
२४ असोज, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आज बिहान युक्रेनका धेरै ठाउँमा आक्रमण भएको पुष्टि गरेको बीबीसीले जनाएको छ ।
एक भिडियो सम्बोधनमा भ्लादिमिर पुटिनले रुसको लामो दूरीका क्षेप्यास्त्रले युक्रेनको ऊर्जा, सैन्य र सञ्चार सुविधालाई निशाना बनाएको बताएका हुन् ।
सम्बोधनमा पुटिनले रूसी क्षेत्रमा कुनै पनि ‘आतंकवादी’ गतिविधिलाई ‘कडा’ जवाफ दिइने कुरा दोहोर्याएका छन् ।
पुटिनले आज रुसको सुरक्षा परिषद्को बैठकमा भाग लिने र रुसलाई क्रिमियासँग जोड्ने पुलमा भएको आक्रमणबारे छलफल गर्ने विश्वास गरिएको छ ।
यसैबीच युक्रेनमाथि रुसी हमलालाई बर्बरताको संज्ञा दिइएको छ । रुसी सेनाले युक्रेन वरपरका शहरहरूमा आक्रमण गर्न थालेपछि युरोपका विभिन्न नेताहरूबाट प्रतिक्रियाको ओइरो लागेको छ ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले आफ्ना युक्रेनी समकक्षी भ्लादिमिर जेलेन्स्कीलाई आपतकालीन फोन गरेका छन् ।
म्याक्रोनले युक्रेनलाई आफ्नो समर्थन पुन: पुष्टि गरे र नागरिक हताहतको रिपोर्टमा ‘चरम चिन्ता’ व्यक्त गरे, एलिसी प्यालेसले एक विज्ञप्तिमा भन्यो ।
जर्मनीका चान्सलर ओलाफ स्कोल्जले पनि जेलेन्स्कीसँग कुरा गर्दै बर्लिन र अन्य जी-७ राज्यहरूबाट समर्थन गर्ने आश्वासन दिएको जर्मन सरकारले पुष्टि गरेको छ ।
पोल्याण्डका विदेश मन्त्री जिबिग्निउ राउले क्षेप्यास्त्र आक्रमणलाई ‘बर्बरता र युद्ध अपराध’ को संज्ञा दिँदै भने, ‘रसियाले यो युद्ध जित्न सक्दैन। हामी युक्रेनको साथमा छौं ।’
प्रतिक्रिया 4