+
+

चिनियाँ कम्युनिस्ट पार्टीको २०औं महाधिवेशन : फेरिएला नेतृत्व ?

हाल पार्टीको उच्च तहमा रहनका लागि ६८ वर्षे उमेरहदसम्बन्धी व्यवस्था बाँकी नै छ, जुन लागू भएको खण्डमा ६९ वर्ष पुगेका महासचिव सीसहित पार्टीको स्थायी कमिटी र पोलिटब्यूरोमा रहेका अधिकांश नेताहरू नेतृत्वबाट बाहिरिने छन् । त्यसैले कम्तिमा सीका लागि मात्रै भए पनि उमेरहदसम्बन्धी व्यवस्थामा केही फेरबदल हुने निश्चित छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २९ गते ८:५३
चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव एवम् राष्ट्रपति सी जिनपिङ

२९ असोज, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं राष्ट्रिय महाधिवेशन आइतबार (१६ अक्टोबर) चीनको राजधानी बेइजिङस्थित तियानमेन स्कवायरमा रहेको ग्रेट हल अफ द पिपुलमा सुरू हुँदैछ । पार्टी स्थापना भएको १०१ वर्षको इतिहासमा सीपीसीको सर्वोच्च अंग मानिने महाधिवेशनको २०औं संस्करण सुरू हुन लागेको हो, जुन हरेक पाँच वर्षमा एकपटक आयोजना हुन्छ ।

यो महाधिवेशनबाट सीपीसीले विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक चीनलाई अबका पाँच वर्षसम्म हाक्ने राजनीतिक र सैन्य नेतृत्व चुन्नेछ भने त्यो अवधीमा गरिने योजनाहरू पारित गर्नेछ ।

महाधिवेशनमा देशभरबाट सीपीसीका करिब २३ सय प्रतिनिधि सहभागी हुनेछन् । हाल देशभर सीपीसीका ९ करोड २० लाखभन्दा बढी पार्टी सदस्य रहेका छन् । विभिन्न कमिटीबाट पार्टी सदस्यले चुनेर पठाएका प्रतिनिधिहरू महाधिवेशनमा सहभागी हुने व्यवस्था सीपीसीको विधानमा गरिएको छ । देशका विभिन्न स्थानबाट पार्टीको महाधिवेशनमा सहभागी हुन तोकिएका प्रतिनिधिहरू राजधानी बेइजिङ आउनेक्रम गत बिहीबारदेखि नै सुरू भएको चिनियाँ सरकारी सञ्चार माध्यमहरूले जनाएका छन् ।

गत ३१ अगस्टमा बसेको पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोले प्रस्ताव गरेको महाधिवेशनको मितिलाई ९ अक्टोबरमा बसेको केन्द्रीय समितिको अन्तिम बैठकले अनुमोदन गरेको थियो । निर्धारित समयमा सम्पन्न हुने सीपीसीको राष्ट्रिय महाधिवेशन एक हप्ताअघि मात्रै तय भए पनि पूर्व तयारीका कारण तोकिएको छोटो समयमा नै सम्पन्न हुँदैछ । महाधिवेशन आउँदो एक हप्ता चल्नेछ ।

तेस्रो कार्यकाल महासचिव बन्लान् सी ?

महाधिवेशन उदघाटन सत्रलाई चिनियाँ राष्ट्रपति तथा सीपीसीका महासचिव सी जिनपिङले विशेष सम्बोधन गर्ने कार्यक्रम छ, जहाँ उनले गएको पाँच वर्षमा भएका कामको प्रगति विवरण र आउने पाँच वर्षमा गरिने कामहरूको फेहरिस्त प्रस्तुत गर्नेछन् ।

सी तेस्रो पाँच वर्षे कार्यकाल पनि आफैं चलाउने मनस्थितिमा छन् । चिनियाँ सरकारी सञ्चार माध्यमहरूका अनुसार अहिलेसम्म उनको प्रतिद्वन्द्वीका रूपमा कोही दोस्रो व्यक्ति अगाडि सर्ने सम्भावना देखिएको छैन ।

त्यसपछि पार्टीको सातौँ प्लेनमले अनुमोदन गरेको केन्द्रीय समितिको प्रतिवेदन, पार्टी केन्द्रीय अनुशासन आयोग (सीसीडीआई) को प्रतिवेदन र पार्टी विधान संसोधनका लागि तयार पारिएका प्रस्तावहरू पेस हुने जनाइएको छ । चीनको राज्य सञ्चालन गर्ने मुख्य दस्तावेज नै सीपीसीको विधान हो । जसले निदृष्ट गरेका क्षेत्राधिकारभन्दा बाहिर गएर कुनै पनि कार्य सञ्चालन गर्न मिल्दैन ।

महाधिवेशनबाट पार्टी महासचिव, केन्द्रीय सैन्य आयोग (सीएसी) अध्यक्ष र सीपीसीका ३७० जना केन्द्रीय सदस्य चयन हुनेछन् । जसमा २०० जना मताधिकार प्राप्त केन्द्रीय सदस्य हुन्छन् भने १७० जना मताधिकार विहिन वैकल्पिक केन्द्रीय सदस्य हुन्छन् । साथै महाधिवेशनबाट चुनिएको केन्द्रीय समितिले पार्टीका २५ जना पोलिटब्यूरो सदस्य चयन गर्नेछ ।

करिब एक हप्तासम्म चल्ने उक्त महाधिवेशनपछि पार्टीको पहिलो केन्द्रीय समिति अर्थात प्लेनमबाट ती २५ जना पोलिटब्यूरो सदस्य चयन हुनेछन् । त्यसपछि नवनिर्वाचित उक्त पोलिटब्यूरोको बैठकबाट २५ जनामध्ये ७ जना स्थायी कमिटीमा चुनिनेछन् ।

अहिले पार्टीको महासचिव र केन्द्रीय सैन्य आयोग (सीएसी) को अध्यक्ष दुवै प्रमुख पदमा चीनका राष्ट्रपतिसमेत रहेका सी जिनपिङ छन् । चीनको कम्युनिस्ट पार्टीले नै त्यहाँको सरकार चलाउँछ । पार्टीको महासचिव सबभन्दा बढी शक्तिशाली हुने हुँदा राज्य सञ्चालक अर्थात, राष्ट्रपति पनि उही व्यक्ति हुन्छ ।

सीले सन् २०१२ मा पहिलोपटक पार्टी र मुलुकको नेतृत्व सम्हालेका थिए । त्यसयता दोस्रोपटक सन् २०१८ मा पनि सी दुवै शक्तिशाली पदमा दोहोरिए । आफ्नो नेतृत्वमा चीनले विश्व शक्ति राष्ट्रहरूसँग प्रतिस्पर्धा गरेर आर्थिक र सैन्य क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेपछि लोकप्रिय बनेका सी तेस्रो पाँच वर्षे कार्यकाल पनि आफैं चलाउने मनस्थितिमा छन् । चिनियाँ सरकारी सञ्चार माध्यमहरूका अनुसार अहिलेसम्म उनको प्रतिद्वन्द्वीका रूपमा कोही दोस्रो व्यक्ति अगाडि सर्ने सम्भावना देखिएको छैन ।

त्यसका लागि पार्टीको विधानले तय गरेको उमेर हदको व्यवस्था सीले यसपटक बदलेर आफू अनुकुल बनाउने अनुमान गरिएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्यूरो र स्थायी कमिटीलगायत उच्च पदमा रहनका लागि ६८ वर्षको उमेरहद राखिएको छ ।

उनले यसअघि सन् २०१७ मा सम्पन्न पार्टीको १९औं राष्ट्रिय महाधिवेशनबाटै नेतृत्व परिवर्तनका लागि दुई कार्यकाल अर्थात दश वर्ष समय र ६५ वर्षे उमेरहदको व्यवस्थालाई विधानबाट हटाइसकेका छन् । हाल पार्टीको उच्च तहमा रहनका लागि ६८ वर्षे उमेरहदसम्बन्धी व्यवस्था बाँकी नै छ, जुन लागू भएको खण्डमा ६९ वर्ष पुगेका महासचिव सीसहित पार्टीको स्थायी कमिटी र पोलिटब्यूरोमा रहेका अधिकांश नेताहरू नेतृत्वबाट बाहिरिने छन् । त्यसैले कम्तिमा सीका लागि मात्रै भए पनि उमेरहदसम्बन्धी व्यवस्थामा केही फेरबदल हुने निश्चित छ ।

कस्तो छ विगत ५ वर्षको समीक्षा ?

चीनले गएको पाँच वर्षमा असाधारण प्रगति हासिल गरेको निष्कर्ष सीपीसीले निकालेको छ । पार्टीको २०औं राष्ट्रिय महाधिवेशन तयारीका लागि बसेको पार्टीको सातौं केन्द्रीय समिति बैठकले अनुमोदन गरेको प्रतिवेदनमा सीको नेतृत्वमा चीनले गएको पाँच वर्षमा भएका कामहरूको मूल्यांकन गर्दै पुनः नेतृत्वमा दोहोर्याउने संकेत गरेको छ ।

बैठकले सीपीसीको १९औं राष्ट्रिय महाधिवेशन पछिका पाँच वर्ष असाधाराण र असामान्य रहेको निष्कर्ष निकालेको छ । समीक्षामा सी विचारधारद्वारा निर्देशित चिनियाँ विशेषतासहितको समाजवादलाई अंगिकार गर्दै सिंगो पार्टी, जनमुक्ति सेना र सबै समूदायका नागरिकलाई एकतावद्ध बनाएर राख्न सफल भएको भनिएको छ । यसैको जगमा पहिलो शताब्दी लक्ष्य पूरा गरेर दोस्रो शताब्दी लक्ष्य पछ्याउन अग्रसर हुने निर्णय सीपीसीको केन्द्रीय समिति बैठकले गरेको छ ।

साथै, बैठकले सीको नेतृत्वमा चीनले अन्तर्राष्ट्रिय जटिल परिस्थितिहरूको सहजै सामना गरेको भन्दै लामो समयदेखि समाधान हुन नसकेका कयौं समस्याहरू हल गर्न सफल भएको निष्कर्ष निकालेको छ ।

उक्त बैठकले गएको पाँच वर्षमा सम्पन्न भएका कामहरूले पार्टीमा सीको भूमिका उच्च स्थानमा रहेको र सी विचारधार नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवाद स्थापनाका लागि पार्टीको मार्गदर्शक विचार बनेको निष्कर्षसहित चीनको कायापलट गर्न यसलाई अगाडि बढाउने गरेको समाचार संस्था सिन्हुआले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?