+
+

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ५५ करोडमा सीमित

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २५ गते १५:३०

२५ असोज, काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से १६.०६ अंक (०.८६ प्रतिशत) ले गिरावट भएर १८५५.१६ अंकमा बन्द भएको छ ।

दशैं बिदापछि आइतबार खुलेको नेप्से ४४ अंकले वृद्धि भएर बन्द भएको थियो । सोमबार २७ अंकले गिरावट भएको नेप्से मंगलबार पनि घटेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ३.२१ अंकले गिरावट भएर ३६३.६३ अंकमा बन्द भएको छ ।

मंगलबार व्यापार, होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसूचकमा सामान्य वृद्धि हुँदा अन्य सबै उपसूचकमा गिरावट भएको छ । यता कारोबार रकम पनि घटेर ५५ करोडमा सीमित भएको छ । आइतबार ८४ करोडको कारोबार भएको बजारमा सोमबार बढेर ९७ करोड पुगेको थियो । तर, मंगलबार १७ लाख ६८ हजार ६९२ कित्ता सेयर किनबेच हुँदा ५५ करोड २८ लाख १० हजारको मात्रै कारोबार भएको छ ।

जसमध्ये नबिल बैंकको सर्वाधिक ३ करोड १० लाख ९ हजारको कारोबार हुँदा नेपाल लाइफको २ करोड ४३ लाख ६८ हजार र हिमालयन पावर पार्टनर कम्पनीको सेयर मूल्य २ करोड १९ लाखको कारोबार भएको छ ।

मंगलबार बजारमा कुल १८४ कम्पनीको सेयर कारोबार भएकोमा १४२ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ३३ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

मंगलबार कारोबार भएकामध्ये समिट लघुवित्त र अभियान लघुवित्तको सेयर मूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यस्तै सिटिजन्स म्युचुअल फण्ड १ को इकाइ मूल्य ८.५२ प्रतिशत र रुरु जलविद्युत् कम्पनीको सेयरमूल्य ७.८४ प्रतिशतले वृद्धि भएको छ ।

यता बिन्दवासिनी लघुवित्तको सेयर मूल्य सर्वाधिक ७.१८ प्रतिशतले गिरावट हुँदा सिंगटी हाइड्रोपावरको सेयर मूल्य ४.२६ प्रतिशत र नेरुडे लघुवित्तको सेयरमूल्य ३.८३ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?