+
+

निर्वाचन आयोगले गलत सूचना रोक्न फेसबुकसँग सहकार्य गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३१ गते १९:५८

३१ असोज, काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा गलत सूचना र द्वेषपूर्ण अभिव्यक्तिलाई निरुत्साहित गर्न सामाजिक सञ्जाल फेसबुकसँग सहकार्य गर्ने भएएको छ ।

आयोगले आइतबार फेसबुकको दक्षिण एसिया हेर्ने व्यूरोको अधिकारीहरुसँग छलफल गरेको छ । आइतबार फेसबुकको दक्षिण एसिया कार्यालयको नीतिगत मामिला हेर्ने प्रमुख सहितको टोली नेपाल आएको थियो । उनीहरुले निर्वाचन आयोगका पदाधिकारी र सूचना/प्रविधि हेर्ने विज्ञ टोलीसँग छलफल गरेको थियो ।

त्यसक्रममा फेसबुकले राजनीतिक दलका प्रतिनिधिहरुलाई निर्वाचन सामग्रीको प्रचारप्रसार तथा मिथ्या सूचना नियन्त्रणबारे भर्चुअल कार्यशाला आयोजना समेत गरेको आयोगका अधिकारीहरुले बताएका छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले फेसबुकसँग तीनवटा विषयमा सहकार्य हुने बताए । ‘निष्पक्ष र सन्तुलित रुपमा निर्वाचन गर्न सामाजिक सञ्जालमा हुनसक्ने बाधा व्यवधान र तिनलाई हटाउने उपायबारे छलफल भएको हो’, थपलियाले भने, ‘हाम्रो प्रस्तावमा उहाँहरु सकारात्मक हुनुहुन्छ ।’ उनले फेसबुकसँगको सहकार्यले झुटा विवरण प्रचारप्रसार र अफवाह नियन्त्रणमा सघाउ पुग्ने अपेक्षा गरिएको बताए ।

आयोगले निर्वाचनसम्बन्धी जनचेतनामूलक र प्रवद्र्धनात्मक सामग्रीलाई प्रचारप्रसार गर्न पनि समझदारी भएको बताएको छ । त्यसैगरी मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई निरुत्साहित गर्न पनि फेसबुकका प्रतिनिधिहरु सकारात्मक भएको आयोगका अधिकारीहरु बताउँछन् ।

निर्वाचनका क्रममा उम्मेदवार र तिनका शुभचिन्तकहरुले गर्ने खर्च, सामाजिक सञ्जालको पोष्ट शेयर गर्दा हुने खर्चका बारेमा समेत फेसबुक माउ संस्था मेटाले आवश्यक सूचना उपलब्ध गराउने प्रतिवद्धता जनाएको आयोगका अधिकारीको भनाइ छ ।

आयोगले यसअघि नै टिकटकको टोलीसँग निर्वाचन शिक्षाको प्रचारप्रसार तथा गलत सूचना नियन्त्रणका विषयमा छलफल गरेको थियो । त्यसैगरी ट्विटरको टोलीसँग समेत छलफल भएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?