+
+

धर्म, संस्कार र संस्कृति

पूर्वीय समाजमा धर्मले ब्रहाम्हण, क्षेत्री र वैश्यलाई साथ दियो । मुख्य श्रमजीवी वर्गका रुपमा रहेका शुद्रलाई चरम दमन गर्न सत्ताधारीको पक्षपोषण गर्‍यो । यो वर्गको देवत्वकरण भयो । स्वर्ग र नर्कका काल्पनिक अवधारणा विकसित भए ।

वामदेव गौतम वामदेव गौतम
२०७९ असोज २९ गते १८:१५

प्रकृतिका जटिल कृयाकलापको जानकारी नभएका अवस्थामा आदि मानवले आफ्नो रक्षाका निम्ति गरेका अन्धविश्वास जन्य कृयाकलाप पछि धर्मका रुपमा विकसित भएको हो । त्यसवेला समाजमा आर्थिक वर्गहरुको उत्पति भएको थिएन । समाज महामाताहरुको नायकत्वमा समूह समूहमा विभाजित थियो । समूहहरु आ–आफ्ना प्रभाव क्षेत्र रक्षाका निम्ति एकअर्काका विरुद्ध जीवनमरणको संघर्ष गरिरहन्थे ।

मानव जातिको विकाससंगै धर्महरुको रुप पनि परिवर्तन भएको पाइन्छ । विज्ञान र प्रविधिको विकाससंगै अन्धविश्वासका रुपमा रहेका धर्महरु पनि समाप्त हुँदै जानेछन् । धर्ममा आधारित संस्कृतिले नै राज्यलाई जन्म दिएको हो । त्यसपछि मानवजातिलाई राष्ट्रका रुपमा विकसित गर्न पनि धर्मको योगदान रहेको देखिन्छ । राज्य विस्तारका निम्ति भएका अत्यन्त क्रुर युद्धहरुले विजय हासिल गर्दै महाराज्य र राष्ट्र विकसित भएका हुन ।

तत्काल त्यस्ता कृयाकलाप अत्यन्त नकारात्मक देखिए पनि मानवजातिको समग्र विकासमा सकारात्मक देखिएको छ । मानिसका आर्थिक कृयाकलाप मानवजातिको विकासमा अत्यन्त सकारात्मक रहेको छ । त्यसले नै समाजमा आर्थिक वर्गहरुको विकास गरेको हो । त्यसबाट उत्पादन पद्धतिको विकास हुनुको साथै वर्गसंघर्ष पनि शुरु भएको हो । त्यसपछि मानवजाति अत्यन्त तिब्रगतिमा विकसित भएको छ । वर्ग संघर्षले राज्यलाई सुदृढ गर्नुका साथै मानवजातिको विकास पनि गरेको छ ।

अहिले पनि धर्महरु छन् र धर्महरुले विकास गरेका सांस्कृतिक पक्ष बढि प्रभावी रहेका छन् । धर्मले विकास गरेका संस्कृतिले वैज्ञानिकता प्राप्त गर्दै जाँदा तथा उत्पादन, संघर्ष र वैज्ञानिक खोज अनुसन्धानबाट विकसित हुने वैज्ञानिक संस्कृतिका विकासका कारण कुनै दिन धर्म विलुप्त हुनेछ ।

मानव समाज कृषि उत्पादनको युगमा प्रवेश गरेपछि वर्णाश्रम व्यवस्था शुरु भएको हो । शुरुमा वर्णाश्रम व्यवस्था समाज विकासको अपरिहार्य आवश्यकताका रुपमा प्रकट भएको थियो । जब धर्म वर्णाश्रम व्यवस्थामा प्रवेश गर्‍यो त्यसले वर्णाश्रम व्यवस्थालाई जडतामा रुपान्तरण गर्‍यो ।

पूर्वीय समाजमा धर्मले ब्रहाम्हण, क्षेत्री र वैश्यलाई साथ दियो । मुख्य श्रमजीवी वर्गका रुपमा रहेका शुद्रलाई चरम दमन गर्न सत्ताधारीलाई पक्षपोषण गर्‍यो । धर्मकै कारण सत्ताधारी वर्गको देवत्वकरण भयो । धर्मकै कारण स्वर्ग र नर्कका काल्पनिक अवधारणा विकसित भए । धर्मले नै जातीभेद र उचनिचको अवस्था सृजना भयो ।

धार्मिक अत्याचारलाई अन्त्य गर्नका निम्ति विभिन्न व्यक्ति र संस्थाहरुले धर्म सुधारका विषयहरुलाई अगाडि बढाए । उनीहरुलाई सत्ताधारीहरुले निर्मम दमन गरे । धर्म सुधारहरुका कृयाकलापहरुलाई सांस्कृतिक रुपमा अगाडि बढाउँदा पनि समाजमा ठूलो राहत सृजना हुन थाल्यो ।

एकपटक भएका मानवीय कृयाकलापलाई बौद्धिक रुपमा परिमार्जन गरी प्रस्तुत गरिने विचार नै संस्कार र संस्कृति हुन्छ । विज्ञान र प्रविधिको विकासले धार्मिक जडता समाप्त हुँदै जाँदा सबै संस्कारहरु संस्कृतिका रुपमा विकसित हुनेछन् । उत्पादन, निर्माण र वर्ग संघर्षको विकासको साथै मानवीय संस्कृति अझ उच्चस्तरमा विकसित हुनेछ । आर्थिक विकासमा सांस्कृतिक पक्ष पनि समावेश भएपछि समृद्ध समाज निर्माण हुनेछ ।

समाजमा परस्पर विरोधी वर्गहरुको उत्पति पछि संस्कृति पनि वर्गीय पक्षधरतामा विकसित भएको हो । वर्ग विलोपीकरणको प्रक्रियासंगै वर्गीय पक्षधरतामा विकसित संस्कृतिहरु मानवीय संस्कृतिमा रुपान्तरण हुनेछन् । सबै सांस्कृतिक क्रियाकलापहरु प्रकृतिका नियमहरुको पालना गर्दै अगाडि बढ्नेछन् । तिनले मानवजातिलाई अझ बढि गतिशील, अझ बढि सृजनशील र समृद्ध बनाउँदै अगाडि बढ्न सधैं सहयोग पुर्‍याउने छन् ।

अहिले मानवजाति अन्तरिक्ष यात्रामा प्रवेश गरेको छ । विकसित विज्ञान र प्रविधिलाई प्रयोग गर्दै मानवजातिले भावि सन्ततीको रक्षाका लागि अनेकौं उपायहरुको खोजी गरिरहेको छ । अहिले संसारका मानवीय पक्षलाई महत्व दिने वैज्ञानिकहरुले मानवजाति र संस्कृतिको ब्रम्हाण्डमा सम्भावना रहँदासम्म रक्षा गर्ने उपायका सम्बन्धमा पनि चिन्तन मनन गरिरहेको पाइन्छ ।

विज्ञान र प्रविधिलाई मानवजातिको अनन्त विकास र रक्षाका निम्ति सदुपयोग गर्न लागि परेका वैज्ञानिकहरुलाई जीवनको उत्तराद्र्धमा प्रवेश गरेका म जस्ता व्यक्तिहरुका तर्फबाट भव्य सफलताका निम्ति हार्दिक शुभकामना व्यक्त गर्दछु ।

(अध्यक्ष, नेकपा राष्ट्रिय एकता अभियान ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?