+
+

सुदूरपश्चिममा दशैं र तिहारमा भएका दुर्घटनामा ८ जनाको मृत्यु, ४४ घाइते

जनक विष्ट जनक विष्ट
२०७९ कात्तिक १४ गते ११:४८

१४ कात्तिक, धनगढी । सुदूरपश्चिम प्रदेशमा दशैँ र तिहारका बेला भएका सवारी दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्यांकअनुसार प्रदेशभर दशैँ र तिहारको समयमा २४ वटा सवारीसाधन दुर्घटना भएकोमा ८ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन् ।

उनीहरु मध्ये १८ जना गम्भीर घाइते भएका छन् भने २६ जना समान्य अवस्थाका रहेको प्रहरीले जनाएको छ । दशैँ र तिहारका बेला प्रदेशमा सबैभन्दा धेरै मोटरसाइकल दुर्घटनामा परेका छन् ।

प्रहरीको तथ्यांकअनुसार १४ वटा मोटरसाइकल मात्र दुर्घटनामा परेका छन् । पाँच वटा जिप, कार, दुई वटा बस र बाँकी अन्य सवारीसाधन दुर्घटनामा परेको प्रहरीले जनाएको छ । यो वर्ष अघिल्लो वर्षको तुलनामा कम सवारीसाधन दुर्घटना हुँदा मानवीय क्षति पनि बढी नभएको ट्राफिक प्रहरीको भनाइ छ ।

गत वर्ष दशैंका बेला भएका १५ वटा सवारी दुर्घटनामा ९ जना र तिहारका बेला भएका १८ दुर्घटनामा एक जना गरेर १० जनाको मृत्यु भएको थियो । ट्राफिक प्रहरी कार्यालयकाअनुसार दशैं र तिहारमा भएका ३३ वटा सवारी दुर्घटनामा ४५ जना घाइते भएका थिए । उनीहरु मध्ये गम्भीर घाइते हुनेको संख्या मात्र ३२ थियो ।
त्यो बेला प्रदेशभर सबैभन्दा धेरै २३ वटा मोटरसाइकल मात्र दुर्घटनामा परेका थिए भने पाँच वटा जिप, कार र बाँकी अन्य सवारीसाधन दुर्घटनामा परेका थिए ।

अघिल्लो वर्षको तुलनामा दशैँ र तिहारका बेलाको यो वर्ष कम सवारीसाधन दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्यांकले देखाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक (एसपी) प्रविण धिताल चेकजाँचमा गरिएको कडाइका कारणले गत वर्षको तुलनामा कम सवारीसाधन दुर्घटनामा परेको बताउँछन् ।

‘विगतमा सिट क्षमताभन्दा बढि यात्रु चढाउने प्रवृत्ति बढिरहेछ । अहिले हामीले त्यसलाई पूर्ण रुपमा नियन्त्रण गरेका थियौ‌ं’, धितालले भने, ‘ठाउँ-ठाउँमा छड्के चेकजाँच गरेर निगरानी बढायौँ । त्यति मात्र नभएर गाडीको इन्जिनको अवस्था पनि यातायात कार्यालयका प्राविधिकबाट परीक्षण गर्न लगाएका थियौँ ।’

चेकजाँचमा कडाइ गर्दा समेत दुई पाङ्ग्रे सवारीसाधन सबैभन्दा बढी दुर्घटनामा परेको उनको भनाइ छ । खासगरी व्यवसायिक चालक ट्राफिक नियमबारे सचेत हुने भए पनि गैरव्यवसायिक चालक लापरबाही गर्ने भएकाले पनि दुई पाङ्ग्रे सवारी बढि दुर्घटना हुने गरेको धितालको भनाइ छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?