+
+

यी तीन कारणले झार्‍यो सेयर बजार, बैंकिङ ४६ महिनाकै न्यून बिन्दुमा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ६ गते १८:१७

६ वैशाख, काठमाडौं । ब्याजदर निरन्तर घट्दो छ । वैशाख महिनामा पनि वाणिज्य बैंकहरूले ब्याजदर घटाएपछि व्यक्तिगत मुद्दतीमा औसत ७.०६ प्रतिशतमा झरेको छ । निरन्तर ब्याजदर घट्दै गएको छ, बैंकहरुमा लगानीयोग्य रकम पर्याप्त छ । सामान्यतः ब्याजदर र सेयर बजारको सम्बन्ध उल्टो हुने सिद्धान्त छ ।

ब्याजदर घट्दा सेयर बजार बढ्ने र ब्याजदर बढ्दा बजार घट्ने सिद्धान्त यतिबेला मिलिरहेको छैन । यो साताका सबै दिन बजार घट्यो । लगानीकर्ताले कहिले २ हजार त कहिले १९८० लाई सपोर्टका रुपमा व्याख्या गर्दै आए पनि बजार ती सपोर्टमा अडिएन, अझै केही झर्न सक्ने आँकलन हुन थालेको छ । बिहीबार नेप्से १९७२ अंकमा रहेर कारोबार बन्द भयो ।

अर्थमन्त्रीको पद सम्हालेपछि वर्षमान पुनले धितोपत्र बोर्ड, नेप्से र सीडीएससीसँग बजारको विकासका लागि गर्नुपर्ने कामबारे सुझाव मागे । जतिबेला बजारमा केही सुधार हुने आशमा लगानीकर्ताले खरिद बढाए ।  तीनै निकायले सुझाव दिए पनि कार्यान्वयनका बेला भने उनले तदारुकता देखाउन सकेनन् । बजारको विकासका लागि कुनै काम भएनन् । लगानीकर्ताको भनाइका आधारमा बजारलाई यतिबेला ३ मुख्य कारणले नकारात्मक असर पारेको देखिन्छ ।

पहिलो कारण हो– बैंक तथा वित्तीय संस्थाहरुको रिपोर्ट खराब आउने अनुमान । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भोलि शुक्रबार तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दैछन् । यो वित्तीय विवरण अधिकांशको खराब नै आउने अनुमान धेरै लगानीकर्ताको छ ।

‘बैंक तथा वित्तीय संस्थाहरुको तेस्रो त्रैमासिक वित्तीय विवरण त्यति राम्रो आउने देखिँदैन, धेरैको वितरणयोग्य नाफा ऋणात्मक हुने र निष्क्रिय कर्जामा पनि सुधार नहुने अवस्था देखिन सक्छ’ लगानीकर्ता सुवासचन्द्र ढुंगानाले भने ‘यदि त्यस्तो अवस्था वित्तीय विवरणमा देखियो भने अरु केही दिन बजार झर्न सक्ने अनुमानले पनि बजार झार्न बल पुग्यो ।’

हरेक स्टक मार्केट अनुमानकै आधारमा घटबढ हुने भएकाले त्यसलाई स्वभाविक रुपमा लिनुपर्ने लगानीकर्ता बताउँछन् । वैशाख पहिलो सातामै बैंक तथा वित्तीय संस्थाको तेस्रो त्रैमासिक वित्तीय विवरण आउने गर्छ । यो विषयमा बजारका खेलाडीहरूले पहिले नै अनुमान गरेर कारोबार गर्छन् ।  विवरण खराब आउने त्रासले बजारले केही दिनदेखि नै प्रतिक्रिया जनाइरहेको लगानीकर्ता बताउँछन् ।

त्यस्तै बजार घट्नुको दोस्रो कारण – भित्री कारोबार, जालसाजी तथा कृत्रिम कारोबारमा प्रहरीले अनुसन्धान गर्न सक्ने विषय पनि रहेको लगानीकर्ताको भनाइ छ । धितोपत्र बोर्डसँगकै सहकार्यमा प्रहरीले यस्ता कसुरको अनुसन्धान गर्नेगरी धितोपत्रसम्बन्धी ऐन २०६३ लाई संशोधन गरिएको छ । यो व्यवस्थालाई कतिपयले बजार घटाउने माध्यम बनाएको लगानीकर्ता बताउँछन् ।

‘पहिले धितोपत्र बोर्डले मात्रै गर्ने अनुसन्धान अहिले प्रहरीले बोर्डसँगको सहकार्यमा गर्ने भनिएको छ, यसमा आत्तिनुपर्ने कारण नरहे पनि बजार घटाएर सेयर खोस्न चाहनेलाई उपयुक्त बहाना बनेको छ’ अर्का लगानीकर्ता पिताम्बर खकुरेलले भने ।

ठूला लगानीकर्ताहरुमा कम्पनीका कतिपय सूचनाहरु गोप्य रुपमा पुग्ने गरेका छन् । तर अब प्रहरीले नै यससम्बन्धी अनुसन्धान गर्ने भएपछि उनीहरु त्रसित बनेको हुन सक्ने विश्लेषण बजारमा हुने गरेको छ । ‘पहिले पहिले ब्रोकर कम्पनी नै नजिकका ठूला लगानीकर्तालाई फलानो कम्पनी किन्नुस्, यस्तो हुँदैछ भनेर भित्री सूचना दिने गरेका थिए’ खकुरेलले भने ‘तर अब प्रहरीले अनुसन्धान गर्ने भएपछि त्यसरी इन्साइडर ट्रेडिङ गरेर खेल्न सहज हुँदैन ।’

तेस्रो कारण बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन बाफियाको संशोधनले पनि असर पारेको ढुंगाना बताउँछन् । ‘बैंकर र व्यवसायी छुट्याउने व्यवस्थाले अहिले होल्ड भएको सेयर पनि भोलिका दिनमा कारोबारमा आउन सक्ने र त्यसले आपूर्ति बढ्न सक्ने डर छ’ उनले भने । बैंक र व्यवसायबीच हुन सक्ने स्वार्थको द्वन्द्व हटाउन यस्तो प्रस्ताव गरिएको छ ।

बैंकिङ सूचक करिब ४६ महिनाकै न्यूनतम विन्दुमा
सूचीकृत १९ वाणिज्य बैंकहको सेयर मूल्य उतारचढावलाई ‘बैंकिङ’ सूचकले जनाउँछ । यो सूचक यतिबेला करिब ४६ महिना यताकै न्यूनतम बिन्दुमा झरेको छ । समग्र बजार परिसूचक नेप्से १८०० देखि २२०० बीचमा घुमिरहँदा अन्य क्षेत्रका सूचकहरु पनि उतारचढाव भइरहेका छन् । तर बैंकिङ सूचक भने १५ असार २०७७ यताकै न्यूनतम बिन्दुमा झरेको हो । बिहीबार बजार बन्द हुँदा बैंकिङ समूहको सूचक १०३७ अंकमा झरेको छ ।

१५ असार २०७७ मा १०१६ अंकमा रहेको बैंकिङ सूचक १० साउन २०७८ मा २१७५ अंकसम्म पुगेको थियो । त्यस वर्ष भदौ २ मा नेप्से परिसूचक पनि ३१९८ अंकसम्म पुग्यो । त्यतिबेला बैंकिङ समूहले नै बजारलाई उच्चतम अंकमा पुर्‍याएको थियो ।

भदौ २०७८ पछि समग्र बजारले ‘बियरिस ट्रेन्ड’ समात्यो, त्यही ट्रेन्डको लयमा बैंकिङ सूचक पनि घट्दै गयो । यसबीच पटक–पटक नेप्से परिसूचक १८०० आसपास आउँदै २२०० नजिकसम्म पुग्यो । तर, १८०० बाट तल झर्न सकेन, अहिले नेप्से २००४ अंकमा छ । तर, बैंकिङ सूचक ४६ महिनाकै न्यूनतम बिन्दुमा छ ।

सामान्यतया सेयर बजारको परिसूचक र बैंकिङ सूचकको ट्रेन्ड उस्तै हुने गर्छ । बैंकिङ समूह नै बजारमा सबैभन्दा शक्तिशाली समूह भएकाले यसको ट्रेन्ड र नेप्सेको ट्रेन्ड मिल्दोजुल्दो देखिने गरेकोमा अहिले बैंकिङ र नेप्सेको ट्रेन्ड फरक देखिन्छ । बैंकिङ समूह लत्रिएकै कारण सेयर बजार माथि उठ्न नसकेको बजारका जानकार बताउँछन् । यस क्षेत्रका कम्पनीको सेयर संख्या अधिक हुनु, वित्तीय स्थिति र प्रतिफल दर कमजोर बन्दै जानुले बैंकिङ सूचक पनि घटिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?