+
+

नेपालीको सौख : मुसा पनि पाल्छन्, जोडीको ३० हजारसम्म खर्चिन्छन्

अंगद सिंह अंगद सिंह
२०७९ कात्तिक १ गते १३:४४

काठमाडौं । घरमा बिरालो पाल्ने चलन पुरानै हो । मान्छेले बिरालो किन पाल्छन् ? यसको सोझो जवाफ हो, मुसाको चकचकीबाट बच्न । अन्नपात खाइदिने, लुगाफाटो काटिदिने, भित्तामा प्वाल पारिदिने मुसालाई तह लगाउन बिरालो पाल्ने कति छन् कति ।

तर मान्छेहरु मुसाको चकचकीबाट हैरान मात्र छैनन् यो प्राणीसँग अनौठो घनिष्ठता पनि जोड्दा रहेछन् । आफ्नो सौख पूरा गर्न घरमा प्रेमपूर्वक मुसा पाल्नेहरु यसैका उदाहरण हुन् ।

उदाहरण खोज्न टाढा पुग्नै पर्दैन । काठमाडौं आसपासका कतिपय घरभित्र प्रवेश गर्नुभयो भने तपाईंलाई पक्का हुनेछ, काठमाडौंवासी पनि मुसा पाल्छन् । वा घरपालुवा कुकुर, बिरालोको सरसामन पाउने पसलमा चहार्नुभयो भने त्यहाँ मुसाका लागि बस्ने घर, खेलौना, खानेकुरा देख्न सकिन्छ ।

किन पाल्छन् मुसा ?

कुकुर, बिरालो, सुगा, खरायो, माछा पालेजस्तै मुसा पाल्ने जमात बढ्दो रहेको के नाइन डग टे«निङ एण्ड केयरका सञ्चालक प्रविन बज्राचार्य बताउँछन् । उनी स्वयंले पनि घरपालुवा मुसा बिक्री वितरण गर्दैै आएका छन् ।

मुसा किन पाल्छन् त ?

‘मान्छेको सौख हो,’ बज्राचार्य भन्छन्, ‘मुसाको गतिविधि हेरेर त्यसैमा रमाउने गर्छन् । खासमा कतिपयले एक्लोपनबाट मुक्त हुन वा पट्यारलाग्दो दिन कटाउन पनि मुसा पाल्ने गर्छन् ।’

मुसा पाल्नुको पछाडि अन्य कुनै कारण नभएको उनको बुझाइ छ । ‘मुसाको अरु कुनै काम छैन,’ बज्राचार्य भन्छन्, ‘यो मान्छेको सौख मात्र हो ।’ कुनै पनि कुरासँग घुलमिल हुँदै गएपछि त्यसमा भावनात्मक सम्बन्ध जोडिने उनी बताउँछन् ।

तालिमप्राप्त मुसा

घरमा पालिने मुसालाई तालिम पनि दिने गरिएको बज्राचार्य बताउँछन् । यसरी तालिम दिइसकेपछि उनीहरुले मान्छेको भाषा वा इशारा बुझ्छन् ।

तालिमप्राप्त मुसाहरु आफ्ना मालिकको आवाज पहिचान गर्न सक्छन् । उनीहरुले भनेको कुरा मान्छन् । बोलाउँदा आउने, बस्ने, खाने गर्छन् । यस्ता मुसाहरु आज्ञाकारी हुन्छन् र मान्छेसँग घुलमिल गर्न रुचाउने स्वभावको हुन्छन् । यी मुसाहरु मिलनसार पनि हुने उनी बताउँछन् ।

मुसाका लागि सरसामान

कुकुरलाई झैं मुसालाई पनि मझौला वा सानो आकारको केज (पिंजडा)मा राखेर पाल्ने गरिन्छ । ‘पेट सप’मा यस्ता थुप्रै सामग्री पाइन्छ, जो मुसाका लागि प्रयोग हुन्छ ।

मुसालाई राख्ने थरीथरीका केज, खेलौना र खानेकुरा बजारमा सहजै पाइन्छन् । बज्राचार्य भन्छन्, ‘मुसालाई पाल्दा थुनेर राख्ने मात्र होइन । उसलाई खुला रुपमा खेल्ने, रमाउने ठाउँ चाहिन्छ ।’

कुन प्रजातिका मुसा ?

सामान्य वा घर र खेतबारीमा पाइनेभन्दा फरक प्रजातिका मुसाहरु पाल्ने गरिएको छ, जो हेर्दा आकर्षक पनि लाग्छ । यस्ता मुसा विभिन्न प्रजातिका छन् ।

खासगरी सात प्रकारका घरपालुवा मुसा प्रचलनमा छन् । जस्तो कि मानक, रेस्क, टेललेस, हेयरलेस, साटिन, डम्बो र बिस्टल कोट । नेपालमा पाइने मुसा भारत र थाइल्याण्डबाट आयात गरिने बज्राचार्य बताउँछन् ।

जोडीको ३० हजार रुपैयाँसम्म

घरपालुवा मुसा भारत र थाइल्याण्डबाट ल्याइन्छ । कतिपय प्रजाति नेपालमै पनि उपलब्ध हुन्छन् । नेपालमा पाइने मुसाको मूल्य प्रतिजोडी कम्तीमा पाँच हजार रुपैयाँ पर्छ । राम्रो प्रजातिको मुसाको मूल्य भने प्रतिजोडी ३० हजार रुपैयाँसम्म पर्ने बताइन्छ ।

अन्य मुसाभन्दा ह्यामस्टार जातको मुसा बढी महंगो पर्छ । यसको मूल्य जोडीको ३० हजार रुपैयाँ पर्ने बज्राचार्य बताउँछन् । उनका अनुसार ह्यामस्टार मुसा छिट्टै घुलमिल हुने र आज्ञाकारी हुन्छ । खल्तीमा राखेर पनि हिंड्न सकिन्छ ।

के खुवाइन्छ, कति बाँच्छ ?

घरपालुवा मुसालाई खुवाउन बजारमा तयारी दाना पाइन्छ । साथै मुसाले फलफूल वा ड्राई फ्रुट्स खाने गर्छ ।

यी मुसाको आयु औसत दुईदेखि तीन वर्षको हुन्छ । यिनीहरुले २० देखि २२ दिनको अन्तरमा बच्चा जन्माउँछन् । एक पटकमा एउटा मुसाले चारदेखि सातवटासम्म बच्चा जन्माउन सक्छन् ।

मुसालाई केजमा राखेर पाल्दा सही समयमा खाना दिने, पानी दिने गर्नुपर्छ । साथै मुसालाई खेलाउने, बोलाउने पनि गर्नुपर्ने बज्राचार्य बताउँछन् ।

रोग सर्दैन ?

बज्राचार्यका अनुसार मुसाबाट मान्छेमा रोग सर्न सक्छ । यद्यपि त्यसका लागि आफू पनि सतर्क हुनुपर्छ । मुसालाई सुरुमै रेबिज विरुद्धको सुई लगाइन्छ । साथै बेलाबेला स्वास्थ्य परीक्षण पनि गराइन्छ ।

मुसाको आनीबानी थाहा नपाई वा मुसासँग घुलमिल नभई त्यसलाई चलाउँदा टोक्न सक्ने बज्राचार्य बताउँछन् । साथै मुसाले बच्चा जन्माएको बेला छुने चलाउने गरेमा पनि टोक्न सक्छ । ‘मुसाले बच्चा जन्माउँदा खान पुगेन भने आफ्नै बच्चा खानसक्छ,’ बज्राचार्य भन्छन्, ‘त्यसैले बच्चालाई जोगाउन पर्याप्त खाना दिनुपर्छ र बच्चा जन्माउनुअघि नै उसको लागि राम्रो प्रबन्ध मिलाउनुपर्छ ।’

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?