+
+

७७ लागे नीर शाह, अमेरिकामै मनाउँदैछन् जन्मदिन

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २६ गते १३:४३

काठमाडौं । नेपाली फिल्म, संगीत र टेलिभिजन क्षेत्रका चर्चित व्यक्तित्व नीर शाह आज (बुधबार)देखि ७७ वर्ष लागेका छन् । एक फिल्म अवार्डको सिलसिलामा अमेरिकाको डेनवर प्रस्थान गरेका शाहले बुधबार त्यहीं आफ्नो जन्मदिन मनाउँदैछन् ।

नेपाल टेलिभिजनको संस्थापक अध्यक्ष समेत रहेका शाहलाई सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना दिनेको ओइरो छ । उनको तस्वीर पोस्ट गर्दै सेलिब्रिटीले शाहसँगका किस्सा सम्झिएका छन् ।

शाहले अभिनय गरेको पहिलो नेपाली फिल्म ‘परिवर्तन’ हो । कुसुमे रुमाल, प्रेमपिण्ड, नाता रगतको, ढुकढुकी, बादलपारि, सिउँदोको सिन्दूर, गौंथली, जीवनसाथी, बाचा बन्धन, मुनामदन, सानो संसार, किस्मत लगायत उनी अभिनित हिट फिल्म हुन् । शाहले बासुदेव, पच्चीस वसन्त, वसन्ती, राजमती, सेतो बाघ लगायत फिल्म निर्देशन गरेका छन् ।

उनले लेखेका गीत पनि निकै चर्चित छन् । नारायणगोपालले गाएको ‘पर्खिबसें आउला भनी’, फिल्म स्वर्गको ‘छोरी मलाई भागी भागी नसताऊ’, प्रकाश श्रेष्ठले गाएको ‘गहिराइमा डुब्दै नडुब’, फिल्म वसन्तीको ‘प्यारी वसन्ती’ लगायतका उनले रचेका चर्चित गीत हुन् ।

नेपाली फिल्ममा उनलाई ‘भीष्म पितामह’ पनि भन्ने गरिन्छ । उनी निकटकाले शाहलाई ‘नीर राजा’ भनेर सम्बोधन पनि गर्छन् । राजनीतिक रुपमा पनि शाह सक्रिय छन् । नेकपा माओवादी केन्दै हुँदै उनी यतिबेला नेपाली कांग्रेसमा आबद्ध छन् । उनी राष्ट्रियसभामा मनोनित हुने समेत केही समयअघि चर्चा थियो ।

यतिबेला शाह अर्का वरिष्ठ निर्देशक तुलसी घिमिरेसँग मिलेर कृतिमा आधारित फिल्म ‘कोही किन बर्बाद होस्’को निर्माणमा व्यस्त छन् । त्यसबाहेक ‘छक्कापञ्जा’सहितका अन्य केही फिल्ममा पनि उनले अभिनय गर्दैछन् ।

नेपालबाट पहिलोपटक ओस्कार अवार्डमा मनोनित भएको फिल्म हिमालय (क्याराभान)का उनी लाइन-प्रोड्युसर समेत हुन् । फिल्म सौन्दर्यको ज्ञान र क्रिटिकल विश्लेषणका धनी समेत रहेका शाहले फिल्मसम्बन्धी अध्ययन हुने ओस्कार कलेजको समेत स्थापना गरेका थिए ।

आजसम्म पनि नेपाली फिल्म क्षेत्रमा सक्रिय रुपमा लागिरहेका निर्माता, निर्देशक तथा अभिनेता शाहलाई जन्मदिनको शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?