+
+

संखुवासभामा तेस्रो भिडन्तमा गौतम र खड्का

भविन कार्की भविन कार्की
२०७९ कात्तिक १४ गते ६:४६

१४ कात्तिक, संखुवासभा । दीपक खड्का र राजेन्द्र गौतम संखुवासभाका मतदाताका लागि नयाँ अनुहार हैनन् ।

तेस्रो पटक आमनेसामने हुन लागेका यी दुईसँगै संखुवासभाबाट यो पटक प्रतिनिधि सभाका लागि १२ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमा १० जना राजनीतिक दलका र २ जना स्वतन्त्र छन् ।

विगतको चुनावको नतिजा र स्थानीय तह चुनावमा पाएको मतलाई आधार मान्दा यो पटक पनि नेपाली कांग्रेसका खड्का र नेकपा एमालेका गौतमबीच नै प्रतिस्पर्धा देखिन्छ ।

२०७० को चुनावमा संखुवासभाको तत्कालीन क्षेत्र नम्बर २ मा खड्काले गौतमलाई हराएका थिए । गौतमले त्यसको बदला २०७४ को चुनावमा लिए ।

०७० को निर्वाचनमा खड्का ११ हजार ५५२ मत ल्याएर निर्वाचित भएका थिए । त्यतिबेला एमालेका गौतमले १० हजार ९ सय ७३ तथा माओवादीका राजेन्द्र किरातीले ४ हजार २९३ मत पाएका थिए ।

एउटामात्र निर्वाचन क्षेत्र कायम भएपछि २०७४ को चुनावमा भने नतिजा उल्टियो, माओवादीको समेत साथ लिएर वाम गठबन्धनबाट उम्मेदवार बनेका गौतम विजयी भए । उनले ३२ हजार ७६९ मत ल्याए । एक्लै लडेका कांग्रेसका खड्काले ३१ हजार ६३९ मत ल्याए ।

२०७४ मा गौतमलाई साथ दिएको माओवादी यसपटक कांग्रेसका खड्काको सहयोगी बनेको छ, उनलाई एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादीको पनि साथ छ । तर गौतम एक्लै छन् ।

गत वैशाखमा भएको स्थानीय तह चुनावमा वडाध्यक्षमा पाएको मतलाई आधार मान्दा संखुवासभामा एमाले अघि छ । एमालेले वडाध्यक्षमा ३२ हजार ९११ मत पाएको थियो ।

तर गठबन्धनमा आवद्ध दलको मत जोड्ने हो भने कांग्रेस अघि देखिन्छ । कांग्रेसको ३० हजार ८४९, माओवादीको ७ हजार १२२ र एकीकृत समाजवादीको १ हजार १०१ मत छ । यो सबै मत जोड्दा गठबन्धनको पक्षमा ३९ हजार ७२ मत हुन्छ ।

प्रदेशसभातर्फ संखुवासभा १ मा एक स्वतन्त्रसहित ८ जनाले मनोनयन दर्ता गराएका छन् । तर गठबन्धन दलबाट माओवादी केन्द्रका राजेन्द्र कार्की र नेकपा एमालेका भविश्वर गुरुङ बीचनै मुख्य प्रतिस्पर्धा देखिएको छ । यी दुवै नयाँ अनुहार हुन् ।

माओवादीका कार्कीलाई कांग्रेस, नेकपा एकीकृत समाजवादीको साथ छ । कार्की माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संखुवासभा इन्चार्जको जिम्मेवारीमा छन् भने गुरुङ एमालेका प्रदेश कमिटी सदस्य हुन् ।

संखुवासभाको प्रदेशसभा २ मा ३ स्वतन्त्रसहित १० जनाले मनोनयन दर्ता गरेका छन् । तर गठबन्धन दलका तर्फबाट नेकपा एकिकृत समाजवादीकी सरिता थापा खड्का र एमालेका विदुरकुमार लिङ्थेपबीच प्रतिस्पर्धा छ । प्रदेश सभा २ मा प्रतिस्पर्धामा रहेका यी दुवै उम्मेदवार पनि नयाँ अनुहार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?