+
+
अन्तर्वार्ता :

राखेप सदस्यसचिवलाई प्रश्न : राष्ट्रिय खेलकुदको तयारी सधैं हतारमै किन हुन्छ ?

कुशल तिमल्सिना गोविन्दराज नेपाल कुशल तिमल्सिना, गोविन्दराज नेपाल
२०७९ असोज २७ गते २२:१३

२७ असोज, पोखरा । बृहत नवौं राष्ट्रिय खेलकुदको शुक्रबार पोखरामा उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने तालिका छ । ३६ खेलका ६ हजार १५७ खेलाडी सहभागी हुने प्रतियोगिताको तयारी अन्तिम समयमा हतारमा भइरहेको छ । गण्डकी प्रदेशका आठ जिल्लामा आयोजना हुने प्रतियोगिताका अधिकांश खेलहरु कास्कीमै हुनेछन् ।

२०७६ वैशाखमा आठौं राष्ट्रिय खेलकुदको समापनका क्रममा गण्डकीलाई नवौंको आयोजनास्थल निर्धारण गरिएको थियो । दुईपटक सारेर गत जेठ अन्तिम साता निर्धारण गरिएको प्रतियोगिता पनि तयारी नपुगेको भन्दै असोजका लागि सारिएको हो । तर अघिल्ला प्रतियोगिताहरुमा जस्तै नवौं खेलकुदका लागि पनि पर्याप्त समय हुँदा तयारी र व्यवस्थापनमा भने समस्या देखिएको छ ।

यसबारे प्रतियोगिताको तयारीकै लागि एक सातादेखि पोखरामै रहेका राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव टंकलाल घिसिङसँग गरिएको कुराकानीको सम्पादित अंश :

राष्ट्रिय प्रतियोगिताको तयारी र व्यवस्थापन किन हतारमै हुन्छ ?

हाम्रो परम्परा र आफ्नो जिल्लामा खेल हुनुपर्छ भन्ने सम्बन्धित जिल्ला र स्थानीय तहको मागलाई समेट्ने प्रयास गरेकै हौं । त्यहाँ भएका पूर्वाधारमाहरु खेल सन्चालन योग्य बनाउनका लागि हतारो परेकै हो । पोखराभित्रै सम्पन्न गर्न ठूलो समस्या थिएन । मूल आयोजक शहर त पोखरा नै हो ।

अर्को, जेठबाट असोजमा प्रतियोगिता सार्दै गर्दा बीचको दुई महिना बर्खा मौसम थियो । र, हाम्रो अपेक्षाभन्दा धेरै लामो समयसम्म वर्षात् भइदियो । त्यसले गर्दा हामीले तयार गरिसकेका वा तयारी अन्तिम चरणमा पुगेका केही खेलस्थलहरुमा पनि क्षति पुग्यो । म आफैं पनि काठमाडौंबाट यहाँ आउनका लागि दुई दिन लाग्यो । अन्यथा मूलभूत रुपमा अन्य तयारी बेलैमा सम्पन्न गरेका छौं ।

फुटबल खेलाइएको गोष्टेघाट होस् वा हकीका लागि छुट्याइएको हेम्जा मैदान होस्, तर, पोखरामै पनि खेल पूर्वाधारहरु राष्ट्रिय प्रतियोगिताका लागि उपयुक्त देखिँदैन त ?

गोष्टेघाटमा मैदान तयारी अवस्थामै थियो र प्राविधिकहरुलाई देखाएर खेलस्थल निर्धारण गरिएको हो ।

हेम्जाको मैदान राखेपकै लगानीमा निर्माण भएको हो र खेल खेलाउन योग्य छ । त्यहाँ घाँस काट्ने र रोलिङ गरेर सम्म पार्नुपर्ने काम थियो । प्रतियोगिताको जति नजिक घाँस काट्यो, त्यति सजिलो हुने भएकाले अन्तिम समयमा गरेका हौं । यसले खेल सञ्चालनका निमित्त तालिका हेरफेर हुने गरी असर गर्दैन ।

महिला बास्केटबल त अन्तिम समयमा तनहुँ किन सार्‍यो नि ?

हो, महिला बास्केटबल यहीँ गर्ने निर्णय गरेका थियौं । तर कास्कीसँग जोडिएको जिल्लामा एउटा पनि खेल आयोजना नहुने स्थिति आएको भनेर त्यहाँका साथीहरुले गुनासो गर्नुभयो । त्यसअनुसार हामीले तनहुँमा गर्ने निर्णय गरेका हौं ।

यसरी हेर्दा राष्ट्रिय खेलकुदको इभेन्ट आयोजना गर्न सम्बन्धित स्थानीय सरकार आफैं जागरुक हुनुपर्छ भन्ने सन्देश र नजिर स्थापना गर्ने काम नवौं खेलकुदले गरेको छ ।

संसारमा हेर्नुभयो भने ठूलठूला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने अधिकारका लागि एउटा सिटीले दाबी गर्छ । हामी कहाँ भने आठौं खेलकुदसम्म राष्ट्रिय खेलकुद हुने भनेपछि सबैकुरा राखेपले तयार गरिदिनुपर्छ भन्ने मान्यता रह्यो ।

सरसफाइदेखि रंगरोकनसम्म सबै कामका लागि केन्द्रकै मुख ताक्ने परिपाटी रह्यो । मुलुक संघीयतामा गएको छ र तीन तहको सरकार छ । आफ्नो शहरमा राष्ट्रिय गौरवका प्रतियोगिता आयोजना गर्न प्रतिस्पर्धात्मक रुपमा उत्रिनुपर्छ भन्ने सन्देश यसपटक हामीले दिएका छौं ।

तर नवौं राष्ट्रिय खेलकुदको माहोल सिर्जना गर्न गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले समयमै आवश्यक कदम नचालेको, समन्वय नभएको गुनासो पनि सुनिन्छ ?

समन्वयमा कुनै समस्या छैन । तर जहाँसम्म कार्यसम्पादनको प्रश्न छ, हामीले आग्रह गर्ने हो, बाध्यकारी बनाउन सकिँदैन । हाम्रो आग्रहअनुसार उहाँहरुले स्वागत गेट निर्माण गर्नुभएको छ । केही प्रतीकात्मक कार्यक्रमहरु सञ्चालन गर्नुभएको छ ।

यो महानगरमा राष्ट्रिय खेलकुद सञ्चालन भइरहँदा अपेक्षाकृत कार्यसूची भनेको १४ वटा हो । मैले त्यो कार्यसूची आजभन्दा दुई महिना अगाडि नै पेश गरिसकेको छु । त्यसअघि धेररैपल्ट हाम्रो बैठक भएको छ । कार्यकारी समितिको सचिवालय उद्घाटन मेयरसा’बले नै गर्नुभएको हो । त्यसैले हामी सबैजना सँगै छौं ।

कुन मात्रामा हुनुपर्ने थियो ? कति भयो ? र, किन गर्नुभएन ? भनेर नाप्ने यन्त्र चाहिँ मसँग छैन । प्रदेश र स्थानीय सरकारको नेतृत्वलाई मैले निर्देशन दिन पनि मिल्दैन ।

३६ खेल र ६ हजारभन्दा बढी खेलाडी समावेश गरेर अहिलेसम्मकै बृहत त भनिएको छ । तर खेलाडीले राम्रो खेलपोशाक पाएका छैनन्, मेडल छैन, अनधिकृत खेलाडी टिममा समावेश गरिएको आरोप लागेको छ । यो त अलि भद्रगोल नै भएन र ?

हामीले बीचको बाटो रोज्यौं । खेलाडी छनोटको काम प्रदेशलाई नै दियौं । सहभागी हुने टिमको प्रशिक्षण, खेल पोशाक, खेल सामग्री, पोशाकको व्यवस्था गर्ने जिम्मा सम्बन्धित टिमलाई दियौं । अब दशौं राष्ट्रिय खेलकुददेखि त्यसो हुनुहुँदैन । यसका लागि कार्यविधि तथा निर्देशिकामा आवश्यक संशोधन गर्छौं ।

प्रदेशलाई खेलाडी छनोटको अधिकारमात्र दिनुभयो, बाँकी आफैंमा राख्दा यो यस्तो भएको हो कि ?

छनोट र तयारीका लागि केन्द्रबाट अख्तियारी दिएपछि प्रदेश सरकारहरुले यहाँसम्म सहभागिता जनाउनुभएको छ, त्यसका लागि उहाँहरु धन्यबादको पात्र हुनुहुन्छ ।

यसो भनिरहँदा राष्ट्रिय खेलकुद प्रतियोगिता त केन्द्रको हो, हामीले किन छनोट गर्ने ? हामीले किन तयारी गर्ने ? हामी किन जागरुक हुने ? जस्ता विचारमा प्रतिविम्वहरु पनि देख्नुपर्‍यो, भोग्नुपर्‍यो । यो आफैंमा दुर्भाग्यपूर्ण हो । किनभने यहाँ त प्रदेशका टिमहरुबीच स्वस्थ प्रतिस्पर्धा हुने हो ।

आफ्नो टिम कसरी राम्रो बनाउने भनेर प्रतिस्पर्धा हुनुपर्नेमा टिम निर्माण र तयारीका लागि बेलैमा बजेट छुट्याउने समेत कतिपय प्रदेशका नेतृत्व इच्छुक हुनुभएन । अहिले अन्तिम समयमा आएर बुझ्दै हुनुहुन्छ । तर मलाई विश्वास छ, सबै सहभागी टिमहरुले उच्च र व्यवस्थित तयारी गरेर यहाँ आउनुभएको छ ।

यसपल्ट एउटा टिमलाई ७०९ जनाको खेलाडी कोटा निर्धारण गरिएको थियो, तर कुनै पनि टिमले पुरा गरेका छैनन् । राष्ट्रव्यापी रुपमा बृहत सहभागिता हुन नसकेको हो ?

हाम्रो आह्वान ३६ खेलको सबै इभेन्टमाा सहभागी हुनुहोस भन्ने हो । तर कुन खेलमा कति खेलाडी सहभागी गराउने भन्ने सहभागी टिमको अधिकारको हो । उहाँहरुलाई हामीले प्रष्ट भनेका छौं, ११ टिममध्ये कम्तीमा चारवटा टिमको कुनै पनि स्पर्धामा सहभागिता भएन भने त्यो स्पर्धाको पदक गणना हुँदैन ।

बजेटको निकासीमा ढिलाई भएकाले पनि तयारीमा समस्या भएको हो ?

नेपाल सरकारले ६० करोड रुपैयाँ बजेट छुट्याइएको हो । जेठमा प्रतियोगिता नहुँदा र१० लाख रुपैयाँमात्र बजेट छुट्याउँदा धेरैलाई लागेको थियो, सरकारले प्राथमिकता दिएन । तर नवौंका लागि आवश्यक बजेट उपलब्ध गराउने भनेर पनि वक्तव्यमा उल्लेख थियो । सोही अनुसार अर्थ मन्त्रालयले भदौमै १० करोड रुपैयाँ निकासा गरेको थियो । बाँकी ५० करोड पनि निकासा भइसकेको छ ।

समारोह र आवास व्यवस्थापनका लागि सार्वजनिक खरिद नियमावली अनुसार टेण्डर आह्वान गरिएन । यसबारे भोलि प्रश्न उठ्छ, जवाफ दिनुपर्छ भन्ने लाग्दैन ?

उद्घाटन र समापन गरी दुई समारोह हुन्छन् । यसमा मसिना र खुद्रा कामहरु धेरै हुने रहेछ । त्यसलाई एकमुष्ट गरेर टेण्डर निकाल्न पनि नमिल्ने रहेछ । फरक फरक काम गर्दा सार्वजनिक खरिद प्रक्रियाअनुसार नै गर्न भनेर निर्देशन दिएको छु । विशेष अवस्थामा हाम्रो खरिद प्रक्रियामा भएको अन्य व्यवस्थाअनुसार काम हुनेछ । व्यवस्था विपरीत काम हुन दिने छैन ।

उद्घाटनको कार्यतालिका कस्तो छ ?

साढे तीन बजेदेखि रंगशालाका सबै गेटहरु खोलिनेछ । सर्वसाधारणका लागि । म सम्पूर्ण कास्कीबासीमात्र नभई देशभरका नेपालीलाई आग्रह गर्न चाहन्छु कि वौं राष्ट्रिय खेलकुदको उदघाटन समारोह प्रत्यक्ष हेर्न आउनुस् । साधारणतर्फको प्यारापिटमा प्रवेश गर्न कुनै समस्या हुने छैन । साढे चार बजे उपराष्ट्रपतिको आगमन हुनेछ । उहाँको आगममनसँगै कार्यक्रमको औपचारिक सत्र आरम्भ हुनेछ ।

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?