२६ असोज, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको नाम काठमाडौं ५ को क्षेत्रीय समितिले सर्वसम्मत सिफारिस गरे पनि उनी प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहेनन् । महत कांग्रेसबाट उम्मेदवार नहुने निश्चित भएपछि दोस्रो व्यक्तिको खोजी भयो । उम्मेदवारी दर्ता गर्ने अघिल्लो रात (शनिबार मध्यरात) कांग्रेसले नेता प्रदीप पौडेललाई यस क्षेत्रको उम्मेदवार बनाउने निर्णय गर्यो ।
अब प्रतिनिधि सभाका लागि पहिलो प्रत्यासी पौडेल र यसै क्षेत्रमा अघिल्लोपटक निर्वाचित ईश्वर पोखरेल बीच चुनावी जोडघटाउ सुरु भएको छ । पोखरेल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष हुन् भने पौडेल कांग्रेसका केन्द्रीय सदस्य हुन् ।
पोखरेल यस क्षेत्रका निर्वाचित जनप्रतिनिधि हुन । त्यसमाथि भर्खरै भएको स्थानीय तह निर्वाचनको मत परिणामले पनी उनी यस क्षेत्रमा बलियो अवस्थामा देखिन्छन् । तर, यी तथ्यलाई मात्रै आधार बनाएर पोखरेलेको जित सुनिश्चित भन्न सकिने अवस्था छैन ।
पटकपटक मन्त्री भएका र यही क्षेत्रबाट निर्वाचित भएका पोखरेल यो निर्वाचनमा प्रश्न गर्ने ठाउँमा नभइ जवाफ दिने ठाउँमा छन् । त्यसैले पोखरेलको विगतमाथि प्रतिस्पर्धी उम्मेदवारले प्रश्न उठाउन थाली सकेका छन् ।
अर्कोतर्फ, कांग्रेस उम्मेदवार पौडेल अहिलेसम्म संसदीय भूमिकामा पुगिसकेका छैनन् । त्यसैले सत्ता सञ्चालनको भूमिकामा उनले अवसर पाएकै छैनन् । ‘ईश्वर पोखरेल परीक्षण भइसकेको व्यक्ति हुनुहुन्छ तर प्रदीपजी अहिलेसम्म कुनै विवादमा पर्नु भएको छैन’, यसै क्षेत्रकी कांग्रेस सचिव रजनी थापा भन्छिन्, ‘पोखरेलले ओम्नीदेखि गोकर्ण फरेष्ट लिजसम्मका काण्डैकाण्डको जवाफ दिनुपर्छ ।’
पोखरेलसँग राज्य सत्तामा बसेर काम गरेको लामो अनुभव छ । उनी २०५१ सालमा प्रधानमन्त्री मनमोहन अधिकारीको प्रमुख राजनीतिक सल्लाहकार थिए । २०६१ सालमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका पोखरेल २०६९ मा उपप्रधानमन्त्री सहित परराष्ट्र, कृषि विकास र युवा तथा खेलकुद मन्त्री बनेका थिए । २०७४ को निर्वाचन पछि बनेको ओली नेतृत्वका सरकारमा उनी रक्षामन्त्री थिए ।
पछिल्लो कार्यकालमा उनी नेपाल ट्रष्ट ऐन संशोधनको विवादमा तानिए भने ‘कोभिड १९ रोग रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समिति’मा प्रभावकारी नेतृत्व दिन नसकेको आरोप खेपे । तर राजनीतिक आग्रहका आधारमा यी आरोप लागेको एमालेको गुनासो छ ।
‘यो देशमा विवादमा पार्न बाँकी व्यक्ति को छ र ? मदन भण्डारीलाई विवादमा पारेनन् र ?’ काठमाडौं ४ का एमाले निर्वाचन क्षेत्रीय कमिटीका संयोजक ध्रुव थपलिया भन्छन्, ‘गणेशमानले मदन भण्डारीलाई बदनाम गराएका थिएनन् ? विवाद त यहाँ जे विषयमा पनि हुन्छ ।’
थपलियाका भनाइमा पोखरेलकै बलमा कोभिड परीक्षणको ल्याब देशभर बनेका थिए । अमेरिका युरोप कोभिडको चपेटामा पर्दा समेत नेपालमा तुलनात्मक रुपमा प्रभाव कम परेको उनको दाबी छ । पोखरलेकै बलमा नेपाल ट्रष्टको जग्गा अभिलेखिकरण सम्भव भएको उनको भनाइ छ । ‘नेपाल ट्रष्टको सम्पत्ति देशभर कति थियो भन्ने एकिन थिएन । उहाँ मन्त्री हुँदा नै नेपाल ट्रष्टको सम्पत्ति यति छ भनेर थाहा भयो । अत्तोपत्तो नभएको सम्पत्तिको हामीले अभिलेखीकरण ग¥यौं’, थपलियाले भने ।
एमाले नेताहरुले पोखरेल विजयी हुने दाबी गरिरहँदा कांग्रेस पनि यस पटक यो क्षेत्रमा पौडेललाई जित निकाल्न अनुकूल भएको बताउँछ । कांग्रेसमा प्राय हरेक जसो क्षेत्रमा गुटगत राजनीति हुने गरेको लुकेको छैन । तर, यहाँ सबै समूहले पौडेललाई साथ दिने अवस्था बनेको स्थानीय नेताहरुको भनाइ छ ।
‘अहिलेसम्म पौडेलले टिकट पाउँदा कोही असन्तुष्ट देखिएको छैन,’ कांग्रेसका क्षेत्रीय तहका एकजना नेता भन्छन, ‘सबै समूहकोे साथ पाउनु उनको सकरात्मक पक्ष हो ।’
स्वतन्त्रको डर
यो क्षेत्रमा यसपटक स्वतन्त्र उम्मेदवारको बाढी नै छ । काठमाडौं ५ मा मात्रै दल र स्वतन्त्र गरि ३० जनाको उम्मेदवारी परेको छ । त्यसैले यी स्वतन्त्र उम्मेदवारहरु पोखरेल र पौडेलका लागि चुनौती बन्न सक्छन् । किनकि स्वतन्त्र भनिए पनि उम्मेदवारी घोषणा गरेका प्रणयशमसेर राणा विगतमा कांग्रेसमा र सुशान्त श्रेष्ठ एमालेमा सक्रिय थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा गएर भाषण गरेको भन्दै राणालाई कांग्रेसले कारबाही गरेको थियो । यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध नभई उनले उक्त दलको घण्टी चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गर्दै छन् । निकट विगतमा कांग्रेसमा रहेकाले उनले त्यही दलको मत बढी काट्ने विश्लेषण हुने गरेको छ ।
‘यही बढे हुर्केको हुँ । धेरै समयदेखि यस क्षेत्रका समस्यामा परिचित छु’, राणाले अनलाइनखबरसँग भने, ‘धेरै मतदाताकहाँ पुगिसकेको छु । सबैतिरको मत ल्याएर जित्छु ।’
तर, कांग्रेसका स्थानीय नेताहरु नयाँ अनुहारले तात्विक असर नगर्ने बताउँछन् । युवापुस्ताको लहर आइरहेको बेला कांग्रेसले यहाँ युवा नै अघि सारेकोले आफूहरुको मत सहजै बढ्ने उनीहरुको दाबी छ । ‘युवाहरुको चाहना अनुसार उपयुक्त पात्र प्रदीप दाइ हुनुहुन्छ । शालिन र भिजन भएको व्यक्तिलाई कांग्रेसले उम्मेदवार बनाएको छ’, क्षेत्रीय सचिव थापा भन्छिन् ।
एमाले निकट सुशान्त श्रेष्ठले पनि यसै क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । ‘ईश्वर पोखरेलले यहाँबाट जित्दै आउनुभएको छ तर क्षेत्रका लागि केही योगदान गर्नुभएको छैन । मलाई एमाले र कांग्रेस समर्थित सबैको मत आउँछ’, जर्मनीबाट पढेर फर्केका आइटी विज्ञ श्रेष्ठले भने ।
स्वतन्त्रले केही मत काटे पनि पोखरेललाई हराउन नसक्ने एमाले नेता थपलियाको दाबी छ । ‘अहिले स्वतन्त्र भनेर उठेकाहरु कुनै न कुनै दल छोडेर आएका हुन् । तिनको विगत हामीलाई थाहा छैन र ? साँच्चै स्वतन्त्र कोही पनि हैन’, थपलियाले भने ।
स्वतन्त्रबाट उम्मेदवार बनेकी रञ्जु दर्शना प्रचारमा लागेकी छन् । जन्मेको, हुर्केको तथा अध्ययन गरेको क्षेत्र काठमाडौं ५ भएकोले आफना लागि यो क्षेत्र सहज भएको उनले बताइन् । रञ्जु निर्वाचनका लागि नयाँ अनुहार पनि होइनन् । २०७४ मा उनी काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर २३ हजार ४३९ लोकप्रिय मत प्राप्त गरेकी थिइन । त्यसैले स्वतन्त्रले जित्ने अवस्था नभएको दाबी गर्दा गर्दै पनि स्थानीय एमाले र काग्रेस कार्यकर्ताको ध्यान रञ्जुतिर पनि छ ।
‘हामी अन्य दलहरुका विरुद्धमा आरोप प्रत्यारोप नगरी आफ्ना चुनावी एजेण्डा सहित प्रचारमा लागेका छौ’, रञ्जुले भनिन्, धेरै उम्मेदवारहरु हावा गफ गर्ने, एक अर्काको कुरा काट्ने गर्छन्। तर म साधारण परिवारको व्यक्ति निष्ठावान भएर काम गर्न आएकी छु ।’ उनले सबैले खोजेको र रोजेको आफू जस्तै नै उम्मेदवार भएको भन्दै मतदाताले आफ्नो एजेण्डा र प्रतिवद्धता दिएर भोट दिएर जिताउने अनलाइनखबरलाई बताइन् ।
यसै क्षेत्रमा राप्रपाबाट रामप्रसाद उप्रेतीले उम्मेदवारी दिएका छन् ।
विगतको अंक गणित
२०५६ र २०७४ सालमा यस क्षेत्रबाट पोखरेल निर्वाचित भए । दुबै संविधानसभा निर्वाचनमा कांग्रेस नेता नरहरी आचार्यले जित निकाले । २०७४ सालमा पोखरलले कांग्रेस नेता प्रकाशशरण महतलाई पराजित गरेका थिए । पोखरेलले २३ हजार २९ मत पाउँदा महतले १३ हजार १६९ मत पाएका थिए ।
स्थानीय तहको मतको आधारमा अहिले पनि एमाले पहिलो शक्ति हो । गठबन्धनका अन्य दलको मत जोड्दा समेत एमाले पहिलो बन्छ । स्थानीय तहमा एमालेले १९ हजार २२९ मत पाएको छ । कांग्रेसले १४ हजार ५३२, राप्रपाले २ हजार ७३९, एकीकृत समाजवादीले १ हजार ५५३, माओवादी केन्द्रले १ हजार १३९ मत पाएका थिए ।
काठमाडौं– ५ मा काठमाडौं महानगरको वडा नं २, ३, ४, ५, बूढानीलकण्ठ नगरपालिकाको वडा नं ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाको वडा नं २, ३, ४, ५, ६, ७ पर्छन् ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4