+
+

प्याराग्लाइडिङ दुर्घटना : २६ वर्षमा १७ जनाकाे ज्यान गयाे

अच्युत पुरी अच्युत पुरी
२०७९ असोज ३१ गते १८:३५
राष्ट्रिय खेलकुदका दौरान आइतबार प्याराग्लाइडिङ दुर्घटनामा परी मृत्यु भएका नेपाली सेनाका निसिम थापा/फाइल तस्वीर

३१ असोज, काठमाडौं । नेपालमा व्यfवसायिक रुपमा प्याराग्लाइडिङ उडान सुरु भएको २६औं वर्ष चलिरहेको छ । नेपालमा सन् १९९६ मा सनराइज प्याराग्लाइडिङबाट व्यावसायिक उडान सुरु भएको हो ।

त्यसयता भएका दुर्घटनामा १७ जनाले ज्यान गुमाएको नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकले देखाएको छ । प्राधिकरण पोखरा कार्यालयका सूचना अधिकृत देवराज सुवेदीका अनुसार आइतबार भएको दुर्घटनासहित कुल १७ वटा ठूला दुर्घटना भएका छन् । जसमा १७ जनाकै मृत्यु भएको छ ।

प्राधिकरण पोखरा कार्यालयका अनुसार सन् १९९६ देखि सुरु भएको प्याराग्लाइडिङ उडान सन् २०१० सम्म शतप्रतिशत सुरक्षित थियो । तर, त्यसपछि भने सोलो उडानहरु धमाधम दुर्घटनामा परेको तथ्यांकमा देखिएको छ । सन् २०१० मा पोखरामा पहिलो प्याराग्लाइडिङ दुर्घटनामा परेको थियो । जसमा मलेसियाका ७० वर्षीय नागरिक पिटरको ज्यान गएको थियो । सोही वर्ष पोखरामा अर्को सोलो उडानका दौरान जर्मनीका २६ वर्षीय क्रिष्टोफ एन्ड्रेसको मृत्यु भयो । सन् २०१० मै रसियाका ३८ वर्षीय किड्डी अस्किन एलेक्जेन्डरको ढिकीडाँडो भन्ने स्थानमा दुर्घटनामा परी ज्यान गएको थियो ।

त्यसपछिको दुई वर्ष कुनै दुर्घटना भएनन् । सन् २०१३ मा दक्षिण कोरियाका ४३ वर्षीय नागरिक योङ मिन समको पोखरामै सोलो उडानका दौरान दुर्घटनामा परे । सन् २०१४ मा अंगेरीभिर भन्ने स्थानमा चेक रिपब्लिकका प्रिमिक हुलेकको सोलो उडानका दौरान दुर्घटनामा ज्यान गयो ।

सन् २०१० पछि सन् २०१५ र २०१७ बढी असुरक्षित वर्ष देखियो । सो वर्ष कुल तीन वटा दुर्घटनामा तीन जनाले नै ज्यान गुमाए । सोलो उडानका दौरान कास्कीमै रोमानियाका ३५ वर्षीय आइओन ड्रागोप, नेपालका सुनिल भट्टराई र दक्षिण कोरियाका ४६ वर्षीय हवाने यान गकले ज्यान गुमाए ।

नेपालका शैलेश पहारीको सोलो उडानका दौरान स्याङ्जामा सन् २०१६ मा मृत्यु भयो । सन् २०१७ मा २७ वर्षीय प्रभात सुवेदीको फेवाताल र सन् २०१७ मा बेलायती ६८ वर्षीय नागरिक मिकल पिटर प्लाजचप्डको सराङकोटमा मृत्यु भयो । सोही वर्ष २२ वर्षीय यात्रु मनिष गुरुङको पोखरामा र भारतका ५४ वर्ष सोलो उडानका शिवराज मणि अप्पाको फेवातालमा मृत्यु भयो ।

सन् २०१९ मा रोमानियाका ४२ वर्षीय एदे सिस्जरको फेवातालमा मृत्यु भयो । सोही वर्ष रसियाका डमिट्री स्टेपानिशीनको सराङकोटकोमा मृत्यु भयो । सन् २०२० मा यात्रु उडानको प्याराग्लाइडिङ दुर्घटनामा पाइलट राजु नोपली गैरेको मृत्यु भयो । यात्रुहरु घाइते भए ।

पछिल्लो पटक आइतबार राष्ट्रिय खेलकुदका दौरान भएको दुर्घटनामा नेपाली सेनाका निसिम थापाको मृत्यु भयो । यससँगै सरकारले तत्कालका लागि देशभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?