+
+

वीरगञ्जमा छठका सामान किनबेच गर्नेको घुइँचो

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १३ गते ११:११

१२ कात्तिक, वीरगञ्ज । वीरगञ्जमा छठ पर्वका लागि आवश्यक पर्ने सामान किनबेच गर्नेको घुइँचो लागेको छ । घण्टाघर, मीनाबजार, रेल्वे रोड टाँगा स्टेसन, माइस्थान, मुर्ली लगायतका ठाउँमा सामान्य दिनमा भन्दा बढी भिडभाड देखिएको हो ।

घण्टाघरदेखि माइस्थानसम्म पार्किङ गर्न राखिएको मोटरसाइकल दुई-तीन गुणा बढेको छ । छठ पर्वकै कारण आर्थिक नगरी वीरगञ्जमा समान्य दिनको तुलनामा मानिसहरुको चहल पहल बढेको व्यापारीहरु बताउँछन् ।

छठ पर्वका लागि आवश्यक समान जोहो गर्न मानिसहरु वीरगञ्ज र आसपासका गाउँबाट बजार आएका छन् । गाउँघर, छठघाट र स्थानीय एफएम रेडियो छठका गीतले गुञ्जायमान छन् । वीरगञ्ज लगायत तराई मधेसका बजारहरुमा छठ पूजाको लागि चाहिने पूजन तथा प्रसाद सामग्री, माटोका तथा अन्य भाडाँवर्तन, लत्ता कपडा इत्यादिको किनमेल बढेको छ । अदुवा, मुला, केरा, माटोका भाडा र बाँसको चोयाबाट बनेका सामाग्रीहरु बिक्रिका लागि राखिएका छन् ।

वीरगञ्जमा प्रायः चाडमा सडकमै बजार लाग्ने गर्छ । वडा दशैंमा जस्तै छठ पर्वको बजार पनि मुख्य सडकमै लाग्ने गरेको छ । त्यसैले मानिसहरुको चहलपहल पनि यहि क्षेत्रमा बढी हुने गर्छ । लत्ता कपडाका लागि भने वीरगञ्ज सिटी मार्केटमा बढी भिड देखिएको छ ।

वीरगञ्ज बजार छठ पर्वमा ‘कोशी भर्न’का लागि आवश्यक सामग्रीले ढाकिएका छन् । जसमा बोटसहितको अदुवा, पिडालु, पात सहितको मुला, वेसार, बोडी, नरिवल, स्याउ, सुन्तला, केरा लगायतका कृषिजन्य उपज हुने गर्दछ । अर्घका लागि कसैली -सुपारी), इलाइची, ल्वाङ, सिन्दुर लगायतका समान चाहिन्छ ।

कोशी भर्न आवश्यक सामान २ सय रुपैयाँ किलोमा किनबेच भइरहेको छ । छठ पर्वमा बोट सहितको अदुवा, पात सहितको मुला आवश्यक पर्छ । किसानको खेतबारीमा उब्जनी हुने सामान नै छठमा प्रयोग हुन्छ । तर सबैले खेती गर्दैनन्, खेती गर्नेकोमा पनि सबै सामान हुँदैन । त्यसैले छठको ब्रतका लागि आवश्यक सामग्रीहरु मानिसहरुले बजारबाट खरिद गरेर लैजान्छन् ।

घण्टाघरबाट पूर्व लिंकरोडको किनारमा लहरै बाँसको चोयाले बनेको छैटी बेच्न राखिएको छ । छैठीमा छठ गर्न आवश्यक सामान राखेर घाटसम्म लैजाने चलन छ । बाराको फेटा गाउँपालिका- २ का नरसिंह राम पनि छैटी बेच्न बसेका छन् ।

यो बेचेर घर फर्केपछि थप छैटी बनाएर आइतबार बजारमा ल्याएर बिक्रि गर्ने उनले बताए । ‘बाँस ल्याउ, चिरेर मिलाउ अनि बनाउ, कम्तीको दुःख छैन’, उनले भने, ‘तर पेट पाल्नका लागि काम त गर्नुनै पर्छ । ‘ उनले शुक्रबार ११ वटा छैटी बेचेका रहेछन् ।

सत्येन्द्र कुमार त्यस्तै व्यापारी मध्येका एक हुन् । भारतको बिहार राज्य हाजीपुरबाट उनी सहित ३ जना केरा बेच्न वीरगञ्ज आएका हुन् । उनीहरुले पोकेको र हरियो गरेर २७५ घरी केरा बजारमा बेच्न राखेका छन् । ८ सय रुपैयाँ घरी वा सय रुपैयाँ दर्जनमा केरा पाईन्छ । काँचो होस वा पाकेको दुवैखाले केरा छठमा प्रयोग गर्न सकिन्छ ।

छठ पर्वका लागि आवश्यक सामाग्री सहित वीरगञ्ज-१६ नगवाकी शिव कुमारीले माइस्थान मन्दिर जाने सडकमा पसल थापेकी छन् । तर माईस्थानमा यसपटक खासै व्यापार नभएपछि उनी दिक्क छिन् । अरु बेला माइस्थान मीना बजारमा तरकारीको व्यापार गर्ने उनी छठ पर्वमा कोशी भर्ने र अर्घ दिने समान बिक्रि गर्छिन् । सुथनी, अरुनी, बोडी, आदि (अदुवा), हर्दी (बेसार), निम्बु (कागती), मुरही (मुला) पसलमा राख्छिन् ।

‘हरेक वर्ष माईस्थानको बीच सडकमै पसल लगाउने गरेको थिएँ । तर यसपालि वीरगञ्ज महानगरले बीचमा पसल लगाउन दिएन । मन्दिर प्रवेश गर्ने ठाउँमा पनि डिभाइडर राखिएको छ । घण्टाघरतिर जस्तो मान्छे आईरहेका छैनन्’, उनले भनिन् ‘१ लाख रूपैयाँ ऋण लिएर समान किनेको छु । बिक्री भइरहेको छैन, ओइलिन थालेको छ । ? ‘

कात्तिक शुक्ल चौथी तिथीका दिनबाट भने विधिवत रुपमा छठ आरम्भ हुन्छ । सप्तमीका दिन बिहान उदाउँदो सुर्यलाई अर्घ दिएपछि मात्रै छठ सम्पन्न हुन्छ । छठी मातालाई अर्पण गरिने अन्य प्रसादहरुमा स्याउ, केरा, सुन्तला, पानी सहितको काँचो नरिवल, उखु, हरियो बोडी, पानी सिङगडा, भोगटे, मुला, बोट सहितको अदुवा, सिजनका फलफुल र हरियो तरकारीहरु हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?