+
+

भारतीय मूलका ऋषि सुनक बन्ने भए बेलायतका नयाँ प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ७ गते १९:००

७ कात्तिक, काठमाडौं । बेलायतको प्रधानमन्त्री ऋषि सुनक बन्ने भएका छन् । सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताका लागि उनीसँग प्रतिस्पर्धामा रहेकी पेनी मोर्डन्टले दलको नेतामा उम्मेदवारी फिर्ता लिएपछि सुनक प्रधानमन्त्री बन्ने पक्का भएको हो ।

लिज ट्रसले राजीनामा दिएपछि सुरु भएको सत्तारुढ कन्जरभेटिभ पार्टीमा दलको नेताको खोजी सुरु भएको थियो । मोर्डन्टले पूर्व वित्तमन्त्रीसमेत रहेका ४२ वर्षका सुनकलाई आफ्नो सहयोग रहने बताएकी छन् ।

को हुन् ऋषि ?

भारतीय मूलका ऋषि प्रधानमन्त्री पदमा पुगेसँगै धेरैवटा रेकर्ड राखेका छन् । भारतीय मूलका मात्र हैन, एशियाली मुलकै पहिलो बेलायती प्रधानमन्त्री हुन् ऋषि ।

त्यतिमात्र हैन, बेलायतको उच्च पदमा पुग्ने पहिलो हिन्दु पनि ऋषि नै हुन् । उनका अभिभावक अफ्रिका हुँदै बेलायत आएका भारतीय मूलका आप्रवासी हुन् ।

सन् १९८० मे १२ मा इंल्याण्डको साउथह्याम्टनमा जन्मेका ऋषिले अक्सफोर्ड बिश्वबिद्यालयबाट बीए र स्टाण्डफोर्ड बिश्वबिद्यालयबाट एमबीए गरेका छन् ।

भारतीय सूचना प्रबिधि कम्पनी इन्फोसिसका लगानीकर्ता नारायण मूर्थीकी छोरीसँग बिबाह गरेका ऋषिको जोडी बेलायतका धनी दम्पत्तिमध्ये पर्छन जसको सम्पत्ति ७ सय ३० मिलियन पाउण्ड रहेको छ । उनलाई सवैभन्दा धनी सांसदका रुपमा बेलायती सञ्चारमाध्यमहरुले चित्रण गरेका छन् ।

उनको करियरको सुरुवात सन् २००१ मा गोल्डम्यान सचमा बिश्लेषकका रुपमा भएको थियो । सन् २००४ देखि १५ सम्म बिभिन्न हेज फण्डहरुमा उनी ब्यबस्थापकका रुपमा कार्य गरे ।

सन् २०१५ मा पहिलोपटक राजनीतिमा प्रवेश गरेका ऋषिको राजनीतिक करियर जम्मा ८ बर्षको छ ।

सन् २०१५ मा रिचमण्डबाट सांसद निर्वाचित भए यता उनले निरन्तर बेलायती राजनीतिको भर्याङ तिब्र गतिमा चढ्दै गए । सन् २०१८ मा स्टेट डिपार्टमेन्टको उपमन्त्री भएका ऋषि टेरेशा मेको कार्यकालमा अर्थमन्त्री बने ।

बोरिस जोन्सनको कार्यकालमा चान्सलर बनेका ऋषिले कोभिडकालमा अर्थतन्त्र चलायमान बनाउने कार्यमा जोन्सनको टीममा बसेर मुख्य भूमिका खेलेका थिए ।

बोरिस जोन्सनले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि प्रधानमन्त्रीको दौडमा देखिएका ऋषि लिज ट्रससँग पराजित भए । तर, ४५ दिनमै ट्रसले राजीनामा दिएपछि अन्ततः ऋषिले प्रधानमन्त्रीको दौड जितेका छन् ।

पछिल्ला महिनामा बेलायती प्रधानमन्त्रीले अबलम्बन गरेका आर्थिक नीतिको उनी आलोचक थिए । बिग्रिएको अर्थतन्त्रलाई उकास्ने जिम्मेवारी अब उनकै काँधमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?