+
+

नवौं राष्ट्रिय खेलकुद : खराव मौसमका कारण कर्णालीका खेलाडी पोखरा आउन पाएनन्

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २४ गते १८:१०
राष्ट्रिय खेलकुदको ट्रफीसहित गण्डकी प्रदेशका मुख्यमन्त्री ।

२४ असोज, पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा असोज २८ गते उद्घाटन हुने बृहत नवौं राष्ट्रिय खेलकुदका केहि खेलस्पर्धा सुरु भइसकेका छन् । खेलको स्पर्धा अनुसार प्रदेश टिमहरु पोखरा आइपुग्ने क्रममा छन् । प्रतिकुल मौसमका कारण कर्णाली प्रदेश टिमबाट प्रतिस्पर्धा गर्ने केहि खेलका खेलाडीहरु भने पोखरा आउन पाएका छैनन् ।

कर्णाली प्रदेश खेलकुद परिषदका सदस्यसचिव विश्वामित्र सन्ज्यालका अनुसार पहाडी र हिमाली जिल्लामा प्रशिक्षणरत खेलाडीहरु वर्षाका कारण स्थल तथा हवाई मार्ग अवरुद्ध हुँदा सुर्खेतमा आउन सकेका छैनन् ।

कर्णालीले नवौं राष्ट्रिय खेलकुदमा ३० खेलमा ५०३ जना खेलाडी सहभागी गराउने भएको छ । खेलतालिका अनुसार खेलाडीहरुलाई सुर्खेतबाट सडक मार्ग हुँदै पोखरा पठाउने गरिएको सदस्यसचिव सन्ज्यालले जानकारी दिए ।

केहि दिनदेखिको अविरल वर्षाका कारण कर्णालीका उच्चपहाडी क्षेत्रमा बाढी र पहिरोले सडक मार्गमा क्षति पुगेको छ भने मौसम नखुल्दा हवाई मार्ग पनि बन्द छ । जुम्ला, कालीकोट, मुगु र हुम्लामा प्रशिक्षणरत खेलाडीहरु सुर्खेत आउन नसकेको कर्णालीका सदस्यसचिवले बताएका छन् ।

‘हाम्रो हकी टिम नै हुम्लामा छुटेको छ । उनीहरु भोलि (मंगलबार) सुर्खेतबाट प्रस्थान गर्नुपर्ने हो । हवाई मार्गको विकल्प नहुँदा खेलाडीहरु यहाँ आइपुग्नै कति दिन लाग्छ थाहा छैन,’ सन्ज्यालले अनलाइनखबरसँग भने, ‘पर्सी (बुधबार)सम्म ल्याउन सकिए पठाउने तयारी गरिरहेका छौं ।’ नवौं खेलकुदअन्तर्गत हकीको स्पर्धा असोज २७ गतेदेखि सुरु हुँदैछ ।

कर्णाली प्रदेश टिमबाट प्रतिनिधित्व गर्ने खेलाडीमध्ये १२ जना जुम्लामा, २० जना हुम्लामा र ६ जना खेलाडी कालिकोटमा रोकिएका छन् । उनीहरुलाई हेलिकोप्टरबाट ल्याउनका लागि पनि मौसमको प्रतिकुलताका कारण सम्भव नभएको सन्ज्यालले बताए ।

चाडपर्वको मौसम भएका कारण हवाई यात्रामा पनि यात्रुको चाप अत्यधिक रहेको उनले सुनाए ।

असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुन लागेको बृहत नवौं राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय र गैरआवासीय नेपाली संघ (एनआरएन) गरी ११ टिमको सहभागिता छ । प्रतियोगितामा ३६ नियमित र २ प्रदर्शनी गरी ३८ खेल समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?