+
+

नेप्सेमा एकल अंकको सामान्य गिरावट, कारोबार रकम ५१ करोडमा झर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३१ गते १५:२६

३१ असोज, काठमाडौं । लगातार दोस्रो कारोबार दिन पनि बैंकिङ उपसूचकमा वृद्धि भएपनि बजार परिसूचक नेप्से भने घटेको छ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्से २.६१ अंक (०.१४ प्रतिशत) ले गिरावट भएर १८५६.३१ अंकमा बन्द भएको छ ।

आइतबार ९.६९ अंकले नेप्सेमा गिरावट भएपनि बैंकिङ उपसूचक भने बढेको थियो । दोस्रो कारोबार दिन पनि नेप्से घट्दा बैंकिङ उपसूचक भने बढेको छ । बैंकिङसँगै होटल तथा पर्यटन, निर्जीवन बीमा, म्युचुअल फण्ड, व्यापार र अन्य उपसूचक पनि वृद्धि भएको छ ।

यता कारोबार रकम भने घटेर ५१ करोडमा झरेको छ । आइतबार ८० करोडको कारोबार भएको बजारमा सोमबार भने कारोबार रकम घटेर ५१ करोड ५८ लाख १९ हजारमा सीमित भएको छ । जसमध्ये नबिल बैंकको सर्वाधिक २ करोड ७९ लाख १९ हजारको कारोबार हुँदा प्रभु बैंकको २ करोड ६१ लाख ८ हजारको कारोबार भएको छ ।

गत साता बैंकर्स संघले निक्षेपको ब्याजदर थप बढाउन नहुने निष्कर्ष निकाल्यो । १ कात्तिकदेखि लागू हुने ब्याजदर प्रकाशित गर्दा सबैं बैंकले ब्याजदर स्थिर राखे । सेयर बजारमा सूचिकृत कम्पनीको ‘रिटर्न अन इक्विटी’को रेसियोमा ब्याजदर पुगेपछि सेयर लगानीकर्ता भने यतिबेला ‘पेनिक’ बनेका छन् । सेयर लगानीकर्ताले पाउने लाभांश ब्याजदर भन्दा न्यून बन्ने अवस्थामा लगानीकर्ताको रोजाइ सुरक्षित मानिएको बैंक निक्षेपमा देखिएको छ । जसले गर्दा सेयर बजार निरन्तर कमजोर बन्दै गएको छ । कारोबार रकम पनि न्यून हुँदै गएको छ ।

सोमबार सेयर बजारमा १८३ कम्पनीको सेयर कारोबार भएकोमा १२४ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै ५३ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ६ कम्पनीको भने स्थिर छ । सोमबार कारोबार भएको अभियान लघुवित्तको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा बन्द हुँदा सयपत्री हाइड्रोपावरको ९.९६ प्रतिशत र कुमारी धनवृद्धि योजनाको इकाइ मूल्य ३.८५ प्रतिशतले वृद्धि भएको छ ।

यता पिपुल्स पावरको सेयर मूल्य ९.९७ प्रतिशतले गिरावट भएर नकारात्मक सर्किट लेभलमा बन्द हुँदा बलेफी हाइड्रोपावरको सेयर मूल्य ५.१० प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?