
२ पुस, काठमाडौं । पार्टीमा हुँदा होस् या नहुँदा, पदमा हुँदा होस् या नहुँदा वामदेव गौतम चर्चामा आइरहन्छन् । ०७१ सालमा केपी शर्मा ओलीलाई एमालेको अध्यक्ष बनाउन निर्णायक योगदान गरेका गौतम ०७६ मा प्रधानमन्त्रीबाट उनै ओलीलाई हटाउन भूमिका खेलेको आरोपमा एमालेबाट निरन्तर बाहिर परेका छन् ।
अहिले उनी एकीकृत समाजवादीमा जाने कि एमालेमा फर्कने भन्ने दोधारमा छन् । अर्को कुरा त उनलाई दुवै तर्फबाट बोलावट आइसकेको पनि छैन भन्ने बुझिन्छ । यसै प्रसंगमा गौतमसँग अनलाइनखबरले गरेको संक्षिप्त कुराकानी :
तपाईंलाई एकीकृत समाजवादीले पार्टीमा आउनुस् भनेको हो ?
एमाले फुटेर त्यो पार्टी खुल्ने बित्तिकै एकपल्ट कुरा भएको थियो । बीचमा के भएर हो, त्यो कुरा हरायो । फेरि पछि कुरा भएको थियो । तर उहाँहरूले पर्खनुस् न अहिले भन्नुभयो । मलाई उहाँहरूले पर्खनुस् भनेको पनि ६ महिना नाघिसक्यो ।
तर तपाईं त एमालेमा जान चाहनुहुन्थ्यो होइन ?
पहिले चाहिँ म एमालेमा जान चाहन्थें । अहिले चाहिँ एमाले र एसमध्ये जसले पहिला बोलाउँछन्, त्यसैमा जान्छु । मैले च्यासलमै गएर बैठक गरेको पनि हो । मैले खासमा एमालेलाई नै प्राथमिकता दिन खोजेको पनि हो । तर केपी ओलीजी भन्दै हुनुहुन्छ रे, ‘जुन बेला ल्याउनुपर्ने हो, त्यस बेला ल्याउने हो वामदेवलाई । अहिले होइन ।
एमालेले पनि तपाईंलाई पर्खाएछ, होइन ?
एमालेले पर्खाएको त एक महिनामात्रै भयो ।
तपाईंसँग चाहिँ कुरा भएको छैन ओलीको ?
भएको छैन । उहाँसँग मैले बस्न पाएको छैन ।
तर अस्ति फोनमा कुरा भयो भन्दैहुनुहुन्थ्यो त प्रधानमन्त्री ?
त्यो राजेश (बज्राचार्य) को फोनमा भएको हो । मसँग केपीजीको नम्बर छैन र ? हुने भए त त्यसै नम्बरमा भइहाल्थ्यो नि ।
अनि कुरा मिल्न लाग्दा किन राजीनामा माग्नुभएको त प्रधानमन्त्रीको ?
कहाँ राजीनामा माग्नु ? मैले एउटा लिंक पठाएँ राजेशलाई । यदी त्यस्तो बोलेको हो भने राजीनामा दिनुपर्ने हुनसक्छ पो भनेको त ।
अब तपाईं एमालेमा जाने सम्भावना घट्यो हो ?
अब… त्यसमा मैले के भन्ने ? एमाले र एकीकृत समाजवादी दुई अलग पार्टी भए पनि हाम्रै साथीहरू हुन् । यी दुईको बीचमा मेलमिलाप गराउने हो । म जुन पार्टीमा प्रवेश गरे पनि एकताका लागि तुरुन्त वार्ता थाल्छु । त्यो काम मैले गर्छु ।
माओवादीमा गएर पहिलेजस्तै नेकपा एकताको पहल लिने सम्भावना त छैन नि ?
त्यो सम्भावना छैन ।
एकीकृत समाजवादीबाट चाहिँ तपाईंसँग कसले कुरा गरिरहेको छ ?
कसैले पनि छैन । यो त धेरै बाहिर चर्चा भइरहेको छ । केही साथीहरूबाट अप्रत्यक्ष कुरा नआएको होइन, आइरहेको हो । मसँगै त कसैले पनि कुरा गर्नुभएको छैन ।
अध्यक्ष माधव नेपालकै बराबरको इतिहास छ तपाईंको, अलिकति व्यक्तित्व टकरावको डर भयो कि के हो ?
त्यस्तो होइन । माधवजीलाई मैले चिनेको छ । त्यस्तो छैन । त्यसरी कुरा भएको छैन । पहिले कुरा हुनुपर्यो नि । हुन दिनुहोस् न ।
तपाईंसँग वार्ता गर्न पनि छ–छ महिना लगाएछ । एकीकृत समाजवादी पनि खासै गतिशील पार्टी होइन कि के हो ?
त्यो त म हामी गएपछि भइहाल्छ नि । काम गर्ने मानिस हो म ।
प्रतिक्रिया 4