+
+

मलेसियाको विमानस्थलमा २५ घण्टा सास्ती भोगेर घर फर्कँदै युवा फुटबलर

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २५ गते १७:३८

२५ असोज, काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैंको बेला भियतनाममा एएफसी यू-१७ एसियन कप छनोट खेल्न गएको नेपाली फुटबल टोलीले मलेसियाको क्वालाम्पुरमा लामो समय ट्रान्जिटमा बिताउनुपर्दा निकै सास्ती बेहोर्नुपरेको छ ।

नेपालमा दशैंको रमझम चलिरहँदा युवा टोली भियतनाममा राष्ट्रको लागि खेलिरहेको थियो । आइतबार चाइनिज ताइपेई विरुद्ध समूह एफको अन्तिम छनोट खेल खेलेर नेपाल फर्कने क्रममा नेपाली टोलीले मलेसियाको क्वालालम्पुरस्थित एअरपोर्टमा २५ घण्टा भन्दा बढी समय ट्रान्जिट बिताउनुपरेको छ ।

भियतनामबाट नेपाली टोली मलेसियाको समय अनुसार सोमबार साँझ ५:१५ बजे क्वालालम्पुर ओर्लेको थियो । विमानस्थलमै २५ घन्टा बिताएर नेपाली टोली मलेसियाको समय अनुसार मंगलबार बेलुकी ६:३५ बजे हिमालयन एअरलाइनसबाट काठमाडौंका लागि उडेको छ । नेपाली खेलाडी नेपाली समय अनुसार मंगलबार राति ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रने छन् ।

फुटबलको अभिभावक संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) ले गतिलो व्यवस्थापन नगर्दा नेपाली टोलीले सास्ती बेहोर्नु परेको हो । नेपाली खेलाडी तथा पदाधिकारी एअरपोर्टको भुँईमै सुत्न बाध्य भएका थिए । उनीहरु खुल्ला स्थानमै सुतेका थिए । भियतनामा जानेबेला पनि नेपाली टोलीले १४ घण्टा ट्रान्जिटमा बिताउनुपरेको थियो । ट्रान्जिटमा रहँदा पनि एन्फाले टोलीका लागि केही व्यवस्था गरेन । टोलीका लागि एअरलाइन्सका कर्मचारीले खानाका व्यवस्था गरिदिएको एक सदस्यले जानकारी दिए ।

सामान्यतया ढिला टिकट काट्दा र सस्तो टिकट काट्दा लामो समय ट्रान्जिट पर्ने गर्छ । एन्फाले पनि यू-१७ टोलीका लागि ढिला टिकट काटेको थियो । एन्फाले सस्तो टिकट काट्ने चक्करमा राष्ट्रिय झण्डा छातीमा लगाएर खेल्ने खेलाडीको लागि भने व्यवस्थापन नगरेको देखियो ।

‘हामीले पनि समाचारबाट ट्रान्जिटमा परेको थाहा पायौँ । हामीलाई त बिदाइका बारेमा पनि थाहा थिएन । अहिले पनि खेलाडीको यस्तो हालत छ । टिकट काट्ने बेलामा ध्यान नदिँदा यस्तो भएको होला,’ एन्फाकै एक सदस्यले भने, ‘हुनत यसमा हाम्रो पनि जिम्मेवारी हो । तर हामीलाई नै थाहा छैन । कमिसनको खेलका लाग्दा खेलाडीले सास्ती भोग्नु दु:ख कुरा हो । अब हामी यस्तो हुन निदन आवाज उठाउनेछौं ।’

खेलाडीहरुले ट्रान्जिटमा धेरै समय बिताउनुपर्दा अहिले सामाजिक सञ्जालमा यस विषयलाई लिएर एन्फाको ठूलो आलोचना भइरहेको छ । तर एन्फाले भने यस विषयमा अहिलेसम्म केही धारणा सार्वजनिक गरेको छैन ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?