+
+
भिडियो अन्तर्वार्ता :

प्रचण्डलाई चितवनबाट पठाउन चाहन्थ्यौं, कांग्रेसका साथीहरुको साथ मिल्यो : शंकर पोखरेल

प्रचण्डले चितवन छाडेर जानुलाई राजनीतिक उपलब्धि मान्ने हो भने यो मिसनमा विद्रोही कांग्रेसकै साथीहरुको पनि भूमिका थियो । त्यसलाई हामीले मान्यता दिनुपर्थ्यो । प्रचण्ड हिँडिसकेपछि उहाँहरुलाई सहयोग गर्नु आवश्यक छैन भन्ने किसिमले ठान्नु ठीक होइन । हामीले त्यसलाई रिकग्नाइज गर्नुपर्थ्यो ।

बसन्त बस्नेत बसन्त बस्नेत
२०७९ असोज २७ गते १३:४३

२७ असोज, काठमाडौं । दाङमा मनोनयन दर्ता सकेर काठमाडौं ओर्लिएलगत्तै नेकपा एमालेका महासचिव शंकर पोखरेल अनलाइनखबरसँग अन्तर्वार्ताका लागि तयार भए । यसअघि प्रदेशसभामा चुनाव लडेर लुम्बिनीको पहिलो मुख्यमन्त्री बनेका उनी यसपल्ट प्रतिनिधिसभामा आउने कोशिसमा छन् ।

पोखरेल दाङ २ बाट सत्ता गठबन्धनकी माओवादी उम्मेदवार रेखा शर्मासँग प्रतिस्पर्धा गर्दैछन् । आसन्न चुनावका लागि एमालेको टिकट वितरणमा उनी अध्यक्ष केपी ओलीपछि सर्वाधिक हाबी भएको चर्चा छ ।

त्यसै सन्दर्भमा हाल टिकट वितरणमा उत्पन्न असन्तुष्टि र विद्रोह, कांग्रेस माओवादीसहितको गठबन्धनविरुद्ध एमालेले बनाएको अर्को गठबन्धनलगायत विषयमा पोखरेलसँग अनलाइनखबरको कुराकानी :

चुनावी अभियान कस्तो चल्दै छ ?

राम्रोसँग चल्दै छ । अहिले राष्ट्रिय राजनीतिमा नीतिगत नेतृत्वलाई स्थापित गर्ने कि गठबन्धनलाई स्थापित गर्ने भन्ने प्रश्न मुख्य छ । त्यसै अनुरुप हामी एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाएर नीतिगत नेतृत्वलाई स्थापित गर्ने दौरानमा छौं ।

गठबन्धन त तपाईंहरुले पनि गर्नुभयो होइन र ?

हामीले जित सुनिश्चित गर्न तालमेल गरेका हौं । १६५ सिटमध्ये १४० सिटजतिमा कम्तीमा जित्नका लागि त्यो आवश्यक देखियो । त्यसैले हाम्रो गठबन्धन होइन, तालमेल मात्रै हो ।

हामीले १६५ सिटमै समझदारी गरेको होइन । तालमेल गरेका दलहरुसँगै अरु क्षेत्रमा प्रतिस्पर्धासमेत छ । त्यसैले यसलाई गठबन्धन भनेर बुझ्न मिल्दैन । मधेश प्रदेशका हकमा जसपासँग तालमेल गरेका हौं ।

राप्रपासँग पनि गर्नुभएको छ नि ?

उहाँहरुसँग तीन सिटमा तालमेल भएको हो । त्योभन्दा बढ्ता छैन ।

अर्को राप्रपाका कमल थापालाई सूर्य चिह्नबाटै लडाउनुभयो नि ?

उहाँले हाम्रो नीति कार्यक्रमलाई स्वीकार गरेको अवस्था हो । हामीले उहाँको कार्यक्रम स्वीकार गरेको होइन । स्थानीय चुनावमा पनि हामीले कतिपयलाई यस्तो स्वीकृति दिएका थियौं ।

दुई साता अघिसम्म तपाईंहरु गठबन्धनका नाममा ढोडको वैशाखी टेक्ने होइन, एक्लै लड्ने कुरा गर्दैहुनुहुन्थ्यो । तर जसपा, राप्रपाका दुवै खेमा, कांग्रेस बीपी र कांग्रेसका बागीहरुलाई सँगै लिएर हिँड्दै हुनुहुन्छ नि ?

बहुमतलाई सुनिश्चित गर्ने कोशिस हो यो । हामीले २०–२२ सिट छोडयौं भन्नुको अर्थ राष्ट्रिय शक्ति निर्माणको उद्देश्यबाट बाहिर गयौं भन्ने होइन । हामी अहिले पनि एक्लै नै हिँडेका छौं । ठाउँ विशेषमा तालमेल गरेका मात्रै हौं ।

कांग्रेसका बागीहरुलाई चितवन, डडेलधुरामा सघाउने रणनीति बनाउनुभएछ, होइन ?

चितवनमा विगतदेखि जुन प्रकारको राजनीतिक अभ्यास भइरहेको छ, त्यसविरुद्धको लडाइँमा सफलता हासिल गर्नु आवश्यक थियो । त्यसै हिसाबले हामीले फराकिलो किसिमको नीति अवलम्बन गर्ने योजना बनायौं ।

त्यसैले प्रचण्ड लामो तयारीका बाबजुद चितवनबाटै बाहिरिनुभयो । उहाँले जिल्ला छाडेर जानुलाई राजनीतिक उपलब्धि मान्ने हो भने यो मिसनका विद्रोही कांग्रेसकै साथीहरुको पनि भूमिका थियो ।

त्यसलाई हामीले मान्यता दिनुपर्थ्यो । प्रचण्ड हिँडिसकेपछि उहाँहरुलाई सहयोग गर्नु आवश्यक छैन भन्ने किसिमले ठान्नु ठीक होइन । हामीले त्यसलाई रिकग्नाइज गर्नुपर्थ्यो ।

उसो भए प्रचण्डलाई चितवनबाट गोरखा पठाउन तपाईंहरुबीच अघोषित लेनदेन भएछ ?

लेनदेन होइन । वास्तवमा चितवनमा तीन चुनावयता जे भयो, त्यो चुनावका बारेमा हाम्रा आफ्नै बुझाइ छन् । नेपालको लोकतन्त्रका लागि ती दुर्भाग्यपूर्ण छन् भन्ने हामी ठान्छौं । लोकतन्त्र रक्षा गर्न त्यो प्रवृत्तिलाई पराजित गर्नुपर्छ भन्ने साझा बुझाइ हाम्रो र कांग्रेसका साथीहरुको थियो ।

खासमा हेर्नुभो भने, त्यो विद्रोही कांग्रेसजस्तो लाग्छ । तर हामीले साथ दिएको चितवन कांग्रेसलाई हो, विद्रोही कांग्रेसलाई होइन ।

कांग्रेसको केन्द्रले भनेको नमान्ने चाहिँ तपाईंहरुका लागि आधिकारिक कांग्रेस, अनि काठमाडौंले गरेका निर्णय शिरोपर गर्ने चाहिँ अनाधिकारिक ?

आधारभूत रुपमा त्यो चितवनको कांग्रेस हो, जसले लोकतन्त्रको पक्षमा आफूलाई उभ्यायो । मैले कांग्रेसका साथीहरुलाई भन्दै आएको छु, नेपालको राजनीतिमा कांग्रेस र एमाले गरी दुईवटा ध्रुव हुनुपर्छ । उनीहरुकै बीचमा प्रतिस्पर्धा हुनुपर्छ । डडेलधुरामा पनि त्यही हो । कांग्रेसका नीतिहरुका पक्षमा उभिने कांग्रेसका साथीहरुलाई हाम्रो शुभेच्छा छ ।

कांग्रेसमा विद्रोह गर्नेहरुको बारेमा यत्रो शुभेच्छा रहेछ, एमालेमा विद्रोह गर्नेहरुका बारेमा तपाईंहरुको के धारणा छ ?

तपाईंले जुन साथीहरुको बारेमा इंगित गर्दै हुनुहुन्छ । संसदीय राजनीतिमा ह्वीपको ठूलो अर्थ हुन्छ । साथीहरुले संसदीय मूल्यलाई बोक्न सक्नुभएन । ह्वीप पालना गर्नेमा समस्या भयो नै, रियलाइजेसन पनि देखिएन ।

यस्तो अवस्थामा फेरि संसदमा जाने कुराको के अर्थ हुन्छ ? बहस पार्टीमा गर्ने हो, संसदमा होइन । संसदमा त पार्टी नीतिहरुको कार्यान्वयन गर्ने हो । त्यसैले यस्ता कुरालाई उचित मान्न सकिँदैन ।

यी बहसहरु संसद विघटनसँग जोडिन्छन् होइन ?

होइन, पार्टीभित्रको अन्तर्संघर्षको असर संसद विघटनमा परिणामस्वरुप देखिएको हो । विघटनको अन्तर्य जनताबाट प्राप्त म्यान्डेटको रक्षाको प्रश्न थियो ।

यसबारेमा टिकट नपाउने भीम रावल, घनश्याम भूसालहरुसँग बसेर नेतृत्वले छलफल गर्‍यो ?

गर्‍यो । १० बुँदे सहमति त्यही हो । अबदेखि पार्टी नीतिलाई मान्ने भनेर १० बुँदे गरेको हो । तर पालना गर्नमा समस्या रह्यो । संसदमा पार्टीले बहिस्कार गर्दा रावलजी सहभागी हुनुभएन । उहाँले आफैं मूल्यांकन गर्नुपर्छ, म पार्टी नीतिमा रहेर संसदीय अनुशासन कायम गरेँ कि गरिनँ भनेर ।

घनश्याम भूसालले टिकट नपाएको सन्दर्भ चाहिँ के हो ?

करिब रावलजीकै जस्तो हो । तर त्यहाँ चुनावलाई अनुकुल बनाउने हो भने राप्रपासँग तालमेल आवश्यक छ भन्ने पार्टी कमिटीको बुझाइ रह्यो । यसरी मिलाउने क्रममा उहाँको क्षेत्र राप्रपालाई दिनुपर्ने अवस्था आयो । उहाँले चुनाव लड्ने मानसिकता बनाउनुभएको थिएन ।

एक महिनाअघि पार्टीको रुपन्देही जिल्ला कमिटीले कार्यकर्ता र समर्थकहरुसँग सांसद तथा जनप्रतिनिधिहरुको अन्तक्र्रिया राखेको थियो । त्यसमा उहाँ जाँदै जानुभएन । त्यसपछि पार्टीको स्थानीय कमिटीले उहाँ चुनाव लड्न गइराख्नुभएको छैन भन्ने ठान्यो । त्यसैले नियतवश उहाँलाई टिकट नदिएको होइन, राप्रपाका लागि छाड्नुपर्ने भएकाले त्यसो गर्नुपर्‍यो ।

तर उहाँले पार्टी परित्याग गरेर उम्मेदवारी दिनुभयो नि ?

उहाँ साँच्चिकै साहसी क्रान्तिकारी नेता भएको भए पहिले जितेकै क्षेत्रमा स्वतन्त्र उठ्नुपर्थ्यो । दीपक बोहरा, बालकृष्ण खाँणविरुद्ध नै उठ्ने हिम्मत गर्नुपर्थ्यो । तर उहाँ त अर्को क्षेत्रमा जानुभयो ।

नेपालमा पछि परेको दलित समुदायबाट पार्टीले अगुवा नेता छविलाल विश्वकर्मालाई उम्मेदवार उठाउँदा त्यसकै विरुद्धमा उभिनुभयो । भूसाल आफ्नै सैद्धान्तिक अडान र आदर्शबाट विचलित हुनुभयो ।

जुन पात्रहरुले पञ्चायतका बेला प्रहरी प्रशासनसमेत लगाएर आफ्ना साथीहरुमाथि जाइलागे, तिनले टिकट खुरुखुरु पाउने । तर अघिल्लो चुनाव जितेका आफ्नै साथीहरु टिकटबाट बञ्चित हुनुपर्ने अवस्था कसरी सिर्जना भयो ?

उहाँहरु अलग पार्टीका हुनुहुन्छ, जोसँग तालमेल भएको हो । अर्को पार्टीमा गएर एमालेले पार्टी नीति कार्यान्वयन गराउँदैन । त्यसैले मापदण्ड नै अलग हो । तर आफ्नो पार्टीभित्र विधि र अनुशासन स्थापित गर्ने कुरा चाहिँ अलग हो । त्यसैले दुई कुरालाई एकै ठाउँ राखेर हेर्न मिल्दैन ।

तर पार्टीलाई तपाईंहरु आन्दोलनको नेता भन्नुहुन्छ । आन्दोलनको पक्ष चाहिँ दण्डित हुने, आन्दोलनविरोधी पक्षचाहिँ नेतृत्वबाट पुरस्कृत हुने अवस्था सर्वसाधारणको आँखामा अलिक कस्तो लाग्दोरहेछ ।

राजनीतिक परिवर्तनपछि पहिलेकै चिज पुरानो अवस्थामा रहँदैन । स्वतः ध्रुवीकरण भइहाल्छ । पुरानै चिज रहने भए पञ्चायत नै रहिराख्थ्यो । अहिले रुपान्तरण भएको अवस्थामा उहाँहरु नयाँ संवैधानिक व्यवस्था र कानुनअन्तर्गत हुनुहुन्छ ।

यो चुनावमा एमालेले कति सिट ल्याउला ?

हामी प्रत्यक्षमा सय सिट, समानुपातिकमा ५० सिट ल्याउने छौं । हाम्रो आन्तरिक आकलन यस्तो छ । पहिलेभन्दा अझै राम्रो गर्छौं हामी । कांग्रेस र माओवादी पहिलेभन्दा सानो साइजमा आउने छन् ।

पोखरेलसँगको पूरा अन्तर्वार्ता यो भिडियोमा हेर्नुहोस्

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?