाले अनलाइनखबरसँग भने, ‘मेखलाल जीले टिकट ल्याएको मलाई पनि थाहा थिएन ।’

गठबन्धनबाट उम्मेदवारी दर्ता गराउँदा कांग्रेसका प्रतिनिधि सभातर्फका उम्मेदवार थापा र प्रदेशमा माओवादीकी थापा मगर मनोनयन गर्न सँगै गएका थिए । थापा मगरकै स्थानमा उम्मेदवारी दर्ता गर्न मेखलाल भने गठबन्धनका उम्मेदवार भन्दा केही समयपछि पुगेका थिए ।

उपसभापति गुरुङको बलमा स्याङ्जा २ (क) मा कांग्रेसका भोजराज अर्यालले टिकट पाएकाले कांग्रेसले उम्मेदवार फिर्ता गर्ने पक्षमा छैन । १ को (क) मा टिकट पाएका मेखलालको उम्मेदवारी फिर्ता गराउने पक्षमा जिल्ला नेतृत्व छ । टिकट फिर्ता गराउने क्षेत्राधिकार आफूमा नभएकाले केन्द्रलाई जानकारी गराइसकिएको जिल्ला सभापति थापाले बताए ।

‘जिल्ला तहबाट हुने विषय भएन । केन्द्रमा यहाँको विषय जानकारी गराएका छौं’, यसै क्षेत्रमा उम्मेदवार बनेकी कांग्रेस उम्मेदवार थापामगरले भनिन्, ‘कांग्रेसबाट उम्मेदवारी फिर्ता लिने आशामा छौं ।’

एकीकृत समाजवादी पनि कांग्रेसका नेताहरु प्रति रुष्ट बनेको छ । केन्द्रको निर्णय मुताविक जिल्लामा उम्मेदवारी दिएको एकीकृत समाजवादीका उम्मेदवार आरसी भट्टराईले बताए । उनले भने, ‘पार्टी अध्यक्षले ढुक्क बनाएर उम्मेदवारी दर्ता गराएको हुँ । कांग्रेसबाट पनि उम्मेदवारी पर्‍यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?