+
+

युरोपियन च्याम्पियन्स लिग : एसी मिलान र लाइपजिग नकआउट चरणमा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १७ गते ७:२२

१७ कात्तिक, काठमाडौं । इटालियन क्लब एसी मिलान र जर्मन क्लब आरबी लाइपजिग युरोपियन च्याम्पियन्स लिग फुटबल २०२२/२३ मा नकआउट चरण पुग्ने अन्तिम दुई टिम बनेका छन् ।

बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा दुवै क्लबले आ-आफ्नो खेल जित्दै अन्तिम १६ मा स्थान बनाएका हुन् ।

योसँगै प्रिक्वाटरफाइनल खेल्ने सबै १६ टिमको टुङ्गो लागेको छ ।

जसमा इंग्ल्याण्ड र जर्मनीबाट सर्वाधिक ४-४ टिम छन् । यस्तै इटलीबाट ३, पोर्चुगलबाट २ तथा स्पेन, फ्रान्स र बेल्जियमबाट समान १ क्लब छन् ।

इंग्लयाण्डबाट म्यानचेष्टर सिटी, चेल्सी, लिभरपुल र टोटनहम छन् भने जर्मनीबाट बायर्न म्युनिख, बोरुसिया डर्टमण्ड, लाइपजिग र एनट्राट फ्रांकफर्ट छन् ।

यस्तै इटलीबाट नापोली, एसी मिलान र इन्टर मिलान,  पोर्चुगलबाट पोर्टो र बेनफिका छन्  ।

स्पेनबाट यस पटक रियल मड्रिडले मात्र नकआउट चरणमा स्थान बनाउँदा फ्रान्सबाट पेरिस सेन्ट जर्मेन र बेल्जियमबाट क्लब ब्रुग अन्तिम १६ मा पुगेका छन् ।

समूह ई मा ओलिभर जिरुडले दुई गोल गरेपछि एसी मिलानले एफसी साल्जवर्गलाई ४-० ले हरायो । रुड क्रुनिक र जुनियर मेसिएसले एक एक गोल थपे । मिलान ६ खेलबाट १० अंक जोड्दै समूह ई को उपविजेता बनेर अन्तिम १६ मा पुगेको हो ।

डिनामो जाग्रेभलाई २-१ ले पराजित गर्दै १३ अंक जोडेको चेल्सी समूह ई को विजेता बन्यो । चेल्सीलाई पनुरागमन जित दिलाउन रहिम स्टरलिङ र डेनिस जाकारियाले गोल गरे । जाग्रेभका ब्रुनो पेटकोभिचले पहिले गोल गर्दै अग्रता दिलाए पनि जोगाउन सकेन ।

रियल र लाइपजिगको फराकिलो जित

समूह एफको अन्तिम खेलमा लाइपजिगले साख्तर डोनेस्कलाई ४-० ले पराजित गर्दै समूह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।

साख्तरको मैदानमा लाइपजिगलाई जितालउन क्रिस्टोफर एनकुन्कु, आन्द्रे शिल्भा र डोमिनिक एजोबोस्जलाईले एक एक गोल गरे । साख्तरका भि बोन्डरले एक आत्मघाती गोल गरे ।

जितपछि लाइपजिगले ६ खेलबाट १२ अंक जोड्दै उपविजेता बनेको हो ।

अर्को खेलमा सेल्टिकलाई ५-१ ले पराजित गर्दै ६ खेलबाट १३ अंक जोडेको रियल मड्रिड समूह एफको विजेता बन्यो ।

घरेलु मानमा रियललाई फराकिलो जित दिलाउन लुका मोडरिच, रोड्रिगो, मार्को असेन्सियो, भिनिसियस जुनियर र फेडरिक भालभर्डेले गोल गरे ।

सिटीको पुनरागमन जित

यसअघि नै नकआउट चरणमा पुगिसकेका म्यमनचेष्टर सिटीले सेभियामाथि ३-१ को पुनरागमन जित निकालेको छ ।

एमरिटेक्स मैदानमा राफा मिरले गोल गर्दै सेभियालाई पहिले अग्रता दिलाएका थिए । पहिलो हाफमा पछि परेपनि सिटीले दोस्रो  हाफमा तीन गोल फर्काउने क्रममा रिको लेविस, जुलियन अल्भारेज र रियाद महारेजले गोल गरे ।

जितपछि १४ अंक जोड्दै सिटी समूह जी को विजेता बन्यो ।

एफसी कोपनहेगनसँग १-१ को बराबरी खेलेको बोरुसिया डर्टमण्ड ९ अंक जोड्दै समूह जी को उपविजेता बन्यो ।

वेनफिका समूह विजेता

समूह एचबाट फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र पोर्चुगिज क्लब बेनफिका यसअघि नै नकआउट चरणमा पुगिसकेका थिए । समूहको अन्तिम खेलमा बुधबार राती दुवैले जित हात पारे । दुवैको समान १४ अंक भयो । गोल अन्तर पनि समान थियो ।

बेनफिकाले मकाबी हाइफालाई ६-१ ले पराजित गर्दा पीएसजीले युभेन्ट्सलाई २-१ ले हरायो ।

तर अवे गोलका आधारमा बेनफिका अघि रहँदै समूह विजेता बन्यो । बेनफिकाले सबै अवे खेलमा गरी ९ गोल गरेको थियो भने पीएसजीले ६ गोल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?