+
+

प्याराग्लाइडिङ उडानबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन

नेपालमा प्याराग्लाइडिङ उडान सुरक्षित गर्न उच्चस्तरीय छानबिन समिति गठन भएको छ ।

अच्युत पुरी अच्युत पुरी
२०७९ कात्तिक २ गते १४:३१

२ कात्तिक, काठमाडौं । नेपालमा प्याराग्लाइडिङ उडान सुरक्षित गर्न उच्चस्तरीय छानबिन समिति गठन भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राधिकरणका उपमहानिर्देशक हंसराज पाण्डेको संयोजकत्वमा बुधबार एक समिति गठन गरेको हो ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार समितिलाई यथाशिघ्र प्रतिवेदन दिने गरी कार्यादेश दिइएको छ । समितिमा नेपाल हवाई खेलकुद संस्था, राष्ट्रिय खेलकुद परिषद्, चिकित्सा क्षेत्रबाट समेत प्रतिनिधित्व गराएर अध्ययन गरिने उनले जानकारी दिए । उनका अनुसार समितिले आफूलाई आवश्यक ठानेका क्षेत्रबाट प्रतिनिधिहरु थप गरी अध्ययन गर्न सक्ने भएको छ ।

समितिलाई अहिलेसम्म प्याराग्लाइडिङमा भइरहेका अभ्यासको अध्ययन गरी यो यसको उडानलाई थप व्यवस्थित तथा सुरक्षति बनाउन अपनाउनु पर्ने उपायबारे सुझाव दिने जिम्मेवारी दिइएको छ ।

गत आइतबार पोखरामा राष्ट्रिय खेलकुदका दौरान नेपाली सेनाका खेलाडीको प्याराग्लाइडिङबाट खसेर मृत्यु भएको थियो । त्यसलगत्तै प्राधिकरणले देशैभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाइएको छ ।

प्रवक्ता निरौलाका अनुसार देशभर लगाइएको यो प्रतिवन्ध छानबिन समितिको प्रतिबन्ध नआएसम्म जारी रहने भएको छ । समितिले प्रतिवेदन दिएपछि सोही समितिको सिफारिसका आधारमा नयाँ निर्णय हुने उनले जानकारी दिए ।

नेपालमा सन् १९९६ मा पोखरामा सनराइज प्याराग्लाइडिङबाट व्यवसायिक उडान सुरु भएको हो । त्यसयता भएका दुर्घटनामा १७ जनाले ज्यान गुमाएको नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकले देखाएको छ । आइतबार भएको दुर्घटनासहित कुल १७ वटा ठूला दुर्घटना भएका छन् । जसमा १७ जनाकै मृत्यु भएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?