+
+

दीपक विष्टको संरक्षण पाएकी गीताले जितिन् राष्ट्रिय खेलकुदमा स्वर्ण

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७९ असोज ३० गते २०:०३

३० असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत म्याग्दीमा जारी राष्ट्रिय तेक्वान्दोमा गीता कडायतले स्वर्ण जित्दा कीर्तिमानी तेक्वान्दो खेलाडी तथा ओलम्पियन दीपक विष्टको खुसी अभूतपूर्व थियो ।

५३ केजीमूनि बेन्टमवेटको फाइनलमा त्रिभुवन आर्मी क्लबका लागि खेलिरहेकी गीता र एपीएफकी अस्मिता खड्काबीचको प्रतिस्पर्धा हुँदै गर्दा गीताको जितका लागि दर्शकदीर्घामा विष्ट व्यग्र प्रतीक्षारत थिए । नतिजा उनले सोचेअनुसार नै आयो ।

गीता र दीपकको साइनो खोज्न तीन वर्षअघि फर्कनुपर्छ । २०७६ मा तत्कालीन प्रदेश ५ मा आयोजित आठौं राष्ट्रिय खेलकुदमा गीताले सुदूरपश्चिमको प्रतिनिधित्व गरेकी थिइन् । अपेक्षाभन्दा उत्कृष्ट प्रदर्शन गरी ४६ केजीमूनि तौलसमूहको फाइनलमा पुगेकी उनी स्वर्णको स्पर्धामा नेपाल पुलिस क्लबकी रेजिना कार्कीसँग पराजित भइन् ।

त्रिभुवन आर्मी क्लबको तेक्वान्दो प्रशिक्षकका रुपमा आठौंमा सहभागी विष्टले आफ्नो क्षेत्रकी खेलाडीको क्षमता पहिचान गरे । विष्ट र गीता दुवै कैलालीको धनगढी उपमहानगरपालिका तारा नगरका हुन् ।

विष्टले उनको क्षमता पहिचानमात्र गरेनन् गीताको खेलस्तर बढाउनका लागि आफ्नै खर्चमा काठमाडौं ल्याउने निधो गरे । त्यतिबेला उनी ८ कक्षामा पढ्दै थिइन् । २०७७ सालमा ९ कक्षामा पुगेपछि विष्टले आफ्नै खर्चमा शिक्षा र प्रशिक्षण दिलाउने गरी गीताको परिवारलाई मनाए ।

गीताले दुई वर्ष काठमाडौंमा रहेर यसै वर्ष एसईई सकेकी छन् । तेक्वान्दोको प्रशिक्षण पनि विष्टको प्रत्यक्ष निगरानीमा हुने गरेको थियो । आफ्नो क्षेत्रकी चेलीमाथि विष्टले देखेको सम्भावना आइतबार साकार भएको मानेका छन् ।

‘आजको दिन मैले आफैंले खेलेर जितेकोभन्दा खुसी महशुस गरेको छु,’ अनलाइनखबरसँग कुरा गर्दै ओलम्पियन विष्टले भने, ‘जुन सम्भावना देखेर मैले उनीमाथि लगानी गरेको थिएँ । त्यो सपना आज साकार भएको छ ।’

राष्ट्रिय प्रतियोगितामा स्वर्ण जित्नु राष्ट्रिय टिम र अन्तर्राष्ट्रिय सहभागिताका लागि मार्ग खुल्ने विष्ट बताउँछन् ।

एसईई पछि नवौं राष्ट्रिय खेलकुदलाई लक्षित गरी त्रिभुवन आर्मी क्लबले गीतालाई करारमा अनुबन्ध गरेको हो । गीताले आफ्नो सफलताको सम्पूर्ण श्रेय विष्टलाई नै दिइन् ।

‘गुरुले मलाई जुन विश्वास गरेर काठमाडौं ल्याउनुभयो । त्यसलाई तोड्न दिइनँ,’ गीता भन्छिन्, ‘आगामी दिनमा राष्ट्रिय टिममा पुगेर एसियाली खेलकुद र दक्षिण एसियाली खेलकुदमा पनि पदक जित्ने लक्ष्य छ ।’

आर्मी टिमबाट प्रशिक्षण थालेपछि स्वर्ण जित्ने आत्मविश्वास बढेको गीताले सुनाइन् । भन्छिन्, ‘आर्मीमा आएर ट्रेनिङ गरेपछि यसपल्ट स्वर्ण जित्छु जस्तो लागेको थियो ।’ गीताले सेमिफाइनलमा लुम्बिनी प्रदेशकी निलिमा मल्ललाई पाराजित गरेकी थिइन् ।

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?