+
+

उत्खनन गरेको टुकुचा अलपत्र छाड्दा भासिन थाल्यो जमिन

उत्खनन पछि टुकुचा खोलालाई अलपत्र छाड्दा कतिपय क्षेत्रमा जमिन भासिन थालेको छ ।

अमृत चिमरिया अमृत चिमरिया
२०७९ असोज २८ गते १९:०५

२८ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले उत्खनन गरेको टुकुचा खोलालाई अलपत्र छाड्दा कतिपय क्षेत्रमा जमिन भासिन थालेको छ । जयनेपाल हलको प्रांगण खनेर हात्तीसारमा टुकुचा खोला उत्खनन अभियान सुरु गरेको काठमाडौं महानगरपालिकाले हाल यो काम रोकेको छ । तर खनेको क्षेत्रमा भने जमिन भासिन थालेको हो ।

जय नेपाल हलको कम्पाउण्ड नजिक टुकुचा खोलाको वरिपरिको क्षेत्र भासिँदै जाँदा फुटपाथ पनि प्रयोग गर्न नमिल्ने भएको छ । ‘महानगरले टुकुचा खोतल्यो, अहिले अदालत देखाएर छोडेको छ । अब हेर्नु यहाँ कति बिजोग छ’, हात्तीसार क्षेत्रका स्थानीय वासिन्दा न्हुच्छे महर्जन भन्छन् ।

उनका अनुसार गत हप्ता पानी परेका बेला टुकुचामा पानीको बहाव बढेर उत्खनन गरेको ठाउँमा ताल बनेको थियो । ‘डोजरले खोला राखेको गुम्बज भत्काएपछि त्यहाँबाट पानी बाहिर आउँदा वरिपरिको क्षेत्र पुरै भरिन्छ । फेरि टुकुचामा सफा पानी आउँदैन, पानी रोकिएर घामलाग्दा वरिपरि बस्न नसक्ने गरी गन्हाउँछ’ महर्जनले भने ।

गत हप्ता वर्षापछि टुकुचामा बाढी आउँदा हात्तीसारमा लक्ष्मी बैंक नजिकको क्षेत्र जलमग्न भएको थियो । सिद्धार्थ बैंकको पार्किङ क्षेत्रमा टुकुचाको पानी बाहिर निस्किएको बैंकका सुरक्षाकर्मीहरु बताउँछन् । बैंकको पार्किङ क्षेत्रमा उत्खनन भएको टुकुचा खोला छोप्न ठूलो फलामको प्लेट राखिएको छ ।

टुकुचा उत्खनन गर्ने भन्दै महानगरले डोजर लगाएर भत्काएको पर्खाल अहिले स्थानीय बासिन्दाले पुनः मर्मत गर्न थालेका छन् । टुकुचा उत्खननको क्रममा पर्खाल भत्केपछि पुनः टालटुल गरेर सञ्चालन गरिरहेका एक क्याफे सञ्चालक भन्छन्, ‘तपाईंहरुको संरचना अवैध हो, यो मुनि टुकुचा बगिरहेको छ भनेर उहाँहरुले हटाउन लगाउनुभयो । पर्खाल पनि भत्काइदिए, खै हामीलाई दुःख मात्रै दिएको हो कि ? अहिले भत्काएको ठाउँमा पाल टाँगेर, ब्यानरहरु हालेर छोपेका छौं ।’

काठमाडौं महानगरपालिकाका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले वर्षा भएका बेला टुकुचामा बाढी आउनु स्वभाविक भएको बताए । ‘अहिले अदालतले स्टे (टुकुचा खोला उत्खनन नगर्न अन्तरिम आदेश) दिएका कारणले हामीले थप काम गर्न पाएका छैनौं, तर खोला माथि घर बनाउँदा वर्षामा ओभरफ्लो हुने कुरा त सामान्य नै हो’ उनले भने ।

जय नेपाल हल छेउको फुटपाथ संरक्षणका लागि अस्थायी पर्खाल लगाइने उनले बताए । खोला देखिने गरी कम ठाउँमा मात्रै गुम्बज फुटाइएकाले ओभरफ्लो र दुर्गन्धको समस्या धेरै नरहेको लम्सालले तर्क गरे । ‘खोला नै देखिने गरी गुम्बज फुटाएको जम्मा ३० मिटर जति होला, अन्य स्थानमा हामीले खोला माथिको संरचना मात्रै हटाएका हौं’ उनले भने ।

अदालतको आदेशपछि उत्खनन रोकियो

काठमाडौं महानगरपालिकाले टुकुचा खोला उत्खनन गर्न थालेपछि वरपरका घरधनीहरुले उच्च अदालत पाटनमा रिट दिएका थिए । उक्त रिटमा अदालतले २ असोजमा टुकुचामाथिका संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो । आदेशपछि महानगरपालिकाले उत्खनन गरेको ठाउँ अलपत्र छाडेको छ ।

 

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?