+
+

युद्ध पर्यटनलाई प्रवर्द्धन गर्ने माओवादीको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १४ गते १८:३९

१४ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनका लागि सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा युद्ध पर्यटनलाई प्रबर्द्धन गर्ने घोषणा गरेको छ । रुकुमको चुनवाङदेखि म्याग्दी बेनीसम्मको गुरिल्ला ट्रेललाई व्यवस्थित गरी युद्ध पर्यटनलाई प्रवर्द्धन गर्ने माओादीको प्रतिबद्धतापत्रमा उल्लेख छ ।

यस क्रममा नयाँ गन्तव्यको पहिचान र विकास गर्ने समेत उल्लेख छ । ताप्लेजुङदेखि दार्चुलासम्मको ग्रेट हिमालयन ट्रेल, धौलागिरि सेञ्चुरी लगायत पदमार्गमा पर्यटन पूर्वाधार निर्माण गर्ने समेत उल्लेख छ ।

भारतको राम जन्मभूमी र नेपालको जनकपुर, पशुपतिनाथ, स्वर्गद्वारी र हलेसीको हिन्दु सर्किटको भौतिक विकास र सुधार गरी विश्वभरका हिन्दुहरुको धार्मिक पर्यटन गन्तव्यका रुपमा विकास गर्ने प्रतिबद्धता समेत माओवादीले गरेको छ । माओवादीले लुम्बिनीमा बुद्ध धर्मावलम्बीका लागि अत्याधुनिक बर्थिङ सेन्टर स्थापना गर्ने उल्लेख छ ।

स्थानीय तहहरुसँगको सहकार्यमा हरेक प्रमुख बस्तीमा स्थानीय विशेषतासहितको होमस्टे कार्यक्रम चलाउने समेत माओवादीले भनेको छ । हिमाल आरोही तथा पदयात्री पर्यटकको सुरक्षा र आकस्मिक उद्धारको भरपर्दो व्यवस्था गरिने माओवादीको प्रतिवद्धता पत्रमा उल्लेख छ ।

आरोहणका लागि प्रतिबन्धित हिमालको अध्ययन गरी आरोहण खुला गर्ने अवधारणासमेत माओवादीले अघि सारेको छ । दुर्गम पहाड, जंगल र नदी वरपर पर्यटकीय गतिविधिमा लगानी गर्न चाहने व्यवसायीलाई निश्चित अवधिसम्म करमा छुट दिने उल्लेख छ । त्यस्ता स्थानमा अत्यावश्यक भौतिक पूर्वाधार, विद्युत्, पानी र सुरक्षाको प्रबन्ध गर्ने समेत माओवादीले भनेको छ ।

हिमालयन डिज्नेल्याण्ड वा सोही प्रकारको मेगाथिम पार्कको समेत अवधारणा माओवादीले ल्याएको छ । यसका लागि विदेशी कम्पनीसँग सहकार्य गर्ने घोषणापत्रमा उल्लेख छ ।

कोभिड-१९ महामारीका कारण रोकिएको भ्रमण वर्षलाई थप परिस्कृत गरी ३० लाख विदेशी पर्यटक भित्राउने आधार तयार पार्ने समेत माओवादीको घोषणा पत्रमा उल्लेख छ । पर्यटन प्रयोजनका लागि खरिद गरिने विद्युतीय सवारी साधनलाई कर छुट र सहुलियतपूर्ण कर्जाको घोषणा समेत माओवादीले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?