+
+

लालमोहनमा साङ्ला !

तिहार लक्षित अनुगमन टोली शनिबार ललितपुर महानगरपालिका-४ स्थित गणपति स्वीट हाउस पुग्यो । विभिन्न प्रकारका मिठाइ तयार गरी आकर्षक ढंगले सजाएर राखिएका कारण उक्त स्वीट हाउस झकिझकाउ देखिन्थ्यो । स्वीट हाउसको भान्सामा लालामोहन र समोसाहरु थिए । अनुगमन टोलीले जसमध्ये लालमोहन रहेको एउटा भाँडोमा साङ्ला डुबिरहेको भेट्टायो ।

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ कात्तिक ६ गते १५:३६

६ कात्तिक, काठमाडौं । तिहार लक्षित अनुगमनका क्रममा खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागको टोली शनिबार ललितपुर ४ स्थित गणपति स्वीट हाउसमा पुग्यो । तिहार लक्षित व्यापारका लागि मिठाइका सजावटले झकिझकाउ पसलको भान्सामा लालामोहन र समोसाहरु थिए । जसमध्ये लालमोहन रहेको एउटा भाँडोमा साङ्ला डुबिरहेको थियो । अनुगमनमा खटिएका खाद्य निरीक्षक पदमराज भुसालकाअनुसार टोलीले नभेटेको भए उक्त लालमोहन बिक्रीका लागि उपभोक्ताकोमा जाने निश्चित थियो ।

‘भान्सा फोहोर थियो, लालमोहनमा साङ्ला डुबेर मरेको थियो,’ भुसाल भन्छन्, ‘सोमोसा पनि लिखित कागजमा प्याक गरेर राखेको अवस्थामा भेटियो ।’ विभागले उक्त मिठाइ भण्डारबाट साङ्ला डुबेको ५१ पिस लालमोहन, १७ पिस समोसा जफत गरेर नष्ट गरेको छ । यस्तै उत्पादनस्थल सफाइ गरेर ७ दिनभित्र विभागमा जानकारी गराउन पनि विभागले निर्देशन दिएको छ ।

उपत्यकाका मिठाइ पसलको हेलचेक्र्याइँ यतिमै सीमित रहेन । शनिबार नै भएको अनुगमनमा ललितपुर १० ज्वागलमा रहेको दुग्ध सागर मिठाइ भण्डारमा अस्वस्थ समोसा र मिठाइ फेला पर्‍यो । अनुगमनमा खटिएका खाद्य निरीक्षण अधिकृतका अनुसार अस्वस्थ स्थानमा भण्डारण गरिएको ३५० पिस समोसा र ६० किलो मिठाइ फेला पर्‍यो । विभागको टोलीले अस्वस्थ अवस्थामा फेला परेको समोसा र मिठाइ नष्ट गरेको छ । फोहोरयुक्त मिठाइ पसलको उत्पादन रोकेर तत्काल सरसफाइ गर्न र २४ घण्टाभित्र यसको विवरण विभागमा पेश गर्न निर्देशन भएको विभागले जनाएको छ ।

अुनगमनमा खटिएका खाद्य निरीक्षक भुसालकाअनुसार काठमाडौंका पसलहरु सरसफाइमा गम्भीर हेलचेक्र्याइँ गरिरहेका छन् । अनुगमनका लागि आउने डरले सरसफाइ गर्ने बाहेक भित्री र स्वविवेकीय सरसफाइ कमजोर देखिएको उनले बताए । विभागले केही दिनदेखि तिहार बजार लक्षित अनुमनलाई तीव्र बनाएको छ । सो क्रममा भएका अनुगमनमा उपत्यकाका अधिकांश मिठाइ पसलहरुले स्वच्छतामा लापरबाही गरेको विभागले जनाएको छ ।

गत बुधबार विभागले गरेको अनुगमनमा काठमाडौंको त्रिपुरेश्वरमा रहेको शालिमार हस्पिटालिटी, सोही कम्पनीको न्यूरोड शाखा, तिनकुनेमा रहेको सहयोगी नेपाल स्वीट्स, न्यूरोडको गौतम स्वीट्स, काठमाडौं ३२ को रामेश्वरम स्वीट्स लगायतका मिठाइ भण्डारको भान्सा फोहोर तथा अस्वस्थ रहेको पाइएको थियो ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?